काठमाडौं- गएको सिजन च्याम्पियन्स लिगमा स्पेनिस क्बल बार्सिलोनालाई हराएपछि इंग्लिस क्लब लिभरपुलको खुब तारिफ भयो। यो सिजन प्रिमियर लिगमा अपराजित रहेपछि त फुटबल समर्थकहरु दंग पर्दै प्रश्न गर्छन्- ‘लिभरपुलको यो टिमलाई कसरी हराउने?’
केही समर्थकको आश छ, लिभरपुललाई कसरी हराउने म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले राम्ररी बुझेका होलान्। अहिले च्याम्पियन्स लिग समूह चरणमा इटालियन क्लब नापोलीसँग अन्तिम समयमा दुई गोल खाँदै पराजित भएको लिभरपुललाई गएको सिजन भने प्रिमियर लिगमा सिटीले नै कमजोर पारेको थियो।
गएको सिजन एफए कम्युनिटी सिल्डको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा हराएको म्यानचेस्टर सिटीले प्रिमियर लिगमा एक खेल २–१ ले हराएको थियो भने अर्को खेल गोलरहित बराबरी भएको थियो।
हुन पनि प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उपाधि जितेको लगातार दुई सिजन भइसक्यो। २०१७–०१८ को सिजन म्यानचेस्टर युनाइटेडभन्दा १९ अंकले अघि रहँदै उपाधि जितेको सिटीले २०१८–०१९ मा उपाधि जित्दा लिभरपुलसँग १ अंकको मात्रै अग्रता बनाउन सक्यो।
जारी सिजन त ११ खेल खेल्दा म्यानचेस्टर सिटी लिभरपुलभन्दा ६ अंकले पछि छ। लिग यात्रा अझ लामो रहे पनि गएको सिजन च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुललाई रोक्न सिटीलाई सहज छैन। आइतबार राति १०ः१५ मा उनै लिभरपुल र म्यानचेस्टर सिटीबीच खेल हुँदैछ। जहाँ लिभरपुललाई अग्रता बढाउन र म्यानचेस्टर सिटीलाई अग्रता घटाउन कडा मेहनत पर्नेछ।
म्यानचेस्टर सिटीले प्रिमियर लिगको यो सिजन अहिलेसम्मका ११ खेलमा आठ खेल जितेको छ। एक खेल बराबरी गरेको छ भने दुई खेल हारेको छ। लिभरपुलले ११ खेलमा १० खेल जितेको छ, एक खेल बराबरी गरेको छ। अपराजित रहेको लिभरपुल आइतबार राति आफ्नै मैदानमा सिटीको सामना गर्न तयार छ। लिभरपुल मैदान एन्फिल्ड घरेलु टिमका लागि धेरैपटक १२ औँ खेलाडी बनिसकेको छ। यसैले बढी दबाब म्यानचेस्टर सिटीलाई नै हुनेछ।
सन् १९८९–९० को सिजन प्रिमियर लिगको उपाधि जितेपछि लिभरपुलले उपाधि जित्न सकेको छैन। प्रिमियर लिगमा कमजोर बनिरहेको लिभरपुललाई ३० वर्षसम्मको उपाधिको भोक ठूलो छ।
आधुनिक फुटबलमा उपाधिबाट टाढिएको लिभरपुल २००२, २००९, २०१४ र गएको सिजन २०१९ मा दोस्रो भएको थियो। गएको सिजन च्याम्पियन्स लिग उचालेर थप हौसिएको लिभरपुल यसपटक इंग्लिस च्याम्पियनको दौडमा विशेष ख्याल गरिरहेको छ। यसैले म्यानचेस्टर सिटीलाई हराउँदै ९ अंकको अगंता बनाउन सके लिभरपुल उपाधि दौडमा धेरै अघि बढ्नेछ।
प्रशिक्षक जर्गेन क्लोपको प्रशिक्षणमा लिभरपुलले पछिल्लो ५० खेलमा ४१ खेल जितेको छ, ८ खेल बराबरी गरेको छ भने एक खेल हारेको छ। हारेको खेल उही म्यानचेस्टर सिटीसँग गएको सिजनको अन्तिमतिर थियो। जुन हारले उपाधि म्यानचेस्टर सिटीतिर पुग्यो। यसैले आइतबार राति हुने खेल फुटबल मात्रै हुने छैन। दुवै प्रशिक्षकको दिमागी प्रतिस्पर्धा ठूलो हुनेछ।
