काठमाडौं- नेपाली भूमि अतिक्रमण हुने गरी भारतले हालै जारी गरेको राजनीतिक नक्साका विषयमा वार्ता गर्न तयार रहेको सन्देश सरकारले भारतलाई पठाएको छ।
प्रधानमन्त्रीका तर्फबाट संसदको राज्य व्यवस्था समितिमा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्या अर्यालले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरेर नक्सा जारी गरेको विषयमा भारतीय पक्ष वार्तामा बस्न तयार सन्देश पठाएको बताएकी हुन्।
६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि हडपेको भारतीय पक्षले विदेश मन्त्रालयमार्फत् आफूहरु वार्तामा बस्न तयार रहेको जानकारी नेपाललाई दिएको उनले समितिमा जानकारी गराइन्।
‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने कुरामा सरकार ढुक्क छ। कानुनी हिसाबले वैधानिक बनाएर अगाडि बढाउन राष्ट्रिय एकता देखिएको ऊर्जा दिएको छ,' मन्त्री अर्यालले भनिन्, ‘यही ऊर्जासहित सरकारले भारतसँग वार्ताका लागि पहल सुरु गरिसकेको छ। भारतबाट सकारात्मक सन्देश पनि प्राप्त भएका छन्।’
सुगौली सन्धिपछि नेपालसँग नक्सा बनाउने प्राविधिक नहुँदा भारतबाटै ल्याएर बनाएको र त्यसमा पनि कालापानी नेपाली भूभाग नै उल्लेख भएको मन्त्री अर्यालले जानकारी दिइन्।
मन्त्री अर्यालले अहिलेसम्म परराष्ट्र मन्त्रालयको सचिवस्तरीय संयन्त्रले काम गरिरहेको पनि जानकारी दिइन्। ‘भारतको विदेश मन्त्रालयका सचिव विजय गोख्लेबाट यसबारेमा छलफल गरौँ भन्ने जानकारी दिएको छ,’ उनले भनिन्, ‘सरकारले भारतीय पक्षसँग यसबारे संवाद अघि बढाउने काम थालिसकेको छ।’
बैठकमा बोल्दै वि.सं. २०२५ सालअघि भारतकै सहयोगमा बनेका नक्सामा यी तीनै भूभाग नेपालतर्फ नै रहेको भारतले नै स्वीकारेको जानकारी मन्त्री अर्यालले दिएकी छन्।
‘सन् १८२७ देखि १८५६ सम्मका भारतले नै बनाएका नक्सामा समेत कालापानी र लिपुलेक नेपालमा समावेश गरेको तथ्य छन्,' उनले भनिन्, ‘अहिले कालापानी भारतले नै आफ्नोतर्फ पारेर नक्सा प्रकाशित गरेको हो। यो विवाद अझै समाधान हुन नसकेको हो। अझै पनि भारत प्रष्ट हुन नसकेको हो।’
कालापानी, लिपुलेक, र लिम्पियाधुरा नेपालका हुन् भन्ने कुरामा कुनै शंका नरहेको उनको दाबी थियो। ‘लिम्पियाधुराबाट बग्ने काली नदी नै सीमाना हो। नक्कली नक्सा बनाएर कालापानी भारतमा गाभ्ने प्रयास भएको हो,' अर्यालले थपिन्, ‘हामीलाई एक इन्च पनि विदेशी भूमि चाहिँदैन, हाम्रो भूमि पनि दिँदैनौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।