काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ। नेकपाका एक सचिवालय सदस्यले शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको जानकारी दिएका छन्। तर ती सदस्यले बैठकका एजेन्डाबारे भने खुलाउन चाहेनन्। नेपाल लाइभसँग कुराकानी गर्दै उनले भने, 'शुक्रबार बिहान सचिवालय बैठक बस्ने जानकारी आएको छ। एजेन्डा सार्वजनिक भएको छैन।'
सरकारमा सहभागी हुने नयाँ मन्त्रीका सम्बन्धमा छलफल हुन लागेको बताइएको छ। विगत केही दिन यता प्रधानमन्त्रीले सरकार पुनर्गठनको तयारी गरेका छन्। उनले यसअघि नै सचिवालयका सबै सदस्यलाई बोलाएर सचिवालयको काम प्रभावकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। यसपछि सचिवालयका सबै सदस्यले मंसिरबाट लागू हुने गरी राजीनामा दिएको बुझिएको छ।
सरकार पुनर्गठनका विषयमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई तीव्रता दिएका छन्। बुधबार मात्रै वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो छलफलमा बसेका ओलीले बिहीबार प्रचण्डसँग पनि लामै छलफल गरेको नेकपाका एक नेताले बताएका छन्।
दुई अध्यक्षबीच नयाँ मन्त्रीका लागि वैकल्पिक नामका विषयमा समेत छलफल भएको थियो। तर कुन कुन मन्त्रीका विषयमा छलफल भएको र नयाँ अनुहारका विषममा भने स्रोतले खुलाउन चाहेन। यसका साथै समाजवादी पार्टीसमेत सरकारबाट हट्ने लगायतका विषयमा छलफल भएको बताइएको छ। कतिपय मन्त्रीहरूका कामबाट प्रधानमन्त्री सन्तुष्ट नभएका समाचार यसअघि पनि सहतमा आएका थिए।
मन्त्रालयको काम जाँच गर्नका लागि प्रम ओलीले संयन्त्र नै विकास गरेका थिए।
प्रधानमन्त्री सन्निकटका अनुसार केपी ओली सबैभन्दा बढी ७ मन्त्रीहरुबाट असन्तुष्ट छन्। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानी मन्त्रालय चलाइरहेकी बिना मगर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई प्रधानमन्त्रीका नजरमा ‘रेड जोन’मा परेका मन्त्रीहरू हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।