काठमाडौं- इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँगको प्रथम श्रेणी क्रिकेटको दोस्रो इनिङमा नेपालका सोमपाल कामीले अर्धशतक बनाएका छन्।
एमसिसीविरुद्ध ५१ रन बनाएका सोमपाल प्रथम श्रेणीमा अर्धशतक बनाउने चौथो नेपाली ब्याट्सम्यान बने। यसअघि राजु खड्का, शरद भेषावकर र शक्ति गौचनले नेपालका लागि प्रथम श्रेणी क्रिकेटमा अर्धशतक बनाएका थिए।
सन् २००४ को मार्चमा आइसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत युएईविरुद्धको प्रथम श्रेणी खेलमा नेपालका कप्तान राजु खड्काले ६७ रन बनाएका थिए। जुन प्रथम श्रेणीमा नेपाली ब्याट्सम्यानको पहिलो अर्धशतक थियो। ९४ बल खेलेका उनले ११ चौका र १ छक्का हानेका थिए। युएईविरुद्ध नै दोस्रो
इनिङमा शरद भेषावकरले १ सय ७२ बल खेल्दै अविजित ५० रन बनाएका थिए। त्यसबेला परेश लोहनी भने ४९ रनमा आउट भएका थिए।
२००४ कै अप्रिलमा मलेसियाविरुद्धको प्रथम श्रेणी क्रिकेटमा शक्ति गौचनले अविजित ६९ रन बनाएका थिए। २ सय ३१ बल खेलेका उनले ५ चौका लगाएका थिए। त्यसबेला पारस खड्का भने ४४ रनमा आउट भएका थिए।
यस्तै २००५ युएईविरुद्धको प्रथम श्रेणी क्रिकेटमा शक्ति गौचनले नै १ सय ६९ बल खेल्दै ६८ रन बनाएका थिए। त्यसबेला उनले ७ चौका हानेका थिए। उक्त खेलमै शरद भेषावकरले १ सय ४० बलमा ८९ रन बनाएका थिए। जुन नेपाली ब्याट्सम्यानले प्रथम श्रेणीमा बनाएको सर्वाधिक रन हो। त्यसबेला कनिष्क चौगाइ पहिलो इनिङमा ४७ रनमा र दोस्रो इनिङमा ४८ रनमा आउट भएका थिए।
शुक्रबार एमसिसीविरुद्ध सोमपालले अर्धशतक बनाए पनि नेपालले खेल हारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा एमसिसीविरुद्ध दुवै इनिङमा नेपाली ब्याट्सम्यानहरु सम्हालिएर खेल्न सकेनन्।
३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ८४ रन मात्रै बनाउन सक्यो। २ सय ८ रनले पराजित भएको नेपालको प्रथम श्रेणी क्रिकेटमा यो पहिलो हार हो। यसअघिका चार खेलमा दुई खेल जितेको नेपालले दुई खेल बराबरी गरेको थियो।
यो पनि- प्रथम श्रेणी क्रिकेटमा नेपालको पहिलो हार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।