प्रहरीले बरामद गर्‍यो अनौठो तासको गड्डी, जसमा पहिल्यै थाहा हुन्छ खेल कसले जित्छ

नेपाल लाइभ | २०७६ कार्तिक २५ सोमबार | Monday, November 11, 2019 १२:०१:०० मा प्रकाशित

काठमाडौं– दसैं–तिहारको ‘हयाङ–ओभर’ नसकिँदै नेपाल प्रहरीले चीनबाट ल्याइएका अनौठा जुवा सामग्रीसहित त्यसका व्यापारीलाई पक्राउ गरेको छ। 

काठमाडौंस्थित कालिमाटी प्रहरीका डिएसपी रुगम कुँवरका अनुसार सेन्सरजडित तास र त्यसलाई प्राविधिक रुपमा सहज पार्ने सामग्रीसहित सीतापाइलाबाट सर्लाहीका शीरबहादुर कार्कीलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको छ।

‘कार्कीको कोठाबाट हामीले तास खेल्दाखेल्दै कसले र कसरी जित्छ भन्ने परिणाम पहिल्यै थाहा पाउन मिल्ने सामग्रीहरु बरामद गरेका छौं’, डिएसपी कुँवरले भने, ‘कार्कीले चीनबाट यस्ता सामग्री ल्याएर प्रतिसेट एक लाख रुपैयाँमा बेच्ने रहेछन्, थप कुरा हामीले अनुसन्धान गरिरहेका छौं।’

यस्ता सामग्री खेलाडीले खल्ती, कपडाका विभिन्न कुनाकाप्चा तथा पट्याइएको नोटमै पनि राख्न सक्ने र त्यो सेन्सर जडित सामानले कसलाई कुन तास परेको छ र कसले जित्दैछ भन्ने थाहा पाउन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीले नेपाल लाइभलाई बरामद जुवा सामग्री र त्यससँग जोडिएको प्रविधिले कसरी काम गर्छ भन्ने श्रव्य–दृश्य सामग्री पनि उपलब्ध गराएको छ।