काठमाडौं- बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल एक खेलमा जित र एक खेलमा हारसहित समूह ‘बी’ मा दोस्रो स्थानमा छ। जसमा नेपालसहित भारत र बंगलादेश अघिल्लो चरणमा पुग्ने प्रतिस्पर्धामा छन् भने हङकङको सम्भावना झिनो छ।
समूह ‘बी’ मा रहेको आयोजक टिम बंगलादेशले खेलेको दुबै खेलमा सतप्रतिशत जित हात पार्दा नेपाल र भारतले भने समान १ खेलमा जित र एक खेलमा हार ब्यहोरेका छन्। यता, हङकङले भने दुबै खेलमा हार ब्यहोरिसकेको छ।
सेमिफाइनल दौडमा रहेका नेपाल, बंगलादेश र भारतमध्ये दुई टिमले सेमिफाइनलमा स्थान बनाउँदा एक टिम भने समूह चरणबाटै घर फर्किने छ।
नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा आयोजक बंगलादेशसँग सोमबार प्रतिस्पर्धा गर्दा भारतले हङकङसँग प्रतिस्पर्धा गर्दै छ। सेमिफाइनल पुग्नका लागि यो दुबै खेल तीन राष्ट्रका लागि जोडिएको छ।
सोझो रुपमा हेर्दा बंगलादेशलाई नेपालले पराजित गरेको खण्डमा मात्रै सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ। यता, भारत हङकङसँग हारेको खण्डमा भने नेपाल र बंगलादेश सेमिफाइनलमा पुग्नेछन्। तर भारतले हङकङलाई पराजित गरेमा र नेपालले बंगलादेशलाई पराजित गरेमा यी तीनै टिमको समान अंक ४-४ हुनेछ। यस्तो अवस्थामा नेट रनरेटको आधारमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।
अहिले बंगलादेशले दुई खेलबाट चार अंक बनाउँदै २.१७१ रहेको छ । यो अन्य देशको तुलनामा निकै राम्रो नेट रनरेट हो । जबकी दोस्रो स्थानमा रहेको नेपालको नेट रनरेट ०.०६७ रहेको छ । यता, भारतको भने –०.०२४ रहेको छ ।
हारे पनि नेपाल सेमिफाइनलमा ?
समूह चरणको अन्तिम खेलमा बंगलादेशले नेपाललाई र भारतले हङकङलाई पराजित गरेमा यी दुबै टिम सेमिफाइनलमा प्रवेश गर्ने छन्। तर बंगलादेशसँग नेपाल हारे पनि अर्को खेलमा भने हङकङले भारतलाई पराजित गरेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्न सक्छ।
यस्तो हुदा बंगलादेश सतप्रतिशत जित हात पार्दै अन्तिम चारमा पुग्दा नेपाल, भारत र हङकङको समान २–२ अंक हुनेछ। हङकङको नेट रनरेट –१.७५४ भएको हुँदा उसको सेमिफाइनलमा पुग्ने सम्भावना न्युन छ। यस्तो हुँदा नेपाल सेमिफाइनलमा पुग्न सक्छ। तर नेपालले बंगलादेशसँग कम अन्तरले हार ब्यहोरेको हुनुपर्नेछ।
यता, समूह ‘ए’ बाट भने पाकिस्तान सेमिफाइनलमा पुग्ने लगभग पक्का जस्तै भएको छ। उसले दुई खेलमा शतप्रतिशत जित हात पार्दै ४ अंक बनाएर शीर्ष स्थानमा छ। उसले अब अन्तिम खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ। यता, अफगानिस्तान र ओमान पनि सेमिफाइनलमा पुग्ने दौडमा रहंदा श्रीलंका भने यसअघिका दुबै खेलमा हार ब्यहोर्दै समूह ‘ए’ को पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।