म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन लिभरपुलसँगको खेलमा हुने छैनन्। चोटका कारण बाहिर रहेका उनी मैदान फर्किन सकेका छैनन्। उनको स्थानमा क्लाउडियो ब्राभोलाई खेलाउने तयारीमा गार्डिओला छन्। सिटीबाटै डेभिड सिल्भालाई खेलाउने नखेलाउने दोधार बढेका बेला अभ्यासमा अनुपस्थित लिभरपुलका जोर्डन हेन्डरसन र भर्जिल भ्यान डाइक भने टिममा फर्किएका छन्।
‘खेलका हिसाबले भन्ने हो भने लिभरपुल र म्यानचेस्टर सिटीबीचको खेल असाध्यै प्रतिस्पर्धात्मक भिडन्त बन्न थालिसकेको छ। यसरी प्रतिस्पर्धा हुनु भनेको दुवै टिम बलियो देखिनु पनि हो, जुन खुसीको कुरा हो’ लिभरपुल प्रशिक्षक क्लोप भन्छन्, ‘म्यानचेस्टर सिटीविरुद्ध खेल्दा बलियो बन्न सकिएन भने अंक जोड्ने आश नगरे पनि हुन्छ। हरेक खेलाडी आफू बलियो बनेर प्रस्तुत हुनेछन्।’
लिभरपुल प्रशिक्षक क्लोपको जस्तै छ म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिओलाको विचार पनि। उनी भन्छन्– ‘मलाई यति मात्रै आश छ, मेरा खेलाडीहरु अन्तिमसम्म उस्तै मेहनतले खेलिरहुन्। लिभरपुल यस्तो टिम हो जो गएको सिजन एक खेलमा मात्रै पराजित भयो र यो सिजन त अपराजित छ। यसैले उनीहरुले अरु खेल हार्लान भनेर आश गर्ने समय छैन।’
दुई प्रशिक्षकलाई तुलना गर्दा पनि दुवैको ‘माइन्ड गेम’ को शैली निकै आकर्षक छ। गार्डिओलाले क्लोपविरुद्ध सबै प्रतिस्पर्धामा गरेर १७ खेलमा ७ खेल मात्रै हारेका छन्। त्यो पनि कुनै पनि प्रशिक्षकविरुद्ध गार्डिओलाले हारेको सबैभन्दा धेरै खेल हो।
एन्फिल्डमा म्यानचेस्टर सिटीविरुद्धको १६ खेलमा लिभरपुल अपराजित छ। सबै गरेर हेर्दा त घरेलु मैदानमा लिभरपुल पछिल्लो ४५ खेलमा अपराजित छ। जुन प्रिमियर लिग इतिहासमा नै दोस्रो हो।
अवे मैदानमा लिभरपुलविरुद्ध म्यानचेस्टर सिटीको इतिहास पनि बलियो छैन। लिभरपुलसँगको अवे खेलमा म्यानचेस्टर सिटी १६ खेलमा जितविहीन छ। जसमा ११ खेल हारेको छ भने ५ खेल बराबरी भएको छ। पछिल्लो पाँच प्रिमियर लिग भेटमा भने म्यानचेस्टर सिटीले लिभरपुलसँग दुई खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ।
पछिल्लो १२ प्रिमियर लिग अवे खेललाई हेर्ने हो भने म्यानचेस्टर सिटीले ११ खेल जितेको छ। त्यसमा पनि ३० गोल गरेको आँकडा चानचुने भने होइन। यस्तोमा फुटबल पण्डितहरु लिभरपुलका प्रशिक्षक क्लोपलाई अप्ठ्यारो परिरहेको ३–५–२ को फर्मेसनमा म्यानचेस्टर सिटीले खेल्ने हो भने जितमा बढ्न सक्ने बताइरहेका छन्। तर प्राय ४–३–३ को शैलीमा प्रस्तुत हुने गार्डिओलाले क्लोपविरुद्ध नयाँ के सोचेका छन् त्यो सहजै भन्न सकिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।