काठमाडौं- भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू-भाग समावेश गरिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय/सर्वपक्षीय बैठक बोलाएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले भारतले जारी गरको नयाँ नक्सामा लिम्पीयाधुरा, कालापानी र लिपुलेक समावेश गरिएकोबारे छलफल गर्न शनिबार दिउँसो ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएको बताए।
बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरूलाई समेत बोलाइएको छ।
जम्मू-काश्मीरको विशेष अधिकार कटौती गरेपछि बदलिएको राजनीतिक नक्सालाई समायोजन गर्न भारतले पछिल्लो पटक जारी गरेको नयाँ नक्सामा नेपाली भूमि समेत समावेश गरेपछि यसले नेपालमा तरङ्ग सिजर्ना गरेको छ।
जम्मू-काश्मीरबाट लद्दाखलाई टुक्राएर अलग प्रदेश बनाएपछि बदलिएको नक्सालाई समोजन गर्दै भारतको गृह मन्त्रालयले १८ कार्तिकमा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।
नेपाली भूमिसमेत आफूतिर पार्दै नयाँ नक्सा भारतले जारी गरेपछि सरकारले ढिलो गरी एक विज्ञप्ति जारी गरेको छ। परराष्ट्र मन्त्रायले जारी गरेको विज्ञप्तिमा कालापानी नेपालको भू-भाग रहेकोमा सरकार स्पष्ट रहेको बताएको छ।
सीमा विवाद सम्बन्धी विषय टुंग्याउन परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग र परराष्ट्र सचिवस्तरीय समिति रहेको भन्दै एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।