काठमाडौं– अपराध र अपराधी पत्ता लगाउन प्रहरीले खुट्टा कमाउन नहुने प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले बताएका छन्।
१४औं महानगरीय प्रहरी दिवसको अवसरमा पुलिस क्लबमा भएको कार्यक्रममा बोल्दै आइजी खनालले अपराध र अपराधी समाजको सत्रु भएकाले उनीहरुलाई कारबाही गर्न प्रहरीले खुट्टा कमाउन नहुने बताए।
महानगरीय प्रहरीले गरेको कामलाई अझ सदृढ गर्दै लैजानुपर्ने भन्दै उनले समुदाय-प्रहरी साझेदारीलाई अझ प्रभावकारी ढंगमा अगाडि बनाउनुपर्ने बताए। समुदाय प्रहरी साझेदारीमा कार्यक्रमको नाममा आपरfधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरु पनि प्रहरीसँग नजिक भएर प्रहरीकै बद्नाम गर्नसक्ने भन्दै त्यसतर्फ पनि सचेत हुन उनले आग्रह गरे।
त्यस्तै कार्यक्रममा पूर्व आइजी कुवेरसिंह रानाले महानगरीय प्रहरी भन्ने नाम नै सान्दर्भिक नभएको भन्दै त्यसको परिर्वतन गर्नुपर्ने भन्दै सुझाव दिएका थिए।
महानगरीय भने पनि काठमाडौं, ललितपुर, भक्तपुरमा नगरपालिका समेत रहेकाले यसले सबैलाई समेट्न नसक्ने तर्क उनको थियो। राजधानी उपत्यका प्रहरी कार्यालय प्रहरी कार्यालय नाम राख्नुपर्ने उनको सुझाव थियो।
संगठित र जघन्य अपराधमा प्रहरीले सफलता हात पारे पनि चोरी केसमा प्रहरीले सोचेअनरुप काम गर्न नसकेको पूर्वआइजी रानाको भनाइ थियो।
‘चोरीको रोकथाम र अनुसन्धानमा अपेक्षाकृत सफलता हासिल गर्न सकिएको छैन। चोरी भन्ने सुन्दा सानो केस भन्ने लाग्ला। तर यसले सम्बन्धित व्यक्तिलाई भने ठूलो हानि गरेको हुन्छ। सानो चोरीबाट सिंगो परिवार र समुदाय नै पीडित बन्न सक्छन्,’ पूर्वआइजी रानाले भने, ‘अब प्रहरीले चोरीका घटना न्यूनीकरण गर्न विशेष अभियान नै चलाउनुपर्छ।’
उपत्यकाको ट्राफिक व्यवस्थापन पनि जटिल बन्दै गएको रानाले बताए। ट्राफिक कानुन कार्यान्वयमा मात्रै केन्द्रित भएर मात्रै नहुने र ट्राफिक व्यवस्थापनको दीर्घकालीन समाधन खोज्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पहिला प्रहरी भने आम नागरिको बुझाइमा नकरात्मक धारणा आउने गरे पनि अहिले भने प्रहरी भनेकै हाम्रै सुरक्षाका लागि हो भन्ने धारणा विकसित हुँदै गएको बