भरतपुर- भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन्।
ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग १७ प ४५६४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा ५३ प १६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बा ५३ प १६५० नम्बरको मोटरसाइकल चालक चौधरीको मृत्यु भएको हो।
ग १७ प ४५६४ नम्बरको मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–१५ बस्ने २१ वर्षीय सन्तोष ठकुरी र पछाडि सवार २० वर्षीय रमेश विक घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर खाने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।