राजविराज- सप्तरीको सप्तकोसी नगरपालिकास्थित फत्तेपुरमा ‘पुर्खाले लडे नालापानी, हामी लड्छौ कालापानी’भन्दै भारतविरोधी प्रदर्शन गरिएको छ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका नेपाली भूभाग भारतको नयाँ नक्सामा पारिएको विरोधमा स्थानीय युवाहरुले बुधबार त्यहाँ प्रदर्शन गरेका हुन्।
स्वतस्फुर्त जम्मा भएका स्थानीयवासी र युवाहरुले भारतविरोधी नारा लगाउँदै प्रदर्शन गरेका थिए। सप्तकोसी नगरपालिका कार्यालय नजिकैबाट सुरु भएको जुलुसले नगर परिक्रमा गरेको थियो।
प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, 'गो ब्याक इन्डिया', भारतीय विस्तारवाद मुर्दावाद, सिमा मिच्न पाइँदैन, यस्तो छिमेकी चाहिदैन, एकपक्षीय नक्सा मान्दैनौं, 'पूर्खाले लडे नालापानी, हामी लड्छौ कालापानी’ जस्ता नारा लगाइएको थियो।
प्लेकार्ड सहितको युवाहरुको जुलुस स्थानीय लोकतान्त्रिक चौकमा कोणसभामा परिणत भएको थियो। कोणसभामा नेकपा, नेपाली कांग्रेस लगायतका पार्टीसम्बद्ध युवाहरुको समेत उपस्थिति थियो।
नेपाली कांग्रेसका नगर सभापति रमेश कार्की, नेकपाका जिल्ला कमिटी सदस्य सन्तोष खतिवडालगायतले भारतले मिचेको कालापानीलगायतका क्षेत्र नेपालकै भएकाले भारतको दादागिरी तोड्न राष्ट्रिय एकताको खाँचो औंल्याए।
लिपुलेक कालापानी सहितका नेपाली भू–भाग आफ्नोतर्फ पारेर सार्वजनिक गरिएको विवादित नक्सा सच्याउन नेपाल सरकारले उचित प्रमाण र दस्तावेजका आधारमा तत्कालै कूटनीतिक पहल थाल्नुपर्ने उनीहरुले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।