काठमाडौं– प्रदेश ५ का मुख्यमन्त्री तथा प्रधानमन्त्री ओली सन्निकट नेता शंकर पोखरेलले प्रमका प्रमुख सल्लाहकार विष्णु रिमाल परिवर्तनको विषय हल्ला साबित हुने भन्दै फेसबुकमा स्टाटस राखेका छन्। पोखरेलको यो भनाइले राजीनामा गरिसकेका भनिएका प्रमका प्रमुख सल्लाहकार रिमाललाई जोगाउने खेल सतहमा ल्याइदिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मात्रै होइन, पार्टीभित्र पनि प्रमुख सल्लाहकार रिमाल जोगाउन विभिन्न कोण र तप्काबाट प्रयत्नहरु भएको कुरा कहिँकतै छिपेन। हामीले यसबारे प्रधानमन्त्री ओली निकट केही नेता तथा प्रशासनिक व्यक्तिसँग सोधखोज गरेका थियौं।
गएको शुक्रबार मात्रै प्रधानमन्त्री केपी ओलीले सल्लाहकारहरु र उनीहरुको कामप्रति असन्तुष्टि जनाउँदै बाटो खुल्ला गरिदिन आग्रह गरेपछि प्रधानमन्त्री सल्लाहकारहरु अन्योलमा परेका थिए। प्रधानमन्त्री ओलीको यस्तो आग्रहपछि स्वयं प्रमुख सल्लाहकारले अरु सल्लाहकारहरु भेला पार्दै राजीनामा दिएर प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने बताए। र, सोही बमोजिम सल्लाहकारहरुले सामूहिक राजीनामा दिए।
‘सामूहिक राजीनामाका लागि प्रमुख सल्लाहकार नै उत्प्रेरक हो’, प्रधानमन्त्री सचिवालयमा बसेर काम गर्ने अर्का एक सल्लाहकारले नेपाल लाइभसँग भने, ‘प्रधानमन्त्रीको निर्देशनपछि रिमालजीले प्रधानमन्त्री ओली निकट अरु उच्चस्तरीय नेतासँग फोनमार्फत् नै हारगुहार सुरु गरेको थाहा पाएका थियौं, आज शंकरजीको भनाइ बाहिर आएपछि झन् स्पष्ट भयो।’
प्रधानमन्त्री ओलीबाट असन्तुष्टि व्यक्त भएपछि प्रमुख सल्लाहकार रिमालले सबैभन्दा पहिला प्रदेश ५ का मुख्यमन्त्री तथा पार्टीमा ओलीले विश्वास गर्ने नेतामा दरिएका शंकर पोखरेललाई नै फोन गरेर जानकारी दिएका थिए। पोखरेलले रिमाललाई ‘जस्तोसुकै संकटका बेला पनि ओलीलाई साथ दिएको तपाईं जस्तो व्यक्तिलाई अपमान गर्नुहुँदैन। यसबारे म अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग कुरा गर्छु’ भन्दै ढाडस दिएका थिए।
पोखरेलसँग मात्र होइन, प्रमुख सल्लाहकार रिमालले यसबारे दलभित्र आफूलाई विश्वास र माया गर्ने अरु केही नेताहरुसँग पनि छलफल गरेका थिए।
शनिबार विभिन्न मिडियामा प्रधानमन्त्रीका सल्लाहकारहरुको सामूहिक राजीनामाबारे समाचारहरु आएपछि प्रदेश प्रमुख तथा नेता शंकर पोखरेलले प्रधामन्त्री केपी ओलीसँग यसबारे छलफल गर्दै ‘विष्णुजीजस्तो संकटको साथीलाई बाहिर राख्न नहुने’ सुझाब दिएको बताइएको छ। जवाफमा प्रधानमन्त्रीले आफूले एउटा सन्देश दिन पनि यस्तको कदम चाल्न लागेको तर सबै सल्लाहकारहरु हटाउन भने नचाहेको कुरा नेता पोखरेललाई बताएका थिए।
खासमा प्रधानमन्त्री ओलीले परराष्ट्र सल्लाहकार राजन भट्टराई र सञ्चार सल्लाहकार कुन्दन अर्याललको ‘पर्फमेन्स’ आफूलाई चित्त नबुझेको कुरा पोखरेललाई बताएका थिए। त्यसैगरी सूचना तथा प्रविधि सल्लाहकार अस्गर अली पनि पटक पटक विवादित भएको भन्दै उनको चित्तदुखाई थियो।
प्रधानमन्त्री ओलीलाई परराष्ट्रमा भट्टराई, प्रेसमा अर्याल बाहेक जनसम्पर्कमा ईन्द्र भण्डारी, सूचना तथा प्रविधिमा अली तथा प्रेसमा चेतन अधिकारी र रामशरण बजगाईंले सघाउँदै आएका छन्।
‘यो सबै कुरा प्रधानमन्त्रीलाई मन परेका सल्लाहकार राख्ने र मन नपरेकालाई बिदा गर्ने खेल हो कि भन्ने लागेको छ’, नेता माधव नेपाल पक्षका एक नेताले भने, ‘तर कामका हिसाबले रिमालजी नै सबैभन्दा बढी विवादित हुनुभएको छ। पार्टीभित्र पनि उहाँको आलोचना भइरहेको छ।’
मूलघर नुवाकोट भएका तर भूगोलको राजनीतिभन्दा श्रमिकहरुको संस्था जिफन्टको अगुवाइ गर्दै राजनीतिमा सक्रिय रिमाल लामो समयदेखि दलभित्र ओली निकट छन्। पछिल्लो महाधिवेशनमा दलको सचिव पदमा पराजित हुन्।
इन्जिनियरिङ गरेका रिमालले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार रुपमा काम गर्न थालेदेखि दलभित्रकै कतिपय नेताहरु बालुवाटार प्रवेशमा कडाइ गरेको भन्दै खबरहरु बाहिर आइरहेका थिए। छिटो प्रतिक्रिया दिने र फरक गुटका नेता तथा कार्यकर्ताप्रति उदार हुन नसक्ने भन्दै आलोचित रिमाल सार्वजनिक अभिव्यक्तिका कारण पनि बेला बेलामा विवादित हुने गरेका छन्। (फोटो– काठमाडौंपाटीबाट साभार)
यो पनि पढ्नुहोस्ः
प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा, यी हुन् प्रधानमन्त्रीका ४ असन्तुष्टि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।