काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन्। यसका लागि उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरिसकेका छन् भने शुक्रबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाएका छन्। सरकारमा सहभागी हुने नयाँ मन्त्रीका सम्बन्धमा सचिवालय बैठकमा छलफल हुन लागेको बताइएको छ।
नेकपाका एक सचिवालय सदस्यले शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको पुष्टि गरेका छन्। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'शुक्रबार बिहान सचिवालय बैठक बस्ने जानकारी आएको छ। एजेन्डा सार्वजनिक भएको छैन।' शुक्रबारको सचिवालय बैठकबाट संभवतः सरकारमा सहभागी हुने मन्त्रीहरू र सरकारबाट हट्ने मन्त्रीहरूको अन्तिम टुंगो लाग्न सक्ने बताइएको छ।
बुधबार मात्रै वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो छलफलमा बसेका ओलीले बिहीबार प्रचण्डसँग पनि लामै छलफल गरेका थिए।
बिहीबार दुई अध्यक्षबीच नयाँ मन्त्रीका लागि वैकल्पिक नामका विषयमा समेत छलफल भएको थियो। तर कुन कुन मन्त्रीका विषयमा छलफल भएको र नयाँ अनुहारका विषममा भने स्रोतले खुलाउन चाहेन। यसका साथै समाजवादी पार्टीसमेत सरकारबाट हट्ने लगायतका विषयमा छलफल भएको बताइएको छ। कतिपय मन्त्रीहरूका कामबाट प्रधानमन्त्री सन्तुष्ट नभएका समाचार यसअघि पनि सहतमा आएका थिए।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्रीले हालका ८ मन्त्रीलाई जिम्मेवारीबाट हटाउन खोजेका छन्। तर कुन कुन मन्त्री हट्न लागेका हुन् भन्ने खुलाइएको छैन।
सरकारको प्रभावकारिताका सम्बन्धमा प्रधानमन्त्री ओली पछिल्लो समय सन्तुष्ट थिएनन्। सरकार पुनर्गठनकै लागि उनले सचिवालय समेत पुनर्गठन गर्ने तयारी गरेका थिए। सचिवालयका सबै सदस्यलाई बोलाएर प्रधानमन्त्रीले सचिवालयको काम प्रभावकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। यसपछि सचिवालयका सबै सदस्यले मंसिरबाट लागू हुने गरी राजीनामा दिएको बुझिएको छ।
मन्त्रालयको काम जाँच गर्नका लागि प्रम ओलीले संयन्त्र नै विकास गरेका थिए। प्रधानमन्त्री सन्निकटका अनुसार केपी ओली सबैभन्दा बढी केही मन्त्रीहरुबाट असन्तुष्ट छन्। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानी मन्त्रालय चलाइरहेकी बिना मगर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल,युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई प्रधानमन्त्रीका नजरमा ‘रेड जोन’मा परेका मन्त्रीहरू हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।