कीर्तिपुर मैदानमा सचिन... सचिन!

ऋग्वेद शर्मा | २०७६ कार्तिक ३० शनिबार | Saturday, November 16, 2019 १८:२२:०० मा प्रकाशित

काठमाडौं- 
सsssचिन....सचिन, सsssचिन....सचिन।

क्रिकेटमा ध्यान नै नदिनेहरुले पनि ‘सsssचिन....सचिन’को यो हल्ला सुनेको हुनुपर्छ। भारत मुम्बईको वाङ्खेडे स्टेडियमबाट सुरु भएको हल्लाले कुनै समय विश्व क्रिकेटलाई यसरी छोप्यो कि अरु सबै आवाज मलिन लागे। यही आवाजले धेरैलाई हौसला दियो। धेरैलाई सपना देखायो। खेलेर हुने रहेछ भन्ने सन्देश फैलायो। भारतमा मात्रै होइन विश्वभर नै। 

हुन त सचिन आफैले धेरै पटक भनेका छन्, ‘म क्रिकेटभन्दा ठूलो होइन।’ तर चाहानेहरु भनिदिन्छन्- क्रिकेटका भगवान हुन् सचिन।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासले पनि शनिबार मध्यान्ह त्रिवि मैदान कीर्तिपुरमा भनिहाले- यो क्रिकेट मैदान हाम्रो मन्दिर हो। जहाँ आज स्वयम क्रिकेटका देवता उपस्थित भएका छन्। 

हुन पनि क्रिकेट बुझ्ने बेलादेखि नै विनोद दासका लागि मात्रै होइन, लाखौँका लागि आदर्श बनेका छन् सचिन। आफू सानो छँदै सचिनको तस्बिर बोकेर हिँडेका दासलाई त अझ उनको उपस्थितिले उचाइ थप्ने नै भयो। यसैले त राष्ट्रिय यु-१९ टिमको प्रशिक्षक रहेका दास भारतमा भइरहेको खेल छाडेर भए पनि सचिन भेट्न नेपाल आए। 

सचिनले सम्बोधनका क्रममा दासको नाम लिँदै नेपाली क्रिकेटका लागि गरेको कामको तारिफ गरे। सचिनले तारिफ गरिरहँदा भावुक भएका थिए दास। सचिनले बारम्बार उनको नाम उच्चारण गरिरहँदा दासको अनुहारमा देखिएको भावुकताले उनको सपना पूरा भएको देखाइरहेकै थियो। त्यसअघि सचिनसँग एउटै मैदानमा क्रिकेट खेल्न पाउनु त उनका लागि क्रिकेटमा लाग्नुको पूर्णता नै। 

क्रिकेट कमेन्टेटर एवं पत्रकार हर्षा भोग्लेले ‘यदि सचिनले राम्ररी ब्याट चलाए भने भारत राम्ररी निदाउन सक्छ’ भनेको सम्झँदा होस् या अस्ट्रेलियन पूर्व अलराउन्ड क्रिकेटर एन्ड्रयू साइमन्ड्सले सचिनलाई अटोग्राफ दिँदा ‘सचिनका लागि, जो जस्तै बन्न हामी सबै चाहन्छौँ’ लेखेको सम्झना होस्। यस्ता हजारौँ अभिव्यक्ति छन् जो सचिनको तारिफमा खर्च भएका छन्। 

विश्वभर रहेका क्रिकेट दर्शक हुन्, खेलाडी हुन् या विश्लेषक सबैलाई सचिनको खेल जीवनका बारेमा जानकारी छ। सचिनका उपलब्धिका तथ्यांकहरु र उनले विश्व क्रिकेटका लागि गरेको योगदानलाई प्रस्तुत गर्नु भूल हुन जान्छ। सचिन आफैले पनि कीर्तिपुर मैदानमा बालबालिकासँग भने, ‘अंकको पछि नलाग्नू। अंकमा देखिने उपलब्धि ठूलो कुरा होइनन्, आफ्नो मनमा हुने सन्तुष्टि जबसम्म प्राप्त हुँदैन तबसम्म अंकले देखाएको सफलताहरु काम हुँदैन। मनले देखाएको सन्तुष्टिको असल मार्गमा हिँड्नू।’ 

