काठमाडौं- अवैधानिक रुपमा भवन निर्माण गरेको भन्दै सरकारी निकायले नै कारबाही गरेको चन्द्रागिरी हिल्सलाई सरकारले भने प्रवर्द्धन गर्दै आएको छ।
चन्द्रागिरि हिल्सलाई गत वर्ष वातावरण विभागले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए)समेत स्वीकृत नगरी संरचना बनाएको भन्दै २० लाख जरिवाना भराउने निर्णय गरेको थियो। तर सरकारले नै भने हिल्सको व्यापारमा सहयोग हुने गरी प्रवर्द्धन गरिदिँदै आएको छ। यसरी सरकारकै एक अंगले अवैध रुपमा भवन निर्माण गरेको भन्दै जरिवाना गराएको चन्द्रागिरी हिल्सलाई सरकारकै अर्को अंगले प्रवर्द्धन गर्नु उचित नभएको सरोकारवालाको धारणा छ।
विशेष गरी नेपाल घुम्न आउने सरकारका विदेशी पाहुँनालाई चन्द्रागिरी हिल्स घुमाउने वातावरणको निर्माण सरकारले नै गर्दै आएको छ।
गत वर्ष जेठमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको काल मार्क्सको द्विशताब्दीका अवसरमा विभिन्न देशका कम्युनिस्ट नेतालाई नेपालमा भेला गरी एक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा सहभागी हुन आएका विदेशी पाहुनालाई चन्द्रागिरी हिल्स घुमाउन लैजाने कार्यक्रम आयोजकहरुले प्रयास गरे पनि प्रतिकूल मौसमका कारण स्थगित भएको थियो।
तर, त्यसयता नेपाल आएका विदेशी पाहुनालाई परराष्ट्र मन्त्रालयले नै चन्द्रागिरी हिल्स घुमाउने व्यवस्था गरेको छ। भदौँ तेस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी हुन् अथवा कात्तिक २६ मा सद्भावना भ्रमणका क्रममा नेपाल आएका बंगलादेशी राष्ट्रपति महम्मोद अब्दुल हमिदको टिम नै किन नहोस्, सबैलाई परराष्ट्र मन्त्रालयकै संयोजनामा चन्द्रागिरी घुमाउन लैजाने गरिएको छ।
सरकारकै एक अंगले चन्द्रागिरी हिल्समाथि कारबाही गर्नुपर्ने ठहर गर्ने र अर्को अंगले विदेशी पाहुनालाई त्यहाँ किन घुमाउन लगेको भन्ने प्रश्नमा परराष्ट्र मन्त्रालयका एक अधिकारी काठमाडौँ नजिक भएका कारण विदेशी पाहुँनालाई ‘रिट्रिट’का लागि सहज हुँदा उक्त स्थानमा लैजाने गरेको बताउँछन्।
वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन उल्लंघन गर्दै रिर्सोट बनाएको पुष्टि भएसँगै वन तथा वातावरण मन्त्रालयले चन्द्रागिरी हिल्सलाई २० लाख रुपैयौँ जरिवाना गर्ने निर्णय गरेको थियो।
त्यसयता चन्द्रागिरी हिल्सका सञ्चालकसमेत रहेका चन्द्र ढकालले राजनीतिक पहुँच बढाउँदै चन्द्रागिरीमा निर्माण भएका भवनलाई वैधानिक बनाउने प्रयास गरेको वातावरण विभागमा कार्यरत एक कर्मचारी बताउँछन्। पछिल्लो समय ढकालको राजनीतिक पहुँच कहाँसम्म बढेको छ भने उनी प्रधानमन्त्रीको विदेश भ्रमणमा नछुट्ने एक सदस्य बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।