काठमाडौं- एनआइसी एशिया बैंकले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश नलिएका शेयरधनीलाई आफ्नो लाभांश लिन आग्रह गरेको छ। बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटलबाट लाभांश बुझ्न बैंकले आग्रह गरेको हो।
बैंकले लाभांश पुर्जी लिइसकेका शेयरधनीहरुले समेत सो पुर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न पनि अनुरोध गरेको छ। यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित कानुनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनीहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन समेत सम्पूर्ण शेयरधनीहरुलाई बैंकले अनुरोध गरेको छ।
विभिन्न आर्थिक वर्षहरुमा बैंकले वितरण गरी हालसम्म शेयरधनीहरुले बुझिलिन बाँकी भएका लाभांशको विवरण बैंकको वेबसाइटमा राखिएको तथा सो सम्बन्धमा विस्तृत विवरण एनआइसी एशिया क्यापिटलका कर्मचारी दामोदर रायमाझीबाट प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।