निरुताले रुँदै भनिन् : घिनलाग्दो माहोल देखेर नेपाली फिल्मबाट भागेँ [अन्तर्वार्ता]

अनिल यादव  | २०७६ कार्तिक २७ बुधबार | Wednesday, November 13, 2019 १६:३९:०० मा प्रकाशित

एक समय थियो जतिबेला अभिनेत्री निरुता सिंहलाई फिल्ममा लिन निर्माताहरूको लाइन लाग्थ्यो। निरुताको नाममै वितरकहरू फिल्म किन्थे। सन् १९९४ देखि करिब १ दशक निरुताले नेपाली फिल्म क्षेत्रमा आफूलाई ‘लिडिङ लेडी’का रुपमा उभ्याइरहिन्। 

पहिलो फिल्म गर्नासाथ फिल्म क्षेत्रमा उनको माग यसरी बढ्यो कि पछाडि फर्केर हेर्नै परेन। यसरी नाम र दाम दुवै कमाइरहेकै बेला निरुताले एक्कासि फिल्म जगत र दर्शक सबैलाई अचम्मित पार्ने गरी कठोर निर्णय गरिन्, फिल्म क्षेत्रबाट टाढा हुने। सन् २००८ को अन्त्यतिर नेपाल छाडेर मुम्बई बस्ने निर्णय गरिन्। क्यामेराबाट टाढा हुनु पक्कै उनलाई सहज थिएन। धेरै तड्पिइन्, रोइन् फिल्म सम्झिएर, सुटिङ सेट मिस गरेर। 

केही दिनअघि वीरगन्जमा आयोजना भएको नेपाल चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुन उनी मुम्बईबाट नेपाल आइपुगेकी थिइन्।

वीरगन्जकै दियालो होटलमा उनको बसोबास थियो। नेपाल लाइभकर्मी उनलाई भेट्न उनी बसेकै होटल पुगेका थिए। नेपाली फिल्मसँग टाढिँदाको पल सम्झिएर निरुताका आँखाबाट आँसु झरेका थिए। प्रस्तुत छ उनीसँग गरिएको कुराकानी:  

वीरगन्ज बसाइ कस्तो भइरहेको छ?
एकदम रमाइलो। १५ वर्षअघि ‘कभ होइ मिलनवा हमार’को सुटिङमा आएकी थिएँ। त्यसैले पनि एक खालको सेन्टिमेन्ट जोडिएको थियो, यो ठाउँसँग। किशोर राणाले निर्देशन गर्नुभएको थियो। रवि किसन हिरो हुनुहुन्थ्यो। 

भनेपछि त्यो दिन सम्झेर अहिले ‘नोस्टाल्जिक’ भइयो?
हो नि। त्यतिबेला त नेपाली कलाकार कोही चिन्दैन पनि थिएँ, यता। जे होस्, वीरगन्जको यो दुई-तीन दिनको बसाइले थोरबहुत नेपाली कलाकारलाई चिनाउन मद्दत पुर्‍याइरहेजस्तो लागेको छ। यो खुसीकै कुरा हो। 

मधेशमा नेपाली फिल्मको अवस्था हिजो जस्तो थियो, आज पनि त्यस्तै छ। किन यहाँका दर्शकले नेपाली फिल्म हेर्दैनन्? वीरगन्जलाई नै उदाहरण मानौं, किन यहाँ भोजपुरी र बलिउड फिल्मको मात्रै पोस्टर टाँसिन्छ? नेपाली फिल्मले किन यहाँ स्थान पाउन सकेन?
सायद हाम्रो पनि कमजोर हुनसक्छ, हामीले पहिल्यैदेखि मधेसलाई प्राथमिकतामा राखेनौं। सुरुमै कन्फर्म गर्‍यौं, यहाँ–यहाँ नेपाली फिल्म चल्छ, यहाँ–यहाँ चल्दैन। अनि, जहाँ–जहाँ चल्दैन भन्ने लाग्यो, त्यहाँ–त्यहाँ त किन चल्दैन त्यसको जवाफ खोज्न चाहेनाैं। जे होस्, ढिलै पनि यति धेरै फिल्मकर्मीलाई उपस्थित गराएर निर्माता आकाश अधिकारीज्यूले यहाँ चलचित्र महोत्सव गर्ने जमर्को गर्नुभयो। यसले मधेसमा नेपाली फिल्मको अवस्था सुधार्नलाई थोरै भएपनि भूमिका खेल्ला भन्ने मलाई आशा छ। तर, एकैपल्ट पूरै सुधार त हुन्न यसका लागि निरन्तर यस्ता कार्यक्रम भइरहनुपर्छ भन्ने लाग्छ। 

