फाइल तस्बिर
धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने गरी योजना बनाइरहेको बताएका छन् ।
आज धनगढीमा आयोजित कार्यक्रममा उनले सामुदायिक विद्यालयमा सरकार र सहयोगी सङ्घ संस्थाहरुको लगानी बढ्दै गए पनि सुधार हुन नसकेकाले व्यवस्थित गर्न जरुरी रहेको बताए।
उनले भने, ‘हामीले थुप्रै काम गरिरहेका छौँ, सरकारी विद्यालय व्यवस्थित हुन नसक्नुको पछाडिको कारण खोजेर सचेत हुनुपर्ने बेला आएको छ।’
मुख्यमन्त्री भट्टले विद्यालय स्थापना गर्नुभन्दा विद्यालयलाई व्यवस्थित बनाउनु ठूलो कुरा रहेकाले नेता, कर्मचारी, शिक्षकलगायत सबैले आ–आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा जोड दिएका थिए।
‘यदि हामीले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाएनौं भने विद्यालयको गुणस्तर बढ्दैन‚’ मुख्यमन्त्री भट्टले भने, ‘यहाँ त शिक्षक आफै पढाउने विद्यालयमा पनि आफ्ना छोराछोरीलाई नपढाउने गरेको भेटिन्छ।’
सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले आफैँले आफैँलाई विश्वास गर्न नसकिरहेको अवस्था रहेको मुख्यमन्त्री भट्टको भनाइ छ।
विद्यार्थीबीच शिक्षण सिकाइ आदानप्रदान गर्ने उद्देश्यले सीमान्तकृत बालबालिकाको शिक्षामा सहयोग परियोजना (स्टेम) अन्तर्गत ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) ले आज एक दिन उत्सवको आयोजना गरेको हो।
उत्सवमा विद्यार्थीले आफैले बनाएका हस्तकलाका सामग्रीहरु, वैज्ञानिक उपकरण लगायतका वस्तुहरु प्रदर्शन गरेर आफ्ना प्रतिभा प्रस्तुत गरेका छन्।
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।