राप्रपा संयुक्तको धार्मिक जागरण यात्रा सुरु

नेपाल लाइभ | २०७६ कार्तिक २८ बिहीबार | Thursday, November 14, 2019 १८:४१:०० मा प्रकाशित

जनकपुर- धर्म निरपेक्ष गणतन्त्र नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले बिहीबारदेखि धार्मिक जागरण यात्रा सुरु गरेको छ। यो यात्रा (अभियान ) मङ्सिर ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

जानकी मन्दिर प्रांगणबाट सुरु भएको जागरण यात्रा चितवनको वाल्मिकी आश्रम हुँदै गौतम बुद्ध जन्मस्थल लुम्बिनी पुगेर सकिने बताइएको छ।

जागरण यात्रा प्रारम्भ गर्न जनकपुर पुगेका केन्द्रीय अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीले विश्वको एकमात्र हिन्दुराष्ट्र रहेकाले पुनः हिन्दुराष्ट्र स्थापना गराउन जनकपुरदेखि लुम्बिनीसम्म पहिलो चरणको यात्रा सुरु गरिएको जानकारी दिए।

जागरण अभियानको शुभारम्भ गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी संयूक्तका केन्द्रीय अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीले संसारमै एक मात्र हिन्दुराष्ट्र नेपाल रहेकाले पुनः हिन्दु राष्ट्र स्थापनाका निम्ति चरणबद्ध संघर्ष गर्ने बताए।

'सनातन सर्वधर्म सापेक्ष हिन्दुराष्ट्र कायम गर' मूल नारा सहित जानकी बुद्ध रथयात्राको सुरुवात गर्दै अध्यक्ष जबराले नेपालको धर्म र संस्कृतिमाथि प्रहार गरी धर्म निरपेक्षता घोषणा गरेकाले चरणबद्ध यात्राको आरम्भ गर्न लागेको बताए। उनले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नु बाहेकको विकल्प नरहेको जिकिर गरे।

उनले कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको र सो अतिक्रणबारे वर्तमान सरकारको राष्ट्रवादी चरित्र स्पष्ट हुने बताए। राष्ट्रवादीको पहिचान बनाएको दुई तिहाइको वर्तमान सरकारले तीन तहको सरकारको डेढ बर्षको अवधिमा केवल भ्रष्टाचार बाहेक अरु कुनै क्षेत्रमा उल्लेख्नीय काम गर्न नसकेको उनको आरोप थियो।