जुन समयमा मैले इन्डस्ट्री छाडें, त्यो समयमा इन्डस्ट्रीको अवस्था एकदमै नराम्रो थियो। जस्तो मान्छे पनि दुई दिन सुटिङ हेरेको भरमा डाइरेक्टर। केही नगरेको, केही नजानेको मान्छे पनि रमाइलो र मस्तीका लागि मात्रै फिल्म बनाउँथे।

अब मुम्बईको कुरा गरौं। अहिले त्यहाँ के गरिरहनुभएको छ?
म मुम्बईमा अहिले साथीको फिल्म प्रोडक्सन हाउसमा सल्लाहकारका रुपमा काम गर्दैछु। लोप हुँदै गरेको हनुमानचालिसा संस्कारमाथि एउटा १० मिनेटको गीत तयार भएको छ। मलाई त्यसको निर्देशन अफर आएको छ। हुन त निर्देशन भनेको मजाक होइन। निर्देशन गर्ने मेरो औकात पनि छैन। तर, त्यो विषय मलाई मन परेकोले मैले कोसिस गरौं न त भनेर प्रस्ताव स्वीकार गरेको छु। हेरौं कस्तो हुन्छ। 

ओहो, अब निर्देशक भइँदैछ?
(मुस्कुराउँदै) हो नि। 

कहिले हुँदैछ त गीतको सुटिङ?
वान लाइन स्टोरी तयार गरिसकेको छु। अब नेपालबाट फर्केर गएपछि गर्छु। 

एक दशक बढी भइसक्यो तपाईंको मुम्बई बसाई। त्यहाँबाट नेपाली फिल्मलाई कसरी हेर्दै हुनुहुन्छ?
नेपाली फिल्म इन्डस्ट्री भनेको मेरो पहिचान हो। मलाई बनाएकै नेपाली दर्शकले हुन्, यहाँको इन्डस्ट्रीले हो।

नेपाली फिल्मसँग मेरो जुन सेन्टिमेन्ट जोडिएको छ, त्यो निकै गहिरो छ। संसारको जुनसुकै कुनामा पुगेपनि, जुनसुकै उद्योगमा पुगेपनि मलाई चिन्ने नेपालकै हिरोइन भनेर हो।

जतिबेला म यहाँ काम गर्थेँ त्यतिबेला धेरै चलचित्र १६ एमएममा खिचिन्थ्यो। सुपर सिक्सटिनमा पनि खिचिन्थ्यो तर एकदमै कम। सिनेमास्कोप प्रविधिबाट त आकलझुकलमात्रै फिल्म बन्थ्यो। ‘वान्स इन अ ब्लुमुन’ भनेजस्तै। त्यस्तोमा क्वालिटी पनि भयंकर आँउदैनथ्यो। फिल्म पनि सानो बजेटमा बनाइन्थ्यो। त्यही ३०–४० लाख। ६० लाखभन्दा बढी लाग्यो भने त्यो त ‘ओभर बजेट’को फिल्म हुन्थ्यो। त्यो समयबाट सुरु भएको हो मेरा फिल्म करिअर। आज त प्रविधिको धेरै नै विकास भइसक्यो। सबै डिजिटलाइज्ड भइसक्यो। आज मुम्बई बसेर यो सब देख्दा निकै गर्व महसुस हुन्छ। किनभने यो नेपाली फिल्म इन्डस्ट्री भनेको मेरो घर जस्तै हो, मेरो जिन्दगी हो, मेरो सबथोक हो। 

मलाई मेरो स्तर गिराउनु थिएन। त्यसैले मैले एउटा राम्रो उचाईमै भएको बेला इन्डस्ट्री छाड्ने निर्णय गरेँ। 

कहिलेकाहीँ त लाग्दो हो- यो जिन्दगी (नेपाली फिल्म)लाई बीचबाटोमा त्यसरी नछाडेको भए हुन्थ्यो?
जुन समयमा मैले छाडे, त्यो सही समय थियो। त्यो समयलाई मलाई छाड्न जरुरी थियो।

