काठमाडौं- रौतहटमा प्रहरी जवानलाई लक्षित गरी बम प्रहार गर्ने भारतीय नागरिक भएको खुलेको छ।
उनलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ। इशनाथ नगरपालिका-४ स्थित प्रहरी चौकी मठीया रौतहटमा ड्युटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार भएको थियो।
उक्त घटनामा संलग्न भारतको ढाकाका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
बिआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले सुतली बम प्रहार गरी फरार भएका थिए।
बम प्रहार गरी फरार भएका उनीहरुको तत्काल उक्त प्रहरी चौकीको टोलीले पिछा गरेको थियो।
चौकीदेखि करिब १ किलोमिटर दक्षिण नेपाल-भारत सीमा दशगजा नजिकबाट मोटरसाइकलका चालक कुमारलाई फेला पारी पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ।
विष्फोटबाट डिउटीमा रहेका प्रहरी जवानलाई सामान्य चोट लागेको छ।
चौकी नजिकै चौरमा चरिरहेको एउटा बाख्राको मृत्यु भएको थियो।
घटनामा संलग्न अर्का एक जना भने फरार रहेका छन्।
उनीमाथि अनुसन्धान गरेर कर्तव्य ज्यानलगायतका मुद्दा दायर गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।