काठमाडौं- वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई स्वीकृतिको इलेक्ट्रिक निस्सा (ई-स्टिकर) दिइने भएको छ।
मंगलबारदेखि व्यक्तिगततर्फ र वैधानिकीकरण (लिगलाइजेसन)मा ई-स्टिकर प्रणाली लागू गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले बताए।
सोमबार ई-स्टिकर प्रणालीको परीक्षण गरिएको महानिर्देशक भुसालको भनाइ छ।
'शुक्रबारसम्म पूर्ण रुपमा लागू गर्ने विभागको योजना छ, यो श्रम स्वीकृतिको प्रक्रियामा कोशेढुङ्गा हुने अपेक्षा छ,' महानिर्देशक भुसालले भने। यस्तो स्टिकर पूर्ण रुपमा विद्युतीय हुने भएकाले ठगीका समस्यामा कमी आउने दाबी विभागको छ।
यो प्रावधान सुरू भएसँगै एजेन्टहरुले नक्कली स्टिकर बनाई भारतको बाटो हुँदै वा अन्य विभिन्न प्रक्रियामार्फत् गर्दै आएको मानव तस्करीसमेत न्यूनीकरण हुने विश्वास लिइएको छ।
साथै स्टिकर छपाइमा लाखौं रूपैयाँ खर्च हुने अवस्थाको अन्त्य हुने विभागले बताएको छ। योसँगै श्रमिकहरुले आवश्यक परेका बेला आफ्नो इमेलबाट स्टिकर प्रिन्ट निकाल्नसमेत सक्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।