सधैंभरि नै हुनुपर्छ भन्ने पनि त थिएन। नयाँ-नयाँ पुस्ता पनि त आउनुपर्छ। जुन समयमा मैले इन्डस्ट्री छाडें, त्यो समयमा इन्डस्ट्रीको अवस्था एकदमै नराम्रो थियो। जस्तो मान्छे पनि दुई दिन सुटिङ हेरेको भरमा डाइरेक्टर। केही नगरेको, केही नजानेको मान्छे पनि रमाइलो र मस्तीका लागि मात्रै फिल्म बनाउँथे। माहोल नै त्यस्तो बनिसकेको थियो। त्यो देख्दा मलाई अति नै दुःख लाग्थ्यो।

मलाई दर्शकले एकदमै धेरै माया दिएर एउटा उचाईमा पुर्‍याउनुभएको थियो र मैले त्यो माहोलमा काम गर्नु भनेको त्यो उचाईलाई तल झार्नुजस्तो मात्रै हुन्थ्यो। मलाई मेरो स्तर गिराउनु थिएन। त्यसैले मैले एउटा राम्रो उचाईमै भएको बेला इन्डस्ट्री छाड्ने निर्णय गरेँ। 

तर त्यसपछि तपाईंलाई प्रेम गर्ने नेपाली दर्शकले त मिस गरे नि...।
मैले पनि कति मिस गरेँ, गरेँ। एउटा पल थिएन होला, मैले नेपाली फिल्म र मेरा दर्शकलाई मिस नगरेको।

मैले त्यो माहोलमा त्यतिबेला जस्तो पाएँ त्यस्तै फिल्ममा काम गरेको भए मलाई तिनै माया गर्ने दर्शकले ‘किन यस्तो फिल्म गरेको’ भनेर गाली गर्नुहुन्थ्यो। मैले त्यो माहोललाई बुझेर छाडे र त आज पनि दर्शकले मलाई उति नै प्रेम गर्छन्। 

यसको मतलब- झुर फिल्म गर्नु नपरोस् भनेर तपाईंले त्यतिबेला नेपाली फिल्म क्षेत्रलाई छाड्नुभएको थियो?
झुर फिल्म होइन, झुर माहोल नै। 

ठ्याक्कै त्यस्तो कुनै घटना या पल छ, जसले तपाईंलाई अब म यो इन्डस्ट्रीमा काम गर्नु हुँदैन भन्ने महशुस गरायो?
मैले एक दिनमा गरेको निर्णय थिएन त्यो। काम गर्दै जाँदा कति कुरा चित्त बुझ्दैन थियो, त्यही पनि गर्थेँ। तर, माहोल झुर हुँदै गएको फिल हुन्थ्यो। दिनानुदिन इन्डस्ट्रीको त्यो माहोलले कामप्रति वितृष्णा जाग्दै गयो। त्यसपछि म मानसिक रुपमा तयार भएँ- अब मैले फिल्मबाट ब्रेक लाउनैपर्छ। मलाई लाग्यो- अब पनि मैले ब्रेक लगाइनँ भने म सबै दर्शकका नजरमा गिर्ने समय आउँछ।

इन्डस्ट्री छाड्ने अन्तिम निर्णय गरेको पल याद छ?
खासमा मलाई सन् २००६ देखि नै अब ब्रेक लाउनुपर्छ भन्ने लाग्न थालेको थियो। तर, कतिपय फिल्मका सुटिङ बाँकी थिए, त्यसैले छोड्न सक्ने अवस्था थिएन। २००८ मा आइपुग्दाचाँहि म मानसिक रुपमा फिल्म क्षेत्र छोड्न तयार भएँ। त्यसैले २००८ को डिसेम्बर २८ मा मैले नेपाल छाडेर मुम्बई गएँ। 

