काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनलाई सरकारको ‘मध्यावधि मूल्यांकन’ का रुपमा अर्थ्याएको छ।
पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनतर्फ केन्द्रित गरेको कांग्रेसले उपनिर्वाचन कांग्रेस र कम्युनिस्ट बीचको प्रतिस्पर्धा मात्र नभएको जनाएको छ। सरकारको ‘कार्यक्षमता र असफलता’को परिणाम उपनिर्वाचनमार्फत देखिने कांग्रेसको दाबी छ। नेकपा सरकारलाई मूल्यांकन गर्ने ‘मिनी जनमत संग्रह’ आसन्न उपनिर्वाचन हुने कांग्रेसको निष्कर्ष छ।
कात्तिक २१ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मनोनयनपश्चात् कांग्रेसको शीर्ष नेतासहित पदाधिकारी बैठक चार दिनअघि बसेको थियो। उक्त बैठकले ‘एकता र उत्साह साथ विजय अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने’ निर्णय गरेको थियो।
उम्मेदवारी दर्ताका क्रममा शीर्ष नेताहरुलाई सम्बन्धित जिल्लामा खटाइएको थियो। सर्वाधिक चर्चामा रहेको कास्की २ मा उपसभापति विमलेन्द्र निधि उम्मेदवारी दर्ताका क्रममा खटिएका थिए। भक्तपुर १ ‘क’ मा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा मनोनयन दर्ताका लागि खटिएका थिए। दाङ ३ ‘ख’मा केन्द्रीय सदस्य दीपक गिरीले उम्मेदवारी दर्ताको क्रममा नेतृत्व गरेका थिए।
स्थानीय तहका लागि उम्मेदवार दर्ता बुधबार तोकिएको थियो। कांग्रेसले विशेष महत्वमा राखेको धरान उपमहानगरपालिकामा उपसभापति विजय गच्छदार सहितको जुलुस उम्मेदवारी दर्ताका लागि पुगेको थियो। धरानमा गच्छदारसहित केन्द्रीय सदस्य मीन विश्वकर्मा र धनराज गुरुङ सहभागी भए।
कास्की २ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसले खेमराज पौडेललाई प्रत्यासी बनाएको छ। तीन प्रदेशसभा सदस्यमा बागलुङ २ को ‘ख’ मा जित शेरचन, दाङ ३ को ‘ख’ मा केशव आचार्य र भक्तपुर १ ‘क’ मा कृष्ण भँडेल उम्मेदवार बनेका छन्। धरान उपमहानगरपालिकाको मेयरमा तिलक राई उम्मेदवार बनेका छन्।
प्रचारप्रसारका लागि केन्द्रीय नेता तथा भ्रातृ संस्थालाई सम्बन्धित क्षेत्रमा खटाउने बताइएको छ। त्यसै अन्तर्गत तरुण दलले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा ‘कांग्रेस उम्मेदवार जिताऔं’ अभियान जारी राखको छ। उपनिर्वाचन हुने क्षेत्रहरुमा चुनावी सभा गरिने भएको छ। चुनावी सभामा केन्द्रीय नेताहरु वक्ता बन्ने छन्।
उपनिर्वाचन सरकार, विपक्षी दल र जनतालाई हुने अवसरका विषयमा कांग्रेसले आफ्नो औपचारिक धारणा सार्वजनिक समेत गर्ने भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘उपनिर्वाचनको र महत्व र कांग्रेसले उठाउने मुद्दाहरु सार्वजनिक गरिने छ।’
उपनिर्वाचनलाई कांग्रेस र कम्युनिस्टले जित्ने चुनावका रुपमा नबुझ्न नेताहरुले आग्रह गरेका छन्। कास्की २ बाट कांग्रेसको उम्मेदवारको आकांक्षी रहेर टिकटबाट बन्चित स्थानीय नेता देवराज चालिसेले भने, ‘यो चुनाव सरकार विरुद्ध जनता हो। यसलाई पार्टीको हिसाबले हेर्नु हुँदैन। सरकारलाई चेतावनी दिने चुनाव हो।’
सरकार बदल्ने निर्वाचन नभई सरकारको मूल्यांकन गर्ने उपयुक्त समय उपनिर्वाचन भएको केन्द्रीय सदस्य धनराज गुरुङले बताए। धरानमा कांग्रेस उम्मेदवारको मनोनयन दर्ताका लागि पुगेका गुरुङले जनतामा वर्तमान सरकारप्रति चरम अविश्वास रहेको बताए। उम्मेदवारी दर्ताका क्रममा उत्साहप्रद जनताको सहभागिता रहेको उनले दाबी गरे।
‘वर्तमान सरकारले जनअपेक्षा अनुरुप कार्य गरेको छैन।’ चालिसे भन्छन्, ‘आफ्नै पार्टीलाई सचेत बनाउन पनि नेकपाका मतदाताले कांग्रेसलाई मत दिनुपर्छ।’ नेकपालाई सच्चिन दबाब दिन मतदातालाई उचित समय रहेको कांग्रेसको बुझाइ छ।
भ्रष्टाचारलाई वर्तमान सरकारले संस्थागत गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ। उपनिर्वाचनमा उक्त मुद्दालाई चर्काउने कांग्रेसको तयारी छ। सरकारको तागत नै प्रयोग गरी ठूला भ्रष्टाचार काण्ड गरिएको कांग्रेसको बुझाइ छ।
स्थिर सरकारको एजेन्डासहित जनताको मत मागेको सत्तारुढ दलको चरित्र स्थिर सरकार जस्तो नदेखिएको कांग्रेसको मूल्यांकन छ। चुलिएको जनताको अपेक्षा सरकारले पूरा नगरेसँगै त्यसको लाभ उठाउने दाउमा कांग्रेस छ। नेकपाको समृद्धिको नाराले जनताको दैनिकीमा कुनै प्रभाव नपरेको नेता गुरुङले बताए। स्वतन्त्रताको रक्षा वर्तमान सरकार बनेदेखि नै हुन नसकेको कांग्रेस नेताहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।