[कविता] तिम्रो सौभाग्य

रमणी डुम्रे | २०७६ कार्तिक ३० शनिबार | Saturday, November 16, 2019 १९:३२:०० मा प्रकाशित

एउटा लाज भयभित, 
लालायित ङिच्च दाँत देखाउदै,
दुई हात जोडेर 
जब चाप्लुसीमा रमाउँछ...,
कोटको खल्तीबाट चाहन्छ दक्षिणा,
माग्छ आशिर्वाद!
बुनी नानाथरी,
जानी नजानी
सिध्याउँछ जवानी 
गर्दछ चाप्लुसी र 
चढाउँछ बिन्तिपत्र

हो! त्यति नै खेर 
ढलेका छन् 
जङ्गे पिल्लरहरू,
मेटिएका छन् सिमारेखाहरू,
मिचिएका छन् सुस्ता, कालापानी 
र थुप्रै लिपुलेकहरू

जब,
निर्लज्ज भयहीन व्यभिचारी
ठिङ्ग ठिङ्ग् 
बरबराउँछ नानाथरी!!!

हो त्यति नै खेरै
मरेका छन् न्यायहरू,
दबिएका छन् सत्यहरू 
छट्पटिएका छन् निर्मलाहरू 
अनसनमा छन् डा. केसीहरू 
लुटिएका छन् अभिभावक 
चुटिएका छन् विद्यार्थीहरू

जब आदर्श ठानिएका,
बहुमतले छानिएका, 
जोखिन्छन् दौलतको तराजुमा,
उत्पत्तिदेखि अहिलेसम्म
चलिरहेछ संघर्ष 
तिम्रो जित 
मेरो हार..!!

तिम्रो सौभाग्य
मुलुकको दुर्भाग्य।