झुर माहोलका कारणले नेपाली फिल्म छाडे पनि अब बलिउडमा गएर ‘ट्राइ गरौं’ भन्ने भएन? कि प्रयास गर्दा पनि असफल भइयो?
हेर्नुस्, बलिउड सानो इन्डस्ट्री होइन। त्यहाँ काम पाउन सजिलो छैन। त्यहाँ स्थापित कलाकारले पनि संघर्ष गरिरहेको हुन्छ। एउटा फिल्म पाइसकेको मान्छेसँग अर्को फिल्म पाउने ग्यारेन्टी हुन्न। हरेक दिन उनीहरू त्यहाँ अडिसन दिइरहेका हुन्छन्। ठूल्ठूला कलाकारको अवस्था पनि त्यहाँ त्यस्तै हो। र, त्यस्तो अवस्थामा म नेपाली फिल्ममा 'लिडिङ लेडी' भनेर काम गरिसकेको मान्छे त्यहाँ संघर्षरत कलाकारजस्तै अडिसन दिँदै फिल्म माग्न गएँ भन्ने पक्कै त्यो शोभनीय हुन्थ्यो भन्ने मलाई लागेन। मेरा दर्शकले त्यो स्वीकार्लान् भन्ने मलाई लागेन। त्यहाँ पनि ‘नेपालमा यत्रो फिल्म गरिसकेको हिरोइन अडिसन दिन आएको थियो’ भन्दै उडाइन्थ्यो। मलाई त्यसरी मेरो लेभल गिराउनु नै थिएन। 

भनेपछि ‘ट्राइ’ नै गर्नुभएन?
मैले त्यसरी अडिसन दिएर कहिल्यै प्रयास गरिनँ। बरु नेपाली फिल्मको स्थापित हिरोइनकै रुपमा धेरैजनासँग भेट हुन्थ्यो। सिनेमाटोग्राफर विनोद प्रधान दादाले ‘मैले फलानोसँग कुरा गर्देको छु, भेट है’ भन्नुहुन्थ्यो। त्यसरी त्यहाँका ठूल्ठूला फिल्मकर्मीसँग भेटियो तर अडिसन दिँदै फिल्म माग्न गइएन। 

यति सानो ठाउँमा एटिट्युड कसलाई देखाउने? किन देखाउने? बरु यसको साटो आफूलाई कामले पुष्टि गर न, हुँदैन? जब तिमी आफ्नो काम इमान्दारसाथ गर्छौ, मान्छेहरू त्यसै तिम्रो पछाडि तिम्रो जयजयकार गर्दै आउन थाल्छन्। तर ‘मै हुँ’ भन्न थाल्यौ भने तिम्रो आयु छोटिने पक्का छ। 

तपाईंका लागि सफलता भनेको हो?
मैले जिन्दगीमा कहिल्यै सोचेको थिइनँ, कुनैबेला एकदमै सफल हुन्छु भनेर। पहिलो फिल्म ‘दक्षिणा’ काम गर्दा, अभिनय मेरो रहरमात्रै थियो। यसैलाई पेसा बनाउँछु भन्ने त मलाई लागेकै थिएन। त्यसरी काम गर्दै जाँदा एकपछि अर्को गर्दै मलाई फिल्मको ओइरो लाग्न थाल्यो। मलाई थाहा पनि थिएन, मैले कसरी फिल्म पाइरहेको छु, मैले कसरी काम पाइरहेको छु भन्ने। यद्यपि, म कामप्रति पूरै समर्पित थिएँ, अनुशासित थिएँ। त्यसैले म के भन्छु भने यदि तपाईं सफल हुन चाहनुहुन्छ भने कामप्रति पूर्ण समर्पित र अनुशासित हुन एकदमै जरुरी छ। जुन कामले तपाईंलाई नाम दिन्छ, त्यो कामलाई तपाईंले जबसम्म सम्मान गर्न जान्नुहुन्न, तबसम्म सफलता भन्ने कुरा त सोच्दै नसोचे हुन्छ। सटकर्ट बाटो खोज्नेहरू कहिल्यै सफल हुन सक्दैनन्। म कहिल्यै सफलताको पछाडि दौडिनँ। मात्रै कामप्रति समर्पित भएँ। ६ बजे सुटिङ हुन्थ्यो भने बिहान ५ बजे नै उठेर तयार हुन्थेँ। एक मिनेट पनि ढिलो गर्न मन लाग्दैनथ्यो।

फेरि पनि भन्छु, मबाट नेपालप्रतिको भावना ‘तँ इन्डियन, तँ धोती’ भन्दैमा कसैले खोस्न सक्दैन। 

