काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनुपर्ने प्रस्ताव अघि सारेकी छन्।
नेकपाकी प्रतिनिधिसभाकी सांसद भुसालले काम गर्ने कर्मचारीलाई न्याय दिन पनि विनालिखित परीक्षा कर्मचारीहरुको बढुवा हुने कानुनी व्यवस्था गर्नुपर्ने तर्क अघि सारेकी हुन्।
बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कर्मचारीहरुलाई कामप्रति जवाफदेही बनाउन पनि कार्यक्षमताकै मूल्यांकनलाई आधार बनाएर बढुवा गर्ने व्यवस्था गर्न उपयुक्त हुने उल्लेख गरिन्।
'बिना लिखित परीक्षा कामै गरेर कर्मचारीहरुको प्रमोसन हुने व्यवस्था गर्नुपर्दछ,’ सांसद भुसालले भनिन्, ‘लिखित परीक्षा गर्दा काम नगरे पनि पढेर फष्ट हुने र काम गर्ने कर्मचारीहरु चाँही अन्याय पर्ने हुन्छ।’
सांसद भुसालले कर्मचारीहरुलाई आफ्नो कामप्रति जवाफदेही बनाउन पनि कामकै आधारमा बढुवा हुने व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारिन्।
‘काम गर्दिनँ, हाकिमलाई टेर्दिनँ, सोर्स लगाउँछु भन्नेहरु' लिखित परीक्षामा फर्स्ट हुने भन्दै उनले ती कर्मचारीकै कार्यसम्पादन राम्रो हुने नगरेको पनि सांसद भुसालको भनाई छ।
सांसद भुसालले काममा खटिने र सतप्रतिशत काम पूरा गर्ने कर्मचारीलाई मात्रै प्रमोशन गर्ने व्यवस्था गर्दा कामप्रतिको सरकारी कर्मचारीको जवाफदेहीता स्वतः बढेर जाने पनि स्मरण गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।