काठमाडौं- अमेरिका लैजाने भनेर अफ्रिकी देश मलावी पुर्याइएका ६ नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले उद्धार गरेर नेपाल ल्याएको छ।
उनीहरूलाई एक वर्ष अगाडि अमेरिका लैजाने भन्दै भियतनाम, इथियोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै अफ्रिकी देश मलावी पुर्याइएको थियो।
यसरी बिचल्ली परेपछि पीडित युवाका परिवारले ब्युरोमा कात्तिक २० गते उजुरी दिएका थिए।
मलावीमा बन्धक बनाएर राखेको अवस्थामा त्यहाँको प्रहरीसँग समन्वय गरेर ब्युरोले उनीहरुको उद्धार गरेको हो।
मलावीको दक्षिण शहर ब्लान्टायर नजिकको गाउँबाट ६ जना युवाको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये ४ जना पर्वतका छन् भने एक जना दाङ र एक जना रुकुमका छन्। अन्य दुई युवाको भने उद्धार भइरहेको प्रहरीले जनाएको छ।
उनीहरुलाई मानव तस्कर गिरोहले अमेरिका लैजाने भनी नेपालबाट भियतानाम पुर्याएका थिए। त्यहाँ २० दिन राखेपछि ४ महिना इथियोपिया पुर्याएका थिए।
त्यसपछि २५ दिन माडागास्कार, १ महिना जोर्डन, ४५ दिन दुबई, अजरबैजान २० दिन राखी अन्तमा मलावी पुर्याएका थिए।
त्यहाँ बन्धक बनाएर राखिएको अवस्थामा उनीहरुको उद्धार गरिएको हो।
मानव तस्करी कार्यमा संलग्न भएको आरोपमा प्रहरीले भारतीय मूलका मलावी नागरिक नाजिर अहमदलाई पक्राउ गरेको छ।
उनीमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।