तपाईंले जीवनमा सफलता/असफलता दुवै महशुस गर्नुभएको छ। चर्चाको एउटा उचाईमा पुगेको मान्छेलाई पछि फेरि जमिनमा झरेर सामान्य जीवन जिउनुपर्दा कस्तो हुने रहेछ?
पक्कै पनि सहज हुँदैन। किनभने भने एउटा आदत बसिसकेको हुन्छ। तर त्योभन्दा पनि अकाट्य सत्य के हो भने हर कुरालाई स्वीकार गर्न सिक्नुपर्छ। म आउनुभन्दा अघिका अग्रज पनि सधैंभरि रहेनन्, म पनि रहिनँ र म पछिका पनि रहने छैनन्। किनभने सबको एउटा समय हुन्छ। समयभन्दा बलवान अरु केही पनि हुँदैन। जुन बेला मेरो समय थियो, त्यो बेला मैले भरपुर काम गरेँ, त्यही हिसाबले नाम पाएँ, माया पाएँ। अहिले त्यसैगरी नयाँ पुस्ताहरू आइरहेका छन्, त्यही हिसाबले मायाप्रेम पाइरहेका छन्, यसमा मैले डाह गर्नुको कुनै अर्थ हुन्न। म त भन्छु, जीवनमा गुनासो नगर्नुस्, कहिल्यै दुःखी हुनुपर्दैन। तपाईंसँग जे छ, तपाईं जस्तो अवस्थामा हुनुहुन्छ, त्यसलाई स्वीकार्न सिक्नुस्, यही नै जीवनको सबैभन्दा ठूलो सत्य हो। स्वीकार्न जान्नुभयो भने जीवनमा हरकुरा सजिला हुन्छ। 

(निरुताको बोली एक्कासी अड्कियो। एक मिनेट नि:शब्द भइन्। आँखाबाट बरर आँसु झर्‍यो। चस्मा निकाल्दै आँसु पुछिन्। त्यसपछि भावुक हुँदै अड्किएकै बोलीमा उनले त्यो पल सम्झिइन्)

यहाँ त एउटा फिल्म, एउटा म्यूजिक भिडियो पाउँदैमा ‘म स्टार, म सुपरस्टार’ भन्नेहरूको संख्या कम छैन। त्यस्तो प्रवृत्ति पछ्याउनेहरुलाई के छ तपाईंको सुझाव?
म उनीहरुलाई के भन्न चाहन्छु भने यहाँ एउटा निर्माताले लाखौं रकम लगाएर फिल्म बनाइरहेको छ जसका कारण फिल्ममा काम गर्ने सयौं मान्छेको घरको चुल्हो जल्छ। जुन निर्माताको लागि तिमी काम गर्छौ, त्यो कामप्रति तिमी इमान्दार हौ। यति सानो ठाउँमा एटिट्युड कसलाई देखाउने? किन देखाउने? बरु यसको साटो आफूलाई कामले पुष्टि गर न, हुँदैन? जब तिमी आफ्नो काम इमान्दारसाथ गर्छौ, मान्छेहरू त्यसै तिम्रो पछाडि तिम्रो जयजयकार गर्दै आउन थाल्छन्। तर ‘मै हुँ’ भन्न थाल्यौ भने तिम्रो आयु छोटिने पक्का छ। 

मुम्बई पुगेपछि क्यामेरा त खुब मिस भयो होला है?
अहिले पनि हुन्छ। कुनै पल, कुनै दिन छैन मैले क्यामेरा मिस नगरेको। क्यामेराअगाडि उभिनेवित्तिकै आउने त्यो नाट्यश्वरको तागद त म व्याख्या नै गर्न सक्दिनँ। 

छोडेको सुरुसुरुमा त क्यामेरा सम्झिएर रोइयो पनि होला?
म हरेक फिल्मको सुटिङमा जाँदा ह्यान्डिक्याम क्यामेरासहित पुगेको हुन्थे। ‘बिहाइन्ड दि सिन’ अर्थात् सुटिङ बाहिरका रमाइला क्षणहरु म त्यो क्यामेरामा कैद गर्थें। मलाई थाहा थियो– मलाई यो इन्डस्ट्रीबाट कुनै न कुनै दिन टाढा हुनु नै छ। र, त्यही टाढा भएपछि मलाई यी रमाइला पलहरू सम्झना हुन्छन् भन्ने ठानेर म त्यो क्यामेरामा कैद गर्थें। अहिले मुम्बईमा हामी सबै परिवार सँगै भएर मेरा ति पलहरू हेर्छौं। खुब रमाइलो लाग्छ। हाँस्छु पनि, रुन्छु पनि। 

