काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतद्वारा अतिक्रमति कालापानी क्षेत्र फिर्ता गर्नेबारे भारतसँग वार्ता सुरु भइसकेको बताएका छन्।
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाल भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई पारेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ।
त्यही सन्दर्भलाई ध्यानमा राखेर मिनी संसद् समेत भनिने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोलाएर छलफल गर्यो।
संसदीय समितिमा परराष्ट्र सचिव शंकारदास बैरागीसहित उपस्थित भएका मन्त्री ज्ञवालीले भारतले नयाँ नक्सामा नेपाली भूमिसमेत समेटेको सन्दर्भ, उक्त भूमि नेपालकै हो भन्ने प्रमाणित गर्ने नेपालसँग भएका प्रमाण र नेपालले अब चाल्ने कदमबारे ‘ब्रिफिङ’ गरेका थिए।
मन्त्री ज्ञवालीले भारतले कालापानी क्षेत्रमा अतिक्रमित गरेको नेपाली भूमि फिर्ता गराउन भारतसँग बार्ता थाल्न सम्पर्क सुरु भइसकेको सांसदहरुलाई जानकारी गराए।
‘भारतसँग हाम्रो सम्पर्क सुरु भइसक्यो,’ मन्त्री ज्ञवालीले भने, ‘दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयसँग कुरा थालिसकेको छ।’
मन्त्री ज्ञवालीको भनाइलाई पुष्टि गर्नेगरी सोमबार नै भारतस्थित नेपाली दूतावासले ट्वीट गर्दै राजदूत निलाम्बर आचार्यले शुक्रबार भारतीय विदेश सचिव विजय गोख्लेसँग भेट गरेको जानकारी दिइएको छ।
राजदूत आचार्यको भेटमा भारत सिमा विवाद सुल्झाउन परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा बस्न तयार भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।
मन्त्री ज्ञवालीले पनि परराष्ट्र सविचस्तरीय बैठकको तयारी भइरहेको जानकारी सांसदहरुलाई गराउँदै उच्च राजनीतिक तहमा वार्ता आवश्य परे त्यो काम पनि प्रधानमन्त्रीले गर्ने बताए। ‘आवश्यक परे उच्च राजनीतिक तहमा प्रधानमन्त्रीले पनि भारतसँग वार्ता गर्नुहुन्छ,’ मन्त्री ज्ञवालीले भने।
नेपाल-भारत संयुक्त आयोगको तेस्रो बैठकमा कालापानी क्षेत्रको विवाद परराष्ट्र सविचस्तरीय संयन्त्रबाट टुंग्याउने सहमति भइसकेको भन्दै एकपक्षीय ढंगबाट भारतले गरेको काम मान्य नहुने दोहोर्याए।
नेपालले विवाद समाधानका लागि कूटनीति पहललाई नै प्राथमिकतामा राखेको जानकारी गराउँदै उनले त्यो कूटनीतिक प्रयासबाट सुल्झने विश्वास समेत व्यक्त गरे।
‘प्रमाणका आधारमा उक्त भूमि नेपाली हो भन्नेमा कुनैं दुविधा छैन्,’ उनले भने, ‘विवादलाई कूटनीतिक ढंगबाटै समाधान गर्छौं। यसबाटै समाधान हुन्छ भन्ने विश्वास पनि छ।’
विवादित भूमि नभनौं
परराष्ट्र मन्त्री ज्ञवालीले कालपानी क्षेत्रलाई नेपालका कतिपय व्यक्ति र सञ्चारमाध्यमले विवादित क्षेत्र भनेको भन्दै आपत्ति जनाए।
‘कालापानीलाई कुनै मिडियाले विवादित भन्ने गरेका छन्,’ मन्त्री ज्ञवालीले भने, ‘त्यो हुँदै होइन, तथ्य र प्रमाण हामीसँग छ। यो विवादित होइन नसुल्झिएको हो।’
विगत लामो समयदेखि नेपाल-भारतबीच हुने वार्तामा यसलाई नसुझिएको विषयका रुपमा भारतले समेत स्वीकार गरिसकेको जानकारी उनले दिए। उनले भने, ‘नेपाल-भारत संयुक्त आयोगका प्रत्येक बैठकमा यसलाई नटुंगिएको विषयमा स्वीकार गरिएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।