काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाइ दिएका छन्।
नेपालको भलिबल खेलमा इतिहास बनाएकोमा खुशी व्यक्त गरेका उनले भलिबलमा देशले उपाधि जितेको भन्दै राष्ट्रिय महिला भलिबल टिम, प्रशिक्षक, नेपाली खेलाडीहरु र सम्पूर्ण नेपालीहरुलाई बधाईसमेत दिएका हुन्।
बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनमा इतिहास रचेकाले सम्पूर्ण टिमलाई उनले विशेष धन्यवादसहित सम्मान व्यक्त गरेका हुन्। प्रतियोगिताको उत्कृष्ट स्पाइकर चुनिएकी प्रतिभा माली र व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीहरुलाई बधाई दिँदै एक विज्ञप्ति जारी गरेका छन्।
'सिमित साधन स्रोतको बाबजुद राष्ट्रिय महिला भलिबल टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीहरुलाई खुशी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा हो,' विज्ञप्तिमा भनिएको छ।
खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षण समेत उनले गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।