क्रिकेटमा यति ठूलो उचाइ पाएका खेलाडी नेपाल आउनु उनलाई एक झल्को हेर्न पाए मात्रै पुग्ने चाहना भएका समर्थकका लागि ठूलो सपना नै हो। 

सचिन नेपाल आउँदै छन् भन्ने खबर शुक्रबार राति मात्रै सामाजिक सञ्जालमा देखिन थालेको थियो। मध्यरातमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको तस्बिरहरु देखिए। उनी आउँदै छन् भन्ने सुनेर पनि नपत्याएकाहरु विश्वस्त भए। खबरहरु फैलिए। 

मध्यरातको जानकारीले पनि सचिन हेर्न त्रिवि मैदान कीर्तिपुरमा शनिबार बिहान सयौँ समर्थकहरु पुगे। तब सचिन पुगेका हरेक क्रिकेट मैदानमा जस्तै कीर्तिपुरमा पनि गुञ्जियो, ‘सsssचिन....सचिन।’

सचिन संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा सरिक हुन नेपाल आएका हुन्। बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले उनलाई नेपाल बोलाएको हो। सचिन युनिसेफका दक्षिण एसिया सद्भावना दूत हुन्। 

युनिसेफले नै सचिनसँग क्रिकेट खेल्ने बालबालिकाहरु कीर्तिपुर मैदानमा जम्मा गरेको थियो। जहाँ सचिन र दासको कप्तानीमा बालबालिकाको दुई टिम बनाएर आठ ओभरको क्रिकेट नै भयो। दासको ‘टिम रातो’ले दिएको ४५ रनको लक्ष्य सचिनको ‘टिम निलो’ले ६ ओभरमा नै भेट्टायो। मैदानमा जित्ने र हार्ने बालबालिकाको अनुहारमा देखिएको उत्साहमा कुनै कमी थिएन, आखिर सचिन जो उनीहरुसँगै थिए। 

आफ्नो इनिङमा दुई ओभर ब्याटिङ गरेका सचिनले फिल्डिङको समयमा गरेको विकेटकिपिङ हेर्न लायक थियो। विश्वविख्यात क्रिकेटरलाई विकेटकिपर राखेर बलिङ गरिरहेका साना खेलाडीहरु उसै हौसिएका थिए। 

संयोग नै मानौँ, सचिनले ६ वर्षअघि आजकै दिन अर्थात नोभेम्बर १६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बिसाएको ब्याट आज नेपाली भूमिमा फेरि उठ्यो। 

फिल्डिङ पोजिसन मिलाउने, राम्रो गर्दा तालि बजाउने, बलिङ र ब्याटिङ गर्न सिकाउँदै सचिन बालबालिकासँग एकैछिनमा घुलमिल भइहाले। मैदानमा पहिलो इनिङको ८ र दोस्रो इनिङको २ ओभर सचिनमय बन्यो। आउँदैन भनेर पछि हटिरहेका खेलाडीलाई पनि सचिनले अघि सारेर बलिङ गराइछाडे।

खेलपछि आउँदैन भनेर पछि हट्ने सानी खेलाडीतिर हेरेर उनले भने, ‘छली गर्नु पो हुँदैन, नजान्न त पाइहालिन्छ नि! गल्ती सबैबाट हुन्छ। जानेको छैन भनेर पछाडि हट्नु भने हुँदैन, प्रयास गर्नुपर्छ। गल्ती गर तर छली नगर।’ 

उनले खेलेका खेलहरुले मात्र होइन उनको अभिव्यक्तिले पनि उनको महानता झल्काइरहेको थियो। हरेक भनाइ उनको उचाइ देखाउन पर्याप्त थियो। 