आज पनि जब म त्यो पल सम्झिन्छु, मेरो आँखाबाट आँसु झरिहाल्छ। यत्रो वर्ष म यो ठाउँमा बसेँ, यो ठाउँले मलाई यत्रो नाम दियो, निरुता सिंह भनेर संसारभर चिनायो, प्लेन टेकअफ भएपछि काठमाडौंलाई हेर्दा जब मलाई म यही ठाउँ छोडेर जाँदैछु भन्ने फिल भयो आँखाबाट ननस्टप आँसु झरेको थियो।

अब फिल्म गर्दिनँ भनेर काठमाडौं छाड्दै गरेको पल याद छ? पक्कै सहज थिएन होला!
(एकछिन सोचमग्न भइन्) अँ, त्यो दिन जब एयरपोर्ट पुगेँ, प्लेन चढेँ र जब त्यो प्लेन टेकअफ भयो र प्लेनको सानो झ्यालबाट मुनि काठमाडौंलाई हेरेँ, म......।)

(निरुताको बोली एक्कासी अड्कियो। एक मिनेट नि:शब्द भइन्। आँखाबाट बरर आँसु झर्‍यो। चस्मा निकाल्दै आँसु पुछिन्। त्यसपछि भावुक हुँदै अड्किएकै बोलीमा उनले त्यो पल सम्झिइन्)

आज पनि जब म त्यो पल सम्झिन्छु, मेरो आँखाबाट आँसु झरिहाल्छ। यत्रो वर्ष म यो ठाउँमा बसेँ, यो ठाउँले मलाई यत्रो नाम दियो, निरुता सिंह भनेर संसारभर चिनायो, प्लेन टेकअफ भएपछि काठमाडौंलाई हेर्दा जब मलाई म यही ठाउँ छोडेर जाँदैछु भन्ने फिल भयो आँखाबाट ननस्टप आँसु झरेको थियो।

हिरोहरू नयाँनयाँ हिरोइनसँग काम गरिरहन्छन् तर हिरोइनहरूलाई एउटा निश्चित समय आएपछि ‘फुलस्टप’ लगाइदिन्छन्। अडियन्सहरूले मनपराउँदा मनपराउँदै पनि फुलस्टप लगाइदिन्छन्। 

म दिल्ली पुग्दासम्म लगातार रोएको थिएँ। जबजब म त्यो पल सम्झिन्छु नि मलाई यस्तै फिल हुन्छ। त्यसपछि जतिखेर पनि म काठमाडौंमा म पाइला टेक्छु, सबैभन्दा सुरुमा यहाँ धर्तीको ढोग्छु। किनभने यहाँको धर्ती टेक्नासाथ मलाई भित्रैबाट ‘यो हो मेरो ठाउँ’ भन्ने महसुस हुन्छ। मलाई यस्तो महसुस दार्जिलिङ जाँदा पनि हुँदैन, मेरो घर जाँदा पनि हुँदैन। मबाट मेरो यो भावना न कसैले मलाई धोती भनेर अलग्याउन सक्छ, न कसैले ‘तँ प्रवासी होस्’ भनेर छुट्याउन सक्छ। 

(फेरि निरुताको आँखाबाट उसैगरी आँसु झर्‍यो। रोइरहेकै स्वरमा उनी बोलिरहिन्)

म हिजो पनि यही ठाउँको हो, आज पनि यही ठाउँको हो र यो हक मबाट कसैले खोस्न सक्दैन। जबजब जहाँजहाँ नेपाली राष्ट्रिय गान बज्छ नि मेरो भक्कानो छुट्छ, अचानक आँखाबाट आँसु झर्छ। अस्ति महोत्सव उद्घाटनका दिन पनि त्यस्तै भयो। फेरि पनि भन्छु, मबाट नेपालप्रतिको भावना ‘तँ इन्डियन, तँ धोती’ भन्दैमा कसैले खोस्न सक्दैन। 

