राजविराज- राजविराज नगरपालिकाले ८१ लाखको लागतमा निर्माण सुरु गरेको वडा नम्बर–९, मलेठ स्थित ‘सहिद स्मारक गेट’ अलपत्र परेको छ। सम्झौताको ६ महिना म्याद सकिएर थप गरिएको ६ महिनाभित्र पनि काम सम्पन्न हुन सकेको छैन। करिब चार महिनादेखि निर्माण कार्य रोकिएको छ।
राजविराज नगरपालिकाले आव ०७४/०७५ को बजेटबाट मलेठमा सहिद गेट र स्मारक निर्माण गर्ने निर्णय गरेको थियो। २०७३ फागुन २३ गते तत्कालीन नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको विरोधका क्रममा प्रहरीको गोली लागी मारिएका ५ जना सहिदको सम्झनामा उक्त गेट र स्मारक निर्माण गर्न लागिएको थियो। प्रहरीको गोली लागेर इनरदेव यादव, सञ्जन मेहता, पिताम्बर मण्डल, आनन्दकुमार साह र वीरेन्द्र महतोको मृत्यु भएको थियो।
तिनै सहिदको नाममा निर्माणाधीन गेट र स्मारक निर्माणको ठेक्का राजविराजकै न्यु गहिल कन्स्ट्रक्सनले लिएको छ। २०७५ पुस १४ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी २०७५ असार १५ गते सम्झौता भएको थियो। तर, तोकिएको समयमा काम सम्पन्न नभएपछि पुनः ६ महिना थप गरी २०७६ असार १४ गतेसम्म काम सम्पन्न गर्न समय दिइएको थियो। थप गरिएको समयमा पनि निर्माण कार्य सम्पन्न नभएपछि गत असारदेखि निर्माण काम पूर्ण रुपमा रोकिएको नगरपालिकाका इन्जिनियर अशोक दासले जानकारी दिए।
गेट तथा स्मारक निर्माणको काम करिब ७५ प्रतिशत सकिएको र निर्माण कम्पनीले ५० लाख रुपैयाँ भुक्तानी समेत लिएको नगरपालिकाले जनाएको छ। इन्जिनियर दासका अनुसार निर्माण कार्य सम्पन्न गर्न फेरि समय थप गर्ने वा नगर्ने भन्ने विषय हालसम्म टुङ्गो लागेको छैन। ‘समय थप्ने÷नथप्ने भन्ने विषय कार्यपालिकाकाको निर्णयमा भर पर्छ,’ उनले भने, ‘लामो समयदेखि नगरकार्यपालिकाको बैठक बस्न सकेको छैन, बैठक बसेपछि मात्रै त्यो विषय थाहा हुन्छ।’
राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकुमार सिंह कार्यालयमा हाजिर भएदेखि नै अधिकांश समय बाहिर रहने गरेका कारण कार्यापालिका बैठक बस्न नसकेको एक कर्मचारीले जानकारी दिए।
जोखिमपूर्ण यात्रा
गेट निर्माण कार्य अलपत्र परेपछि यातायात असुरक्षित हुनुका साथै सर्वसाधारणले दुःख पाइरहेका छन्। गेटको छेउबाट यातायात सञ्चालनका लागि बनाइएको बाटो असुरक्षित र धुलाम्मे भएको स्थानीयले बताए। ‘सवारी साधनको ओहोर–दोहोरले धुलो उड्दा गाउँ नै कुइरीमण्डल हुन्छ,’ स्थानीयवासी भन्छन्, ‘बनाउनै नसक्ने काम सुरु गरेर सर्वसाधारण र यात्रुलाई दुःख दिने काम मात्रै भयो।’
सहिदको नाममा सुरु गरेको संरचना समयमा सम्पन्न नहुँदा स्थानीयवासीको मनमा पनि चिसो पसेको उनीहरुले बताए। ‘सहिदको अपमान गर्न र अस्तव्यस्तता देखाएर परिवारका सदस्यलाई रुवाउनका लागि मात्रै सहिद गेटको सुरुवात गरिएको जस्तै लाग्छ,’ उनले भने।
१५ दिन भित्रमा फाइनल : निर्माण कम्पनी
सहिद गेट र स्मारक निर्माणको जिम्मा पाएको न्यु गहिल कन्स्ट्रक्सनले भने १५ दिनभित्र सम्पूर्ण काम सम्पन्न गर्ने दावी गरेको छ। अधिकांश काम सम्पन्न भएको र अहिले पनि काम सुरु भइसकेको कम्पनीका भीमराज यादवले बताए। नगरपालिका कार्यालयले भुक्तानी नदिएका कारण समयमा काम सम्पन्न हुन नसकेको बताएका उनले आफैं लगानी गरेर भए पनि पन्ध्र दिनभित्र गेटको सम्पूर्ण जिम्मेवारी पूरा गर्ने दावी गरे।
राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले पनि अरु एक पटक म्याद थपेर निर्माणको काम सम्पन्न गरिने बताए। ‘हामीले छलफल गरेका छौं, म्याद थपेर एक महिनाभित्र काम सम्पन्न गराउने गरी कुरा भएको छ,’ उनले भने, ‘यो पटक कसैगरी काम सम्पन्न हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।