भैरहवा- २०७६ कार्तिक २५ गते इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीको अनुसन्धान टोलीले भारतको दिल्लीबाट आएको लु १ ख ८४७४ नम्बरको बसबाट लाखौं रुपैयाँ बराबरको मोटरपाट्स बरामद गर्यो।
विशेष सूचनाको आधारमा उक्त बसको निगरानी भारतबाट नै गर्न थालिएको थियो। सोमबार नेपाल भित्रिएर चेकजाँचका लागि भैरहवा भन्सार कार्यालयमा छिरेर निस्किएपछि प्रहरीले सीमा क्षेत्र बेलहिया बाइपासमा नियन्त्रणमा लिएर चेकजाँच गर्दा लाखौँ रुपैयाँ बराबरको मोटरपार्टस बरामद गरेको थियो।
बसलाई ‘मोडीफाई’ गरी डिक्कीभित्र ‘फल्स बटम’ बनाई भन्सार छलेर मोटरसाइकलको स्पेर पार्टस् भित्र्याएको अवस्थामा प्रहरीले बससहित ३४ लाख बढी मूल्य बराबरको साम्रगी बरामद गर्यो। साथै प्रहरीले तस्करीमा प्रयोग भएको बस पनि नियन्त्रणमा लिएको छ।
सामग्रीसँगै बसका चालक बुटवल उपमहानगरपालिका-१३ का ३४ वर्षीय यमबहादुर परियार र सहचालक बुटवल उपमनपा-१५ का २६ वर्षीय कृष्णबहादुर रोकालाई पक्राउ गरिएको रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक कमल बेल्वासेले बताए।
‘गाडी धनीको संग्लनता विना डिक्कीभित्र ‘फल्स बटम’ बनाउन सकिँदैन,' प्रहरी निरीक्षक बेल्वासेले भने, ’कुनै साम्रगी लुकाएर ल्याउनकै लागि बसमा ’फल्स बटम’ बनाएको पाइएको छ। यो बसमा पनि विगत अढाई महिनादेखि तस्करी गरिँदै आएको खुलेको छ।’
पक्राउ परेका चालक र सहचालकले बरामद भएका २८ प्रकारका विभिन्न मोटरपार्टस् गाडी धनीकै घरमा पुर्याउनका लागि ल्याएको प्रहरीलाई प्रराम्भिक बयान दिए।
000
गत साउन २६ गते पनि सशस्त्र प्रहरीको डण्डा टोलीले दिल्लीबाट बुटवल आउँदै गरेको लु १ ख ६६४९ नम्बरको नेपाल भारत चल्ने यात्रुबाहक बसमा फल्स बटन बनाएर भन्सार छली गरी भित्र्याइएको ६ लाख ५० हजार बढी रुपैयाँको कपडा बरामद गरेको थियो। बरामद साम्रगी बस, बसका चालक र सहचालकलाई आवश्यक अनुसन्धानका लागि भन्सारमा बुझाइएको थियो।
त्यस्तै ०७६ बैशाख २२ गते सशस्त्र प्रहरीको डण्डा टोलीले दिल्लीबाट पोखरा जाँदै गरेको ना ६ ख १२८६ नम्बरको नेपाल–भारत मैत्री बसमा भन्सार छली गरी भित्राइएको २ लाख ८ हजार बढी मूल्य बराबरको कपडा, नटबोल्ट लगायत साम्रगी बेवारिसे अवस्थामा बरामद गरेको थियो।
उता ०७५ पुस १३ गते भैरहवा भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे. क्वा. (रा.भ.सु) रुपन्देही (डण्डा) को संयुक्त टोलीले दिल्लीबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३६२४ नम्बरको नेपाल-भारत मैत्री बसमा भन्सार छली गरी भित्र्याउँदै गरेको अवस्थामा ८१ हजार बढी मूल्य बराबरको कपडा बरामद गर्यो।
000