तपाईंसँगै काम गरेका अभिनेताहरु राजेश हमाल, भुवन केसी, रमेश उप्रेतीहरू अझै फिल्म इन्डस्ट्रीमै छन्। तर हिरोइनका मामिलामा दृश्य अलि फरक छ। तपाई र तपाईंसँगै आएका विपना थापा, जल शाहहरू अहिले फिल्म क्षेत्रको पाहुना हुनुभएको छ। सधैं हिरोइन नै किन हराउँछन्? किन हिरोइनको आयु सधैं छोटो हुन्छ?
यो अवस्था खासगरी नेपाल र भारतमा छ। हलिउडमा त ५० वर्ष पुगेपछि पनि हिरोइनहरुले क्यारेक्टरका रुपमा लिड रोलमा काम गरिरहेकै छन्। हाम्रो हर कुरा बलिउडको कपी हुने भएर होला, उतैको अवस्था पछ्याइरहेका छौं। त्यहाँ पनि हिरोइनको आयु त्यही ६–७ वर्षसम्म हो। 

दृश्य यस्तो हुँदा मन दुख्दो हो है?
अँ, फिलचाँहि हुन्छ। तर चलिआएको परम्परा स्वीकार त गर्नैपर्छ। हिरोहरू नयाँनयाँ हिरोइनसँग काम गरिरहन्छन् तर हिरोइनहरूलाई एउटा निश्चित समय आएपछि ‘फुलस्टप’ लगाइदिन्छन्। अडियन्सहरूले मनपराउँदा मनपराउँदै पनि फुलस्टप लगाइदिन्छन्। 

जस्तो हालसालकै कुरा गरौं। तपाईं लामो समयपछि नेपाली फिल्ममा कमब्याक हुँदा ‘दालभात तरकारी’मा हरिवंशको जोडी बनेर फिल्म खेल्नुभयो। तर, कुनैबेला तपाईंकै समयका भुवन केसी, रमेश उप्रेतीहरु आज जवान हिरोइनसँग जोडी बाँधिरहेका छन्। चित्त दुख्दैन?
के गर्ने यहाँको चलन नै यस्तै छ। यसलाई स्वीकार्नुको विकल्प छैन। 

त्यतिबेला यो सब चिज देखेर पनि मलाई घिनलाग्न थालेको थियो। किनकि यो इन्डस्ट्री भनेको हाम्रो मन्दिर हो। यस्तो पवित्र ठाउँमा आएर यसलाई मजाकका रुपमा लिएर मनोरञ्जनको अखडा बनाउन थालियो। दुइचार मान्छेहरू यसमा सक्रिय भए। फिल्म क्षेत्रमा लागेपछि हिरोइन च्याप्न पाइन्छ भन्ने मानसिकता हावी हुन थाल्यो। र, मैले फिल्म क्षेत्र छाड्नुको मुख्य कारण पनि यही नै हो। 

तपाईं दर्जनौं फिल्ममा काम गर्नुभयो। ती मध्ये आफैंले दोर्‍याइतेर्‍याइ फिल्म कुन हो?
आफ्नो फिल्म म कमै हेर्छु। त्यही पनि भन्नुपर्दा मलाई मेरो पहिलो फिल्म भएको भएर होला ‘दक्षिणा’ विशेष लाग्छ। तर मैले ‘दक्षिणा’देखि आज ‘दाल भात तरकारी’सम्म आइपुग्दा एकदमै धेरै फिल्ममा काम गरिसक्दा पनि मैले सधैं मेरो काममा गल्तीमात्रै देखेँ। 

आफ्नो समीक्षा आफैं गर्नुपर्दा आफू कस्ती अभिनेत्री थिएँ या हुँ भन्ने लाग्छ?
आफ्नो अभिनय देखेर मलाई लाज लाग्छ। भगवान मान्छेले मलाई कसरी फिल्ममा काम दिएको भन्ने लाग्छ। मैले यो के गरेको होला भन्ने लाग्छ। मान्छेहरूले कसरी हेर्न सक्छन् भन्ने लाग्थ्यो। आजसम्म पनि म मेरो अभिनयबाट कहिल्यै सन्तुष्ट भइनँ। भगवान, मैले सिक्न अझै बाँकी रहेछ। म त नसिकी मर्छु होला भन्ने लाग्थ्यो। 

जतिबेला तपाई नेपाली फिल्ममा चम्किनुभएको थियो त्यतिबेला हिरोइनको परम्परागत मानसिकता नै हावी थियो। हिरोइन भनेपछि मिलेको जिउडाल, सुन्दर मुहार अनि अग्लो शरीर हुनुपर्छ भन्ने मान्यता थियो। तर त्यो मान्यतामा तपाईं ठ्याक्कै मेल खानुहुन्थेन। हाइट होचो थियो। तैपनि इन्डस्ट्री खाइदिनुभयो है?
हन्ड्रेट एन्ड टेन पर्सेन्ट सही कुरा गर्नुभयो। म आफैं भन्थेँ, मलाई कसरी हिरोइन लिएको होला। ऐना हेर्थेँ अनि आफैं छक्क हेर्थे– न अनुहार छ, न हाइट छ, न अभिनय, कसरी म हिरोइन? 

