एजेन्सी– फ्रान्स, इंग्याण्ड, टर्की र चेक रिपब्लिक सन् २०२० मा हुने युरोकपमा छनौट भएका छन्।
इंग्ल्याण्डले मोन्टेनेग्रोलाई ७–० को फराकिलो अन्तरले हराउँदै युरोकपमा छनौट भएको हो। इंग्ल्याण्डको जितमा ह्यारी केनले ह्याट्रिक गरे। उनले १८, २४ र ३७ मिनेटमा गोल गरेका थिए। इंग्ल्याण्डले खेलको ११ औं मिनेटमा चेम्बरलेनको गोलबाट अग्रता लिएको थियो।
त्यसैगरी टेमी आब्राहम र रासफोर्डले पनि एक/एक गोल गरे। इंग्ल्याण्डले एक गोल भने उपहार भएको थियो। मोन्टेनेग्रोका डिफेन्डर अलेक्जेण्डर सोफरानले आत्मघाती गोल गरेपछि इग्ल्याण्ड ७–० गोल अन्तरले विजयी भएको हो।
त्यस्तै फ्रान्सले मालदोवोलाई २–१ ले हराउँदै युरोपकमा आफ्नो स्थान पक्का गरेको छ। पाहुना टोली मालदोवोले खेलको ९ औं मिनेटमा वदिम राटाको गोलमा अग्रता लिए पनि हार टार्न सकेन।
राफेल भारानाले ३५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ७९ मिनेटमा पाएको पेनाल्टीमा ओलिभर जिरुडले गोल गरेपछि फ्रान्स युरोकपमा स्थान बनाउन सफल भएको हो।
त्यस्तै टर्कीले आइसल्याण्डसँग गोलरहित बराबरी खेल्दै युरोपकमा छनौट भएको छ। उता चेक रिपब्लिकले कोसोभोलाई २–१ ले हराउँदै युरोपकमा छनौट हुन सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।