राजस्व छली गर्ने भारतीय नागरिकसहित तीन जनाविरुद्ध मुद्दा दायर

नेपाल लाइभ | २०७६ कार्तिक २७ बुधबार | Wednesday, November 13, 2019 ०६:३३:०० मा प्रकाशित

काठमाडाैं- झुट्टा तथा नक्कली बीजक प्रयोग गरी करोडौँ रुपैयाँ राजस्व छली गर्ने भारतीय नागरिकसहित तीन जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ। ‘हस्पी केयर इन्टरनेशनल’ र ‘श्री श्याम ट्रेडर्स त्रिपुरेश्वर काठमाडौँ’मार्फत राजस्व चुहावट गरेको अभियोगमा भारत स्थायी ठेगाना भई हाल काठमाडौँ, बाफल बस्ने केशव बङ्शल, रामसुन्दर राय र प्रोप्राइटर राकेश पाण्डेयविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।

उनीहरूले रु ११ करोड १९ लाख ८४ हजार बिगो बराबरको राजस्व छली गरेकाले बिगो कायम गरी त्यसको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको माग दाबीसहित मुद्दा चलाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त कर छलीका मुख्य अभियुक्त बङ्शल हुन्। हस्पी केयर इन्टरनेशनल र श्री श्याम ट्रेडर्सले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावटको कसूर गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

उनका अनुसार राजस्व छली गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधन नेपाली नागरिकको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ। बङ्शलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत गरेको देखिएकाले आवश्यक छानबिन तथा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पत्राचार गरिएको विभागले जनाएको छ।