यसैले त दासले भनेका हुन्, ‘हामी सधैँ क्रिकेट खेलिरहेको यो मैदानमा आज खेल्दा फरक महसुस भएको छ। यो मैदानमा मैले सयौँ खेल खेलेँ तर आजको खेल पृथक थियो। अरबौँ क्रिकेटप्रेमीका ढुकढुकी आज हामीसँग हुनुहुन्छ र मैले उहाँसँग मिलेर क्रिकेट खेल्न पाएँ। यो एउटा सौभाग्यको कुरा हो।’ 

दासले सचिनको उपस्थितिले कीर्तिपुर मैदानमा फेरिएको स्वरुप ब्याख्या गरेर धन्यबाद दिइरहँदा सचिनको अनुहारमा लेश पनि फरक भाव थिएन। उस्तै शान्त र सानो मुस्कान। 

सचिनले क्रिकेट सकिएपछि ‘नमस्ते’ भन्दै सम्बोधन गरेर आफ्ना कुरा सुरु गरे। दुई तीन दिनदेखि सन्चो नभएकाले धेरै पानी पिइरहे पनि कीर्तिपुर मैदानमा आजको बिहान निकै राम्ररी बितेको भन्दै उनले नेपालीमा नै सोधे– ‘तपाइँहरुलाई राम्रो लाग्यो?’ 

बिनोद दासले भनेका धेरै कुराहरु नबुझे पनि उनले बालबालिकाका लागि भनेका केही कुराहरु बुझेको र उनको कुरामा पूर्ण समर्थन जनाएको सचिनले बताए। बालअधिकार र बालबालिकाका लागि केही समय बोलेका उनले आफ्नो सानो बेलाका अनुभव पनि सुनाए। 

‘सानोमा आमासँग निकै चकचक गर्थें। विद्यालयबाट फर्किंदा टिफिन बक्समा कहिले भ्यागुता कहिले फट्याङ्ग्रा हालेर लगिरहेको हुन्थेँ। आमाले भान्सामा खाना पकाउँदा सामान चलाएर यताउता पारिदिन्थेँ, तर आमाले मलाई कहिल्यै ठूलो स्वरले गाली पनि गर्नुभएन’उनले भने, 

‘मेरो अभिभावकले मैले चाहेकै काम गर्न दिएकाले मात्रै म खेलाडी बन्न सकेको हुँ। यहाँ रहेका सबै बालबालिकाको केही सिक्ने चाहना निकै राम्रो लाग्यो। के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुरा आफ्नै मनलाई लाग्ने कुरा हो। यो गर या यो नगर, यही नै बन्नुपर्छ भनेर कसैले पनि बालबालिकामाथि दबाब दिनु हुँदैन।’ 

सचिनले बालबालिकासँगको कुराकानीमा बारम्बार भनिरहेका थिए, ‘मेहनत गर्नुपर्छ। शान्त भएर पर्खन सक्नुपर्छ।’ 

सचिन न त अंकको पछि लागे न त घडीको सुइको। उनले नपछ्याएकैले होला समयले पनि उनलाई पछ्यायो र अंकले पनि। 

उनी आफै पनि भन्छन्, ‘घडी हेरेर अभ्यास गर्ने होइन, अभ्यास कति गर्ने भन्ने मनले निर्देशित गर्नुपर्छ। जीवनमा यस्ता अवस्थाहरु आउँछन् जहाँ दिमागलाई होइन मनलाई अगाडि सार्नुपर्छ।’

सचिनले पनि गरेको त्यही नै हो। उनलाई चकचके केटोबाट जिम्मेवार र अनुशासित बनाएको त्यही तरिका हो। उनले उचाइमा लैजाने अंकहरु मात्र होइन कमजोर तुल्याउने अंकहरु पनि विचार गरे। तब त उनको खेल जीवनले सिकाउँछ, ‘सगरमाथा पनि त उक्लिएपछि ओर्लनैपर्छ उचाइमा हुँदा घमण्ड किन लिनु?’

कीर्तिपुर मैदानमा सचिनका थप तस्बिर-