काठमाडौं- चलचित्र निर्माता छवि ओझासँग नायिका रेखा थापाले ६५ लाख रुपैयाँ अंश लिएर सम्बन्ध विच्छेद गरेको खुलासा भएको छ। २०६९ जेठ १७ गते मालपोत कार्यालय डिल्लीबजारमा दर्ता रहेको घर जग्गाको अंशबापत नायिका थापाले ६५ लाख लिएको नेपाल लाइभले प्राप्त गरेको सम्बन्ध विच्छेदको कागजमा उल्लेख छ।
जिल्ला अदालत काठमाडौंबाट मिलापत्रमा गरिएको सम्बन्ध विच्छेदमा ओझाका नाममा रहेको १ करोड १३ लाख मूल्यको घरजग्गाबाट रेखाले उक्त रकम लिएकी थिइन्।
तत्कालीन समयमा जिल्ला अदालतबाट प्रमाणित कागजमा छवि ओझाको तर्फबाट पहिली श्रीमती हेमाकुमारी ओझा अंश लिई अलग बस्दै आएको र अन्य कुनै अंशियार नभएको उल्लेख छ। काठमाडौ महानगरपालिकाको साविक वडा नम्बर ८ मा रहेको कित्ता नम्बर १३८ मा रहेको घर जग्गाबाट थापाले अंश लिएकी थिइन् ।
थापाले रकम लिएपछि जिल्ला अदालतबाट २०७३ सालमा मिलापत्रकै आधारमा सम्बन्ध विच्छेद गरेकी थिइन्।
२०५७ सालमा प्रेम विवाह गरेको तर दुवैवाट कुनै सन्तान नभएकाले सम्वन्ध विच्छेद गर्नुपर्नेको दाबी रेखा थापाले मुद्दा दायर गर्दा गरेकी थिइन्।
२०६८ सालपछि आफूलाई पति छवि ओझाले व्यवसायिक कार्यमा असहयोग पुर्याएको, सार्वजनिक समारोहमा हेला गर्ने, व्यंग्यात्मक शैलीमा अपमान गर्ने कार्य गरेको दाबी रेखाले आफ्नो सम्बन्ध विच्छेदको निवेदनमा गरेकी थिइन्।
उनको निवेदनपछि छवि ओझाले आफूलाई व्यापार, व्यवसायमा असर पर्ने गरी मुद्दा दायर गरेको दाबी गरेका थिए। तर पछि थापाले आफूले २०६९ सालमै अंश लिएको भन्दै मित्रलापत्रका आधारमा सम्बन्ध विच्छेद गरेकी थिइन्।
रेखासँग छुट्टिएको १० दिनमै शिल्पासँग छविको बिहे
छवि ओझाले जिल्ला अदालत काठमाडौंबाट रेखा थापासँग २०७३ असार १९ गते सँग सम्बन्ध विच्छेद गरेका थिए। रेखासँग वैधानिक रुपमा सम्बन्ध विच्छेद भएको १० दिनपछि छविले शिल्पा पोखरेलसँग विवाह गरेका थिए। विवाह दर्ता प्रमाणपत्रका अनुसार उनीहरुले २०७३ असार २९ गते विवाद गरेका थिए तर उक्त विवाह दर्ता भने २०७५ पुस १२ गते भएको थियो।
काठमाडौंमा भएको विवाह दर्ता अघि जिल्ला अदालतबाट किनारा लागेको मुद्दाले छविको अर्को अंशियार नभएको देखिन्छ। रेखा थापासँगको सम्बन्ध विच्छेदमा सबैलाई अंश दिइसकेको प्रमाािणत भएको देखिन्छ।
रेखा थापाले अंश लैजादासम्म मौन रहेकी जेठी श्रीमती हेमा ओझा भने उनीसँग छविको सम्बन्ध विच्छेदपछि श्रीमती बनेकी शिल्पाको हकमा मात्र जाहेरी लिएर प्रहरी कार्यालय पुगेको देखिन्छ।
त्यस्तै मंगलबार सर्वोच्च अदालतले शिल्पा पोखरेलले पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णय विरुद्ध हालेको रिट खारेज गरिदिएको छ।
सर्वोच्चले शिल्पाको रिट खारेज गरेको र जिल्ला अदालतमा बहुविवाह मुद्दा दायर भएकाले यो विवाद नयाँ मोडमा पुगेको देखिन्छ।
यसरी सामाजिक परम्परा अनुसार बिहे गरे पनि उनीहरुले भने गोप्य राखेर अस्वीकार गर्दै आएका थिए।
यो विवाद एक्कासी छविले आफूमाथि हिंसा गरेको भन्दै शिल्पाले प्रहरी कार्यालयमा जाहेरी दिएपछि पुनः सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।