यी प्रतिनिधि घटना मात्र हुन्। नेपाल–भारत चल्ने यात्रुबाहक बसमा कडाई नहुदाँ तस्कर र अपराधीका लागि सुरक्षित माध्यम बन्न पुगेका छन्। नेपाल–भारतको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगढ बनाउन उद्देश्यले सरकारी स्तरबाटै यस बस सेवाको सुरुवात गरिएको थियो। तर, पछिल्ला घटनाक्रमले यसलाई तस्कर र अपराधीले प्रयोग गरिरहेको देखिन्छ। यी बस सीमानाकामा बाहेक भारतमा अन्त कतै चेकजाँच हुँदैन। सरकारी स्तरबाट विशेष अनुमति प्राप्त गरी संचालन हुने ‘नेपाल-भारत मैत्री बस’ बाहेक नेपालस्थित भारतीय दूतावासबाट रुट परमिट लिएर निजी कम्पनीहरुले पनि बस संचालन गर्दै आएका छन्।
‘गोप्य सूचना भएको बेला मात्र लुकाएर ल्याइएको ठूलो परिमाणमा अवैध साम्रगीहरु बरामद हुन्छन्। नियमित चेकजाँचको क्रममा सहजै पाइँदैन,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता खड्क बहादुर खत्रीले भने।
तस्करले बसलाई ‘मोडिफाइड’ अर्थात् बसमा फल्स बटन बनाएर तस्करी गर्ने गर्छन्। जुन सहजै थाहा हुँदैन। त्यसो त बिना गोप्य सूचना नियमित चेकजाँचको क्रममा पनि भन्सार छलेर थोरै-थोरै परिमाणमा भित्र्याइएको विभिन्न साम्रगी पनि यस्ता बसबाट बरामद भइरहेको हुन्छ।
सुनौली नाकाबाट दिल्ली-काठमाडौं, पोखरा, नारायणघाट, बुटवल गरी दैनिक करिब १० वटा बस चल्छन्। यस्ता बस सुनौली नाकाबाट मात्र नभई विरगंज, नेपालगंज, विराटनगर, कैलाली, कपिलवस्तु जिल्लालगायतका अन्य नाकाबाट चल्ने गरेका छन्। यी बसहरुमा भन्सार छलेर भित्राइएको साम्रगी बरामदपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने गर्छ। प्रहरीलाई यी बसका विषयमा अनुसन्धान गर्ने जिम्मा छैन।
‘अधिकांश बसमा बरामद सम्रागीको क्यारिङ्गमा बसका चालक, सहचालक, मालिकको संग्लनता देखिन्छ,’ प्रवक्ता खत्रीले भने, ‘तर, उनीहरुले पनि साम्रगीबारे अनविज्ञता प्रकट गर्छन्।’ उनले थपे, 'घटनाको अनुसन्धान गर्ने भन्सार कार्यालयले हो, हामीलाई अनुसन्धानको अधिकार नहुँदा मुख्य व्यक्ति को हो वा ‘नेटर्वक’बारे जानकार हुदैनौँ।'
सीमापार आवतजावत गर्ने बसमा बरामद साम्रगी र पक्राउ व्यक्तिलाई भन्सार कार्यालयले भन्सार र संक्षिप्त कार्यविधी ऐन अनुसार कारबाही हुँदै आएको छ। तर, भन्सारले घटना अनुसन्धान गर्ने जिम्मा पाएपनि सम्बन्धित ‘नेटर्वक’ तोड्न भने ऐन प्रभावकारी देखिएको छैन।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले कार्यालयमा बुझाइएको घटनाको क्षेत्रअधिकारभित्र रहेर अनुसन्धान र कारबाही गर्नुपर्ने हुँदा ‘नेटर्वक’सम्म पुग्न नसकेको बताए। ‘कार्यालयको मनसाय राजश्व असुली हो। यस विषयमा पूर्ण अनुसन्धान गर्दै जाने हो भने अपराधसगँ गएर ठोकिन्न पुग्छ। जुन हाम्रो क्षेत्रअधिकार भित्र पर्दैन,’ अधिकारी पौडलले भने।
उनले भन्सार ऐनको क्षेत्रअधिकार अनुसार ‘नेटर्वक’ खोजीसम्बन्धी प्रष्ट व्यवस्था नभएकोले घटनाको विस्तृत अनुसन्धानमा जान नसकिएको बताए। विस्तृत अनुसन्धान गरेर ‘नेटर्वक’ को जालो तोड्न नसक्दा मैत्रीपूर्ण सम्बन्धका लागि संचालन गरिएको बसमा अपराध थप मौलाउँदै जानेमा सरोकारावालाहरुको चिन्ता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।