‘सीमारक्षक’ यादवको अनुभव- सीमा क्षेत्रका स्थानीय नै वास्तविक सीमारक्षक हुन् [भिडियोसहित]

दिनेश शर्मा | २०७६ कार्तिक २८ बिहीबार | Thursday, November 14, 2019 २०:२२:०० मा प्रकाशित

राजविराज- २०७३ साउन १३ गतेका दिन भारतीयले १० गजा मिचेर बाँध बनाउँदा विरोधमा उत्रिएपछि निर्घात कुटिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ निवासी ५७ वर्षीय देवनारायण यादव यतिबेला पुनः चिन्तामा छन्।

भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभाग मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि उनको चिन्ता बढेको हो। गाउँदेखि करिब १ किलोमिटर दक्षिण रहेको खाँडो खोलाको बहाव थुनेर भारतीयले पानी तिलाठीतर्फ फर्काइदिने नियतका साथ बाँध बनाउन थालेपछि तिलाठीवासी त्यतिबेला विरोधमा उत्रिएका थिए। यादवसहितका तिलाठिवासीले सीमा रक्षाका लागि वीरतापूर्वक भारतीसँग लडे।

करिव आधा दर्जन तिलाठीवासी घाइते भए पनि भारतीयलाई लखेट्न सफल भए देवनारायणको समूह। तिनै देवनारायणसँग पछिल्लो घट्नाक्रमसँग जोडिएर हामीले केही कुराकानी गरेका छौं। भारतीयको नियत, सीमा क्षेत्रमा नेपालीहरुले पाउने सास्ती तथा मिचिएको नेपाली भूभागका विषयमा ‘सीमारक्षक’ नामले समेत परिचित देवनारायण यादवको अनुभव जस्ताको तस्तैः

भारतले नेपालको सीमा मिच्ने क्रम नयाँ होइन। २०२५ सालदेखि करिब १० वर्षसम्मको अवधिमा भारतले नेपालको सीमा धेरै स्थानमा मिचेको छ। त्यसपछि पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ठाउँठाउँमा सीमा स्तम्भ सारेर नेपालको सीमा मिचिँदै आएको छ।

अन्यत्रको के कुरा? सप्तरीकै तिलाठी, लालापट्टी, गोविन्दपुर, बनैनियाँ, हनुमाननगर कंकालिनी नगरपालिकाको कोसीलगायतका ठाउँमा यस्तै अवस्था छ। मेरो हजुरबुबाकै उमेरका बुढापाकाबाट सुनेको थिएँ- सुरुमा तिलाठी र भारतको कुनौलीबीचको दशगजामा सीमा संकेतका लागि साल (सखुवा)का खम्बा गाडिएका थिए। ती खम्बा भारतबाट नेपालतर्फ सार्ने क्रम त्यतिबेलादेखि नै चलेको हो। सालको बदलामा पछि पिल्लर लगाइयो। तर, पनि पटकपटक पिल्लर सारेर सीमा मिच्दा नेपालीहरुले रातारात त्यसलाई पहिलेको ठाउँमा पुर्याउने गरेका थिए। अहिलेको अवस्था हेर्दा करिब ७ सय मिटर सीमा मिचिएको छ।

वर्षातका बेला खोलो फर्काएर डुबानमा पार्ने, अरु बेला विभिन्न बहानामा सीमाना मिच्ने गरिएपनि सरकार तथा राजनीतिक दलसमेतले यस समस्याको ठोस समाधान नखोजी आश्वासन र टालटुले नीति मात्र लिने गरेका कारण जनताले निरन्तर दुःख पाइरहनु परेको छ। खाँडोमा ३ वर्षअघि भएको झडपकै कुरा गर्ने हो भने त्यो खोला नेपालको चुरे क्षेत्र हुँदै बग्ने खहरे खोला हो। उत्तर–दक्षिण बग्ने यो खोला चुरे क्षेत्रबाट निस्किएपछि सप्तरीको करिब २८ किलोमिटर भूभाग छिचोलेर तिलाठी हुँदै भारतको कुनौली ग्राम पञ्चायत भएर भारतीय क्षेत्र प्रवेश गर्छ।

हिउँदमा सामान्य लागे पनि वर्षायाममा खाँडोले नेपालतर्फका एक दर्जन र भारततर्फ कुनौली, कमलपुर, हरिपुर, डगमारा लगायतका आधा दर्जनभन्दा बढी गाउँ/बस्तीमा क्षति पुर्‍याउने गरेको छ।

