काठमाडौं- इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ। शीर्ष स्थानमा रहेको लिभरपुल उपाधि दौडमा सिटीभन्दा ९ अंकले अघि बढेको छ।
अंक तालिकामा दोस्रो स्थानमा रहेको लिसेस्टर र तेस्रो स्थानमा रहेको चेल्सीलाई पनि लिभरपुलले ८ अंकको फरक पारेको छ। यसले गएको सिजन च्याम्पियन्स लिग जिते पनि १ अंकले प्रिमियर लिगबाट पछि हट्नु परेको लिभरपुल जारी सिजन बलियो बनेको छ।
म्यानचेस्टर सिटीविरुद्ध छैठौँ मिनेटमा नै फाबिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। मोहम्मद सलाहले १३ औँ मिनेटमा उत्कृष्ट हेड गर्दै अर्को गोल थपे। सडियो मानेले ५१ औँ मिनेटमा तेस्रो गोल गर्दै म्यानचेस्टर सिटीलाई स्तब्ध बनाए। ७८ औँ मिनेटमा बर्नान्डो सिल्भाले म्यानचेस्टर सिटीका लागि एक गोल गरे पनि पर्याप्त हुन सकेन।
खेलमा ५६ प्रतिशत समय बलमा नियन्त्रण बनाएर १८ प्रहार गरे पनि म्यानचेस्टर सिटीले उत्कृष्ट ‘फिनिसिङ’ भने गर्न सकेन। सिटीले केही समय दबाब बनाए पनि काउन्टरमा उत्कृष्ट देखिएको लिभरपुलले गरेका १२ प्रहारमा ३ प्रहार गोलमा परिणत गरेको हो।
‘कस्तो उत्कृष्ट खेल रह्यो। म्यानचेस्टर सिटीलाई हराउने हो भने बलियो खेल प्रस्तुत नगरी सम्भव नै हुँदैन। सिटीले अन्तिमको १५ मिनेट खेल पूरा नियन्त्रणमा राख्दा हामीलाई कठिन भएको थियो। हामीले निकै राम्रो खेल्न सक्यौँ’ लिभरपुल प्रशिक्षक जर्गेन क्लोपले भने।
पहिलो गोलको अघि लिभरपुलको डिएरियामा ह्यान्ड भएको तर रेफ्रिले नदिएको भन्ने विवादमा क्लोपले आफूलाई त्यसमा धेरै जानकारी नभएको बताउँदै भने– ‘पेपलाई सम्झिएर दुःख लागेको छ। मैले सुनेको त्यतिबेला बल पहिले डेभिड सिल्भाको हातमा लागेर पछि आर्नोल्डको हातमा लागेको थियो। त्यसैले रेफ्रिले त्यस्तो निर्णय लिए होला।’
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले आफूहरु आउँदो खेलको तयारीमा लाग्नुपर्ने प्रतिक्रिया दिए। ‘हामीलाई जित्ने मन हो तर पनि हार्न पुग्यौँ। अब आराम गरेर हामी चेल्सीविरुद्धको खेलको तयारीमा लाग्नुपर्छ’ उनले भने, ‘हामीले राम्रो खेलेका हौँ। एन्फिल्डमा आएर हामीले जस्तो राम्रो अरु कति टिमले खेल्न सक्छन् भन्ने मलाई थाहा छैन। खेलहरु अझ धेरै नै छन्, हेरौँ के हुन्छ।’
लगातार दुई सिजन प्रिमियर लिगको उपाधि जितेको म्यानचेस्टर सिटी यो सिजनको सुरुमा पछि परे पनि गार्डिओलाले भनेजस्तो खेलहरु अझ धेरै बाँकी छन्।
२०१७–०१८ को सिजन म्यानचेस्टर युनाइटेडभन्दा १९ अंकले अघि रहँदै उपाधि जितेको सिटीले २०१८–०१९ मा उपाधि जित्दा लिभरपुलसँग १ अंकको मात्रै अग्रता बनाएको थियो। गएको सिजन एफए कम्युनिटी सिल्डको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा हराएको म्यानचेस्टर सिटीले प्रिमियर लिगमा एक खेल २–१ ले हराएको थियो भने अर्को खेल गोलरहित बराबरी भएको थियो।
लिभरपुलले सन् १९८९–९० को सिजन प्रिमियर लिगको उपाधि जितेपछि उपाधि जित्न सकेको छैन। प्रिमियर लिगमा कमजोर बनिरहेको लिभरपुललाई ३० वर्षसम्मको उपाधिको भोक ठूलो छ। यसैले यो सिजन क्लोपको विशेष ध्यान प्रिमियर लिगमा नै देखिन्छ। आधुनिक फुटबलमा उपाधिबाट टाढिएको लिभरपुल २००२, २००९, २०१४ र गएको सिजन २०१९ मा दोस्रो भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।