पत्रकार लम्साललाई भाैतिक कारबाही गर्ने धम्कीप्रति महासंघकाे ध्यानाकर्षण

नेपाल लाइभ | २०७६ कार्तिक २५ सोमबार | Monday, November 11, 2019 ०९:०७:०० मा प्रकाशित

काठमाडौं– नेपाल पत्रकार महासंघले पत्रकार शिव लम्साललाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। महासंघका सभासद् तथा योहो टेलिभिजनका समाचार प्रमुखसमेत रहेका पत्रकार लम्साललाई टेलिभिजनमा प्रसारित समाचारको विषयलाई लिएर ब्लुक्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि मृतकका आफन्तजनले अस्पतालविरुद्ध आन्दोलन गरेको विषयमा कात्तिक १६ गते योहो टेलिभिजनले रिपोर्ट प्रसारण गरेपछि सदस्य सचिव श्रेष्ठले पत्रकार लम्साललाई फेसबुकमा गालीगलौजको मेसेज पठाउनुका साथै कात्तिक २३ गते विहान टेलिफोनबाट मारिदिने धम्की दिएका महासंघले जनाएको छ ।

‘प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझे या गुनोस रहे त्यसको उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम हो। महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने यस्तो धम्कीको घोर निन्दा र भत्र्सना गर्दछ। र, धम्की दिने श्रेष्ठमाथि तत्काल कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं स्वतन्त्र र सुरक्षित पत्रकारिताको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ।’