एजेन्सी- हालै मात्र भारतीय सर्वाेच्च अदालतले राम मन्दिर-बाबरी मस्जित विवादमा अन्तिम फैसला सुनाएकाे छ। सर्वाेच्चकाे संवैधानिक इजलाशले उक्त मन्दिरमा हिन्दूहरूकाे अधिकार भएकाे फैसला सुनाएकाे हाे।
भारतीय सर्वोच्च अदालतको फैसला आए लगत्तै फूलको व्यापार र खेती किसानीसँग जोडिएका मानिसहरू खुशी भएका छन्। उनीहरुले अयाेध्यामा राम मन्दिर बन्नासाथ पर्यटकको संख्या बढ्ने र फूलको व्यापार पनि बढ्ने आस गरेका छन्।
यसमध्ये अयोध्या राम मन्दिरमाथिको फैसलापछि अयोध्याबाट लगभग छ किलोमिटर पर रहेको कटरा भोगचन्द गाउँका किसान धेरै खुशी भएका छन्। यसको कारण फूलको खेती र व्यापार हो। सो गाउँका किसानहरूले लामो समयदेखि फूलको खेती गर्दै आएका छन्।
करीब तीन हजार जनसंख्या भएको सो गाउँको मुख्य पेशा नै खेती किसानी हो। करीब हजार परिवार यो पेशामा प्रमुखरूपमा आबद्ध छन्। जसमा १०० देखि १५० सम्म मुस्लिम परिवार छन्। उत्तर प्रदेशका अधिकांश सहरका मन्दिरमा पूजाका लागि यही गाउँबाट फूल जाने गरेको छ। अयोध्या राम मन्दिरको फैसला आएपश्चात् यहाँका किसानमा फूलकाे माग बढ्ने कुराले नयाँ आश पलाएको हो।
फूल अयोध्याको मन्दिरमा पठाइन्छ
फूलको खेती गर्ने युवक दुर्गाप्रसादका अनुसार चाडवाडलाई छाडेर अहिलेसम्म फूलको खेतीबाट सोचेजस्तो व्यापार भएको थिएन। मन्दिर बनेपछि अयोध्यामा हरेक दिन फूलको माग बढ्दै जाने उनको विश्वास छ। सोही गाउँमा फूलको खेती गर्ने धर्मेन्द्र सैनीका अनुसार त्यहाँबाट फूल अयोध्याको बजारमा जाने र विशेष गरी दिपावलीको बेलामा फाइदा हुने छ।
चाडवाडको अवसरमा सो गाउँबाट मात्रै डेढ क्विन्टल फूल अयोध्यामा निर्यात गरिन्छ। यदि फूलको व्यापार बढ्यो भने चाडवाडको सिजनमा मात्रै नभएर प्रतिदिन दिपावलीमा झैं फाइदा हुनेमा उनी विश्वस छन्।
धेरै प्रकारको फूलको खेती
किसान किशन माझी भन्छन्‚ ‘गाउँमा सबैभन्दा बढी सयपत्री फूलको खेती हुन्छ। यहाँ जाफरी सयपत्री‚ कलकत्ती सयपत्री‚ बनारसी सयपत्री फूलको खेती गरिन्छ। यी फूलहरु चुँडेको ४-५ दिनसम्म पनि ओइलाउँदैनन्।’ स्थानीय ओमप्रकाश विश्वकर्मा भन्छन्‚ ‘अब हामी फूलको खेती सुरु गर्छौं।’
व्यापार नाफा बढ्नासाथ युवाहरू पनि पलायन नहुने उनकाे विश्वास छ। सो गाउँका करीब १५० मुस्लिम परिवार फूलको खेतीमा प्रत्यक्ष रूपमा जोडिएका छन्। फूलको व्यापार खासगरी दिपावलीमा मात्रै फस्टाउने गरेकोमा अब त्यस्तो नहुने स्थानीयहरूले बताए। प्रत्येक दिन करीब डेढ क्विन्टल फूल अयोध्यामा भित्रिने गरेको छ।
सो स्थानमा सबै मुस्लिमहरू यो पेशामा जोडिएका छन्। राम मन्दिरकै ठिक पछाडि धेरै यस्ता घरहरू पनि छन् जहाँ मुस्लिम परिवारहरू फूलको व्यापार गरिरहेका छन्। द प्रिन्टबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।