काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय छलफल सुरु गरेका छन्।
भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्रको भूभाग पनि भारततिरै समेटिएपछि नेपालमा विरोध हुँदै आएको छ।
आन्तरिक शक्तिहरुको धारणा बुझ्न उनले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार छलफल आयोजना गरेका हुन्। दलहरु र कतिपय नेताहरुले व्यक्तिगत रुपमा भारतको सो कदमको आलोचना गरेता पनि सामूहिक धारणा बनाउन यो छलफलले सहयोग गर्ने प्रधानमन्त्रीको विश्वास छ। नेताहरुसँगको छलफलपछि सरकारले भारतसँग सार्थक छलफल गर्ने अपेक्षा गरिएको छ।
शनिबार अपराह्न सुरु भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, बाबुराम भट्टराई, झलनाथ खनाल तथा माधव नेपाल लगायत सहभागी छन्।
सरकारका प्राय मन्त्रीहरु पनि बैठकमा सहभागी भएका छन्। नेकपाका प्रभावशाली नेताहरु पनि बैठकमा सहभागि छन्।
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक लगायतका नेता, पूर्व परराष्ट्रमन्त्री कमल थापा तथा रमेशनाथ पाण्डे लगायतका नेताहरु पनि उपस्थित छन्।
त्यस्तै पूर्व परराष्ट्रमन्त्रीहरु, विभिन्न पार्टीका प्रभावशाली नेताहरु, सीमाविद्हरु पनि सहभागी छन्।
भारतले नक्सा जारी गरेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी कालापानी क्षेत्र नेपालकै भएकोमा स्पष्ट भएको बताएको छ।
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले पनि एकतर्फी रुपमा जारी गरिएको भारतीय नक्सा अस्वीकार्य भएको बताएका छन।
(फोटोहरु– चेतन अधिकारीको फेसबुकबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।