हलिउड/बलिउडमा अभिनेत्रीहरूले आफूविरुद्ध भएको यौन दुर्व्यवहारको फेहरिस्त खुलेर सार्वजनिक गरिरहेका छन्। त्यहाँ मिटु मुभमेन्टले ठूलो रुप लियो तर नेपाली फिल्म क्षेत्रमा यो विषयमा मौन देखियो। तपाईंको पुरानो अनुभवमा फिल्म क्षेत्र दुर्व्यवहारबाट चोखो भएर हो?
मैले इन्डस्ट्री छोड्नुको एउटा कारण यो पनि हो। त्यतिबेला यो सब चिज देखेर पनि मलाई घिनलाग्न थालेको थियो। किनकि यो इन्डस्ट्री भनेको हाम्रो मन्दिर हो। यस्तो पवित्र ठाउँमा आएर यसलाई मजाकका रुपमा लिएर मनोरञ्जनको अखडा बनाउन थालियो। दुइचार मान्छेहरू यसमा सक्रिय भए। फिल्म क्षेत्रमा लागेपछि हिरोइन च्याप्न पाइन्छ भन्ने मानसिकता हावी हुन थाल्यो। र, मैले फिल्म क्षेत्र छाड्नुको मुख्य कारण पनि यही नै हो। 

झन् तपाईंको समयमा त कोही परिवार आफ्ना सन्तानलाई सहजै फिल्म क्षेत्रमा प्रवेश गराउँदैन थिए, हैन र?
हो नि। मेरो बाबाले त हिन्दी म्यागाजिनहरू पनि पढ्न दिनुहुन्थेन। लुकाएर पढ्नुपर्थ्यो। बदनाम थियो फिल्म क्षेत्र। त्यसैले यो मिटु मुभमेन्टमा बलिउडबाट सबैभन्दा सुरुमा बोल्ने हिरोइन तनुश्रीलाई त सलाम गर्छु। उसले टर्चर खेपेपछि इन्डस्ट्री छोड्यो तर आफूलाई बिक्न दिएन। इन्डस्ट्रीको कर्तुत बाहिर ल्याएर जसरी उनले बलिउडमा धेरैलाई सजाय हुन वातावरण सिर्जना गरिन्, त्यो सलामयोग्य छ। 

तपाईंमाथि कहिल्यै दुर्व्यवहारको प्रयास भएन?
मसँग सिधै त्यसरी आउने हिम्मत कसैले गरेन। किनभने म पहिलो फिल्म गर्नेवित्तिकै नोटिस्ड भएँ। लगातार फिल्म पाउन थालेँ। व्यस्त भएँ। यहाँ म आउनुभन्दाअघिसम्म हिरोको नामले फिल्म चल्थ्यो। म फस्ट हिरोइन थिएँ जसका कारण वितरकले फिल्म किन्थ्यो। त्यो स्थान मैले आफ्नै बलबुता र मिहनेतले बनाएको थिएँ। धेरैले फलानो प्रोड्युसरलाई कल गर्नुस्, फिल्म खेलाउने कुरा छ भनेर कुरा पनि आउँथ्यो। मैले कहिल्यै पनि उनीहरूलाई कलब्याक गरिनँ। चाहिएको हो भने आफै भेट्न आउँछन् भन्थे म। यस्तो अडान राखेका कारण मैले दुर्व्यवहारको सामना मैले कहिल्यै गर्नुपरेन। 

अन्त्यमा उही सबैले सोध्ने प्रश्न- बिहे नगर्ने हो?
(मुस्कुराउँदै) गर्ने भनेको जुरेकै छैन। यो जन्म, मृत्यु र बिहे माथिबाटै लेखेर आएको हुन्छ। भगवानले मलाई बिहे नजुराइदिएकै हो कि! जुराएको छ भने पक्कै हुन्छ। 

(तस्बिरहरूः कुशल राई)