राजविराज- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले राष्ट्रिय सुरक्षा र स्वाभिमानका लागि सबै राजनीतिक दल एकै ठाउँ उभिनु पर्ने बताएका छन्।
सप्तरीको कञ्चनरुप नगरपालिकाको कञ्चनपुरस्थित सर्वोदय उच्च माविमा आयोजित ‘सामा चकेवा महोत्सव’को समापनमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन्।
भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका भुभाग भारतमा मिसाएको विषयतर्फ संकेत गर्दै उनले भने, ‘राष्ट्रिय सुरक्षा, स्वाधिनता र स्वाभिमानका लागि दलगत भावना त्याग्दै सबैले एकै ठाउँमा उभिनुपर्ने आजको आवश्यक्ता हो।’
'ओहोदाको परिधिभित्र सबैले चल्नुपर्छ'
मन्त्री यादवले जिम्मेवारीमा बसेका नेताहरुले विधि र विधानलाई नै सर्वोपरी मानेर काम गर्न सके पार्टीभित्र विवाद तथा फुटको गुन्जायस नहुने बताए। आ–आफनो जिम्मेवारीको काम गर्दा विधि विधानलाई हेक्का राख्नु जरुरी रहेको उनको भनाई छ। ‘म फलानो हुँ र फलानोको नजिकको हुँ भन्ने रवाफले संगठन चल्दैन,’उनले भने,‘आफनो ओहोदाको परिधि भित्र सवैले चल्नु पर्छ।’
नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री यादवले केही नेताको तानाशाह र हैकमवादी प्रवृत्तिका कारण प्रदेश २ मा नेकपाभित्र विवाद देखिएको प्रष्ट्याए। ‘यस्तो जग हँसाउने कार्यले पार्टी मजवुत हुन सक्दैन’ उनले थपे,‘आफूले भनेको मात्र ठिक, अरु सबै बैठिक भन्ने अहंकार त्याग्नु जरुरी छ।’
‘नेताले रातलाई दिन र दिनलाई रात भनेपनि समर्थन गर्नु पर्ने अव जरुरी छैन,’उनले भने, ‘अब पार्टीका नेता कार्यकर्ताले 'जी-हजुरी' गर्दैनन्। सामान्तवाद र जमिन्दार विरुद्ध लड्ने कम्युनिस्टले पार्टीभित्र गुलामी गर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।