डडेल्धुरा- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसी डडेल्धुरा आएर अनसन बसेको ६ दिन पुगेको छ। अनसनको ५औं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालमा अनसन नबस्ने डा केसीको अडान भए पनि नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो। डा केसीको पिसाबमा किटोन बढेको र चिनीको मात्रा घटेको चिकित्सकहरूले बताएका छन्। डा केसीको शरीरमा पानीको मात्रा घटेको, कमजोर हुँदै गएको अस्पतालका मेसु डा जितेन्द्र कँडेलले बताए। स्लाइन नचढाउने उनको अर्को पनि अडान थियो। तर स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनलाई स्लाइन चढाउन थालिएको छ।
अब उनीलाई डडेल्धुरा अस्पतालबाट रेफर गर्नुपर्ने अवस्था देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ। 'डडेल्धुरा अस्पतालमा अब डा. केसीलाई उपचार गराउनु पर्ने सघन उपचार कक्ष (आईसीयू) र एबिजी छैन, भने यो संचालन गर्ने डाक्टरहरु पनि छैनन्,' मेसु कँडेलले भने, 'जिल्ला अस्पताल डडेल्धुरामा ओपिडी, एक्सरे, भिडियो एक्सरे, समान्य अपरेसनलगायतका सेवा मात्र उपलब्ध छन्।'
डा. केसीको उपचारमा निरन्तर विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ। शनिबार दिउँसो २ बजेसम्म उनको रक्त चाप ६०/४० पुगेको र घटबढ भइरहेको अस्पतालका मेसु डा.कँडेलले बताए। आकस्मिक कक्षमै उपचार गराई रहेका उनलाई रेफर गर्ने विषयमा उनका भाई किशोरसँग छलफल भइरहेको डा. कँडेलको भनाइ छ। 'अब उहाँको यो अस्पतालमा उपचार संम्भव छैन। अबको विकल्प भनेको सुविधासम्पन्न अस्पताल नै हो। त्यसबारे उहाँका भाई किशोरसँग छलफल गर्ने तयारीमा छौं।'
यसअघि इलाममा १६औँ अनसन बस्दा डा. केसीले इलाम छोड्न मानेका थिएनन्। डडेल्धुरा छोड्न पनि उनले सजिलै नमान्ने आँकलन गरिएको छ।
डडेल्धुरामा सोमबारदेखि अनसन सुरु गरेका डा. केसी सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा अनशन बसेका थिए। उनको स्वास्थ्य अवस्थाबारे डडेल्धुरा अस्पतालसँग स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित निकायले कुनै प्रतिक्रिया नदिएको तर आफूले स्वास्थ्य मन्त्रालयका सचिवलाई अस्पतालमा भर्ना गरिएकोबारे जानकारी गराएको डा. कँडेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।