खाँडोले बर्सेनी धन-जनको ठूलो क्षति गर्न थालेपछि भारतको निर्मली प्रखण्डका तत्कालीन विधायक वैद्यनाथ मेहता ४४ वर्षअघि (सन् १९७४) बाँध निर्माणको माग गर्दै दशगजा क्षेत्रमै अनसन बसे। फलस्वरुप भारतीय पक्षले कुनौली बोर्डरस्थित सप्तकोसीको पश्चिमी तटबन्ध (रमपुरा–मलहनियाँ)देखि खाँडो खोला (तिलाठी)सम्म झन्डै तीन किलोमिटर भूभागमा पूर्व–पश्चिम बाध निर्माण गरेको थियो। परिणाम स्वरुप नेपाल भएर बग्ने खाँडो, महुली र जिता नदीको प्राकृतिक बहाव थुनियो।

बाँध नहुन्जेल कुनै समस्या थिएन। बाढी आउँथ्यो, जान्थ्यो। तर अहिले बाँधका कारण गाउँ नै खोलासरह भएको छ। बाँधकै कारण करिब १०–१५ वर्षदेखि तिलाठी, लौनियाँ, बेल्ही, सकरपुरा, कोइलाडी, कोइलाडी बर्साइन, बनरझुला, कुशाहा, तोपा, मन्सापुर, बभनगामा कट्टी र राजविराज नगरपालिकाका केही वडामा खाँडोले हरेक वर्ष दुःख दिने गरेको छ। अन्तर्राष्ट्रिय मान्यताविपरीत निर्माण भएको बाँध भारतीय पक्षले सीमाक्षेत्र विकास कार्यक्रम तथा इन्दिरा गान्धी स्वरोजगार कार्यक्रमलगायतका विभिन्न बहानामा मर्मत/सम्भार गर्दै आएको छ। यसै क्रममा सन् २०१३ (२०६९ चैत) मा भारतीय पक्षले बाँध मर्मतको प्रयास गर्‍यो।

भारतले सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत 'प्रखण्डके कुनौली ग्रामसे बोर्डर सीमा बाँधके सडकमे कज-वे निर्माण कार्य’ नाम दिएको उक्त योजनाको नेतृत्व ग्राम पञ्चायतका तत्कालीन मुखिया वासिद अहमदले गरेका थिए। नेपाली स्थानीयको विरोधपछि नेपाल–भारत दुवैतर्फका अधिकारीहरुले योजनाको स्थलगत निरीक्षण गरे र सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गतको निर्माण कार्य तत्कालका लागि रोकियो।

नेपाली पक्षले तत्कालीन सिचाईं मन्त्री उमाकान्त झामार्फत् भारतीय दूतावास हुँदै खाँडोको समस्या दिल्लीसम्म पुर्‍यायो। पटनाबाट चिफ इन्जिनियरको टोली घटनास्थलमा आएर निर्माण कार्य रोक्न आदेश दिएपछि हालसम्म बाँधमा थप काम भने भएको छैन।

भिडियो

यसैक्रममा तिलाठी गाउँदेखि दक्षिणपट्टि आफ्नो सुरक्षाका नाममा भारतीय पक्षले २२३ (२७) नम्बरको पिलरबाट नेपालभित्र बाँध निर्माणको प्रयास गरेपछि २०७३ साउनमा तिलाठि घट्ना भयो। बाढीले पुरानो बाँध भत्काएपछि उनीहरुले तत्कालै बाँध मर्मतको प्रयास गरे। बाँस गाडेर पाईलिङ्ग थालेपछि केही गाउँलेहरुका साथ हामी पुगेर त्यसलाई रोक्न खोज्यौं। 

सीमा मिचेर भारतीयले गाडेका बाँस उखालेर ल्याई चिरपट तयार गरेर तैनाथीमा बसेका थियौं हामी। तत्कालै तत्कालीन प्रमुख जिल्ला अधिकारी र एसपी समेतलाई फोनमार्फत् जानकारी दिए पनि वास्ता नगरेपछि केही स्थानीय संचारकर्मीहरुसँग सम्पर्क गरेर घटना अवगत गरायौं। भारतीय पक्षका ५ सय जना जतिको उपस्थितिमा हाम्रा तर्फका गाउँले पनि विस्तारै जम्मा भएर १ सय ५० जना जतिको समूह बन्यो। हाम्रातर्फका मान्छे पनि बढ्दै गएपछि बाँध निर्माणको काम रोकेर भारतीयहरु पछि हटेका थिए। त्यसैबीच हाम्रा २ युवा दशगजापारिनै छुटेको भन्ने थाहा पाएर उनीहरुलाई लिन म कुनौलीतर्फ लागेँ। सम्भावित आक्रमणको आशंकाले पहिले नै फेटा बाँधेर म त्यहाँ पुग्दा जम्मा भएका २/३ दर्जन जतिको भारतीयको समूहले मेरो फेटा तान्दै टाउकोमा आक्रमण गर्‍यो। 

यो खबर हाम्रातर्फका साथीहरुले थाहा पाएर प्रतिकारमा उत्रँदा दोहोरो झडप भयो। १०/१२ वर्षका बालकसमेत मेरो साथमा प्रतिकारका लागि आएका थिए। झडपमा म लगायत ६/७ जना घाईते भएका थियौं। उतापट्टि पनि १ दर्जनजति घाइते भएको जानकारी पाएको थिएँ।

कुरा तिलाठीको मात्र होइन, करिब आधा दर्जन स्थानमा समेत डुबान तथा सीमा अतिक्रमणको समस्या ज्यूँका त्यूँ छ। कहिले डुबानमा परिएला त कहिले आफ्नै थातथलो सीमा अतिक्रमणका कारण भारततर्फ पर्ने हो भन्ने पिरलो यथावतै छ। सुरक्षाका लागि खटिएका सरकारी प्रशासक, सुरक्षाकर्मीलाई वास्तविकताको पूर्ण जानकारी छैन। दुईपक्षीय सीमा सुरक्षाका विषयमा बाहिरबाट सुरुवा भई आएका प्रजिअ तथा प्रहरी प्रमुखले वस्तुस्थितिको बारेमा पूर्ण जानकारी नरहेका कारण प्रष्ट कुरा पनि राख्न सकिरहेका छैनन्। केही समयको कार्यकाल पूरा गरी सरुवा भएर अन्यत्र जाने हुँदा सीमा समस्यालाई गम्भिरताका साथ लिँदैनन्। झन्झट मोल्न पनि चाहँदैनन् कर्मचारीहरू।

स्थानीय प्रशासनले मात्रै चाहेर पनि सीमा समस्याको दीर्घकालीन समाधान हुने चाहिँ होइन। यसका लागि राजनितिक दलको भूमिका बढी महत्वपूर्ण हुन्छ। उसो त म पनि अहिले नेकपाको जिल्ला सदस्य हुँ। इमान्दारीका साथ नै भन्नुपर्दा माथिल्लो दर्जाका नेताले समस्या समाधानका लागि परिणाममुखी पहल नगरेका कारण नै जनताले यो समस्यालाई दीर्घरोगका रुपमा बोक्नु परिरहेको छ।

जो पीडित स्थानीयवासी हुन्, तिनीहरु नै वास्तविक सीमारक्षक बनेर उभिँदै आएका छन्। सीमा मिचियो वा डुबानमा पर्‍यो भने पीडा भोग्नु पर्ने त आखिर उनीहरुले नै त हो। तर, सरकारीस्तरबाट समस्याको दीर्घकालीन समाधानका लागि ठोस पहल नथाल्ने हो भने सीमावर्ती क्षेत्रका नेपाली जनताले कहिलेसम्म यो पीडा बोकेर बस्ने?

सीमाका सकससम्बन्धी थप समाचार

सप्तरी सीमाका ७८ किमी : बस्ती, बाँध र सीमास्तम्भ गायबसम्म भारतीय बलमिच्याईं

केन्द्रमा बसेर सीमा सुरक्षा हुँदैन, बोर्डरमै पुग्नुपर्छ : डिआइजी श्रेष्ठ [अन्तर्वार्ता]

घट्दैछ नेपाली भूमि, बढ्दैछ भारतीय दादागिरी

सीमा विवादको सैन्य समाधान खोज्नु हुँदैन : डा दीपकप्रकाश भट्ट [अन्तर्वार्ता]

कामै गर्दैनन् सीमासम्बन्धी संयन्त्र