चुनाव प्रचारमा नेकपाका उम्मेदवार प्रकाश राई (बायाँ) र कांग्रेसका उम्मेदवार तिलक राई अंकमाल गरी हार्दिकता साट्दै।
धरान- मंसिर १४ गते हुने मेयर पदको उपनिर्वाचनका लागि धरान उपमहानगरपालिकामा सबै राजनीतिक दलले तयारी तीव्र बनाएका छन्। अधिकांश राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् भने नेता/कार्यकर्ताहरु उम्मेदवार लिएर मतदाताको घर-घरमा पुग्ने तथा आफनो पक्षमा माहौल तयार गर्ने काममा खटिएका छन्।
तत्कालीन नेकपा एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निमोनियाका कारण मृत्यु भएपछि धरानमा उपनिर्वाचन हुन लागेको हो। मृगौला फेल भएर नयाँदिल्लीको एपोलो अस्पतालमा प्रत्यारोपण गराएका राईको २०७५ साउन १ गते ग्रान्डी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।
उनको निधनपछि उमेयर मञ्जु भण्डारीले कार्यबाहक मेयरको रुपमा काम गरिरहेकी छन्। धरानमा मेयरसहित वडा नम्बर–७ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदैछ। धरानमा २०५१ सालको निर्वाचनयता वामपन्थी उम्मेद्वारले जित्दै आएका छन्। यस उपनिर्वाचनमा नेकपा र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
सत्तारुढ दल नेकपाले सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश राईलाई मेयरको उम्मेदवार बनाएको छ। राईले धरान–४ को विकट गाउँ हर्दिया दानाबारी क्षेत्रबाट चुनावको प्रचार–प्रसार सुरु गरी जारी राखेका छन्।
यसैगरी, नेपाली कांग्रेसले एक महिनाअघि नै नगर सभापति तिलक राईलाई उम्मेदवार घोषणा गरी घर-दैलो गरिरहेको छ। कांग्रेरेसले क्षेत्रीय सभापति शुरेशमान श्रेष्ठको संयोजकत्वमा ३ हजार ३ सय सदस्यीस निर्वाचन परिचालन कमिटी बनाएको छ।
कांग्रेस उम्मेदवार राई २०७४ सालमा भएको स्थानीय निर्वाचनमा स्व. तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतान्तरले पराजित भएका थिए। यस्तै धरानको मेयर पदका लागि संघीय समाजवादी पार्टीले भूपू सैनिक गजेन्द्र इस्वो, संघीय लिम्बूवान मञ्चले पार्टीका जिल्ला अध्यक्ष अमर इजम र साझा पार्टीले राजन श्रेष्ठलाई उम्मेद्वार बनाएका छन्। हर्क साम्पाङले स्वतन्त्र रुपमा चुनाव प्रचार–प्रसार सुरु गरेका छन्।
यस्तो छ विगतको अवस्था
२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेका तारा सुब्बा २० हजार ९ सय ७५ मत ल्याई विजयी भएका थिए। कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए भने माओवादी केन्द्रले ११ हजार १ सय ८० पाएको थियो। उपमेयर मात्र उठाएको संघीय समाजवादी पार्टी ५ हजार १ सय ८१ मत ल्याएको थियो।
यसैगरी, धरानका २० मध्ये १५ वडा तत्कालीन एमाले र एउटामा तत्कालीन माओवादी केन्द्रले जितेको थियो भने ५ वटा वडामा कांग्रेसले जितेको छ। वडा नं. १, २, ५ र १९ मा कांग्रेस, १७ मा तत्कालीन माओवादी केन्द्र र अन्य वडामा तत्कालीन एमालेका वडाध्यक्ष छन्।
अघिल्लो निर्वाचनको परिणाम अनुसार नेकपाका उम्मेद्वार सहज रुपमा विजयी हुने नेता/कार्यकर्ताको दाबी छ। तत्कालीन एमाले र माओवादी केन्द्रको एकता भएका कारण दुवैको मत जोडिने भएकाले करिब १० हजारभन्दा बढीको मतान्तरले आफ्ना उम्मेदवार विजयी हुने दाबी नेकपाको छ।
नेकपाको नेतृत्वमा भईरहेका विकास निर्माणका कामले पनि आफ्ना उम्मेदवारतर्फ मतदाताको झुकाव बढी देखिएको उम्मेदवार राई दाबी गर्छन्। ‘धरानको विकासमा नेकपाको योगदान बिर्सन सक्ने खालको छैन,’ उनी भन्छन्, ‘पार्टी संगठन पनि बलियो छ, हामी सजिलै जित्छौं।’
अर्कोतर्फ कांग्रेसले भने नेकपाको हालसम्मको जित र त्यसपछिका क्रियाकलाप नै आफूहरुको जितको आधार भएको बताएको छ। ‘नेकपा उमेदवारले धरानमा पटक–पटक जिते, तर विकास निर्माणका काम लथालिङ्ग पारेका छन्,’ उम्मेदवार तिलक राई भन्छन्, ‘त्यसलै यस पटक मतदाताले आफूलाई विजयी गराउनेमा म विश्वस्त छु।’
संघीय समाजवादीका गजेन्द्र इस्वो, संघीय लिम्बूवान मञ्चका अमर इजम, साझा पार्टीका राजन श्रेष्ठ, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलगायत पनि आफ्नो पक्षमा जित सुनिस्चित गर्न तयारीमा जुटेका छन्।
निर्वाचन कार्यालय पनि तयारीमा
राजनितिक दल र उम्मेवारहरु उपनिर्वाचनको तयारीमा जुटेपछि निर्वाचन कार्यालय पनि आफ्नो तयारीमा जुटेको छ। धरान १५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
२८ स्थानमा ९९ मदतान केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृत निधिराम दाहालले जानकारी दिए। जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार उपनिर्वाचनमा ९० हजार ८ सय ५३ मतदाता सहभागी हुनेछन्। २०७४ सालको निर्वाचनमा ७९ हजार २ सय ९० मतदाता सहभागी रहेकोमा हाल १३ हजार ५६३ मतदाता थपिएको कार्यालयले जनाएको छ।
निर्वाचन कार्यतालिका अनुसार कार्तिक २७ गते उम्मेदवारहरूको मनोनयन दर्ता गरी सूची प्रकाशन, कार्तिक २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, कार्तिक २९ गते मनोनयन पत्र र उजुरीको विषयमा जाँचबुझ गरी मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने छ।
कार्तिक ३० गते उम्मेदवारको नाम फिर्ता र सोही दिन उम्मदेवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। मंसिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।