नक्कली भ्याट बिल प्रयोग गरी ९ करोड ९५ लाखको राजस्व छली

नेपाल लाइभ | २०७६ कार्तिक २९ शुक्रबार | Friday, November 15, 2019 १८:५५:०० मा प्रकाशित

काठ्माण्डौ- काभ्रेपलाञ्चोक घर भई काठमाडौं महानगरपालिका–३४ बस्ने लक्की एएस इन्टरप्राइजेजका सञ्चालक सुनिलकुमार गौतमले ९ करोड ९५ लाख ६२ हजार बिगो बराबरको राजस्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ।

झुट तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको भन्दै विभागले गौतमविरुद्ध बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग दाबीसहित आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

उक्त कम्पनीले मूल्य अभिवृद्धि करको बीजकमात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु ३ करोड ५९ लाख ९९ हजार र आयकरतर्फ रु ६ करोड ३५ लाख ६३ हजार राजस्व चुहावट गरेको विभागले जनाएको छ।

यसअघि पछिल्लो एक सातामा मात्रै विभागले झण्डै रु २१ करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा भारतीय नागरिकसहित १६ जना विरुद्ध मुद्दा चलाएको छ।

रासस