काठमाडौं- बंगलादेशमा भइरहेको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले सोमबार कीर्गिस्तानविरुद्ध खेल्दैछ।
आइतबार अफगानिस्तानलाई हराएको नेपाललाई उपाधि दाबेदार टिमका रुपमा हेरिएको छ। प्रतियोगितामा बलियो मानिएको कीर्गिस्तानविरुद्ध नेपालको मुख्य परीक्षा देखिनेछ। नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समयअनुसार १२ः४५ मा सुरु हुनेछ। कीर्गिस्तान पहिलो खेलमा माल्दिभ्ससँग पराजित भएको थियो।
नेपालले आइतबार अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ को सोझो सेटमा हराएको थियो। अफगानिस्तानविरुद्ध दोस्रो सेटमा नेपालका सबै नयाँ खेलाडीले मौका पाएका थिए।
किर्गीस्तानपछि नेपालले मंगलबार आयोजक बंगलादेशविरुद्ध र अन्तिम खेलमा बुधबार माल्दिभ्सविरुद्ध खेल्नेछ। राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टिमले तेस्रो हुन प्रतिस्पर्धा गर्नेछन्।
एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिता पहिलोपटक आयोजना भइरहेको हो। जसमा सहभागिताले नेपालले झण्डै दुई वर्षपछि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छ।
यसैले आइतबार अफगानिस्तानविरुद्ध नेपालका प्रशिक्षक जगदिश भट्टले पहिलो सेटमा स्पाइकर निरुता ठगुन्ना, मिडिल ब्लकर सुनिता खड्का र लिब्रो सलिना श्रेष्ठलाई डेब्यू गराएका थिए। दोस्रो सेटमा उनले सेटर जानकी भण्डारी, मिडिल ब्लकर सोफिया पुन र स्पाइकर पूनम चन्दलाई पनि डेब्यू गराएका थिए।
प्रशिक्षक भट्टले पहिलो खेलमा नेपालका लागि महत्वपूर्ण स्पाइकर सरस्वती चौधरी र सेटर कमला पुनलाई अराम दिएका थिए। यो प्रतियोगिताले नेपालमा नै मंसिर १५ देखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि राम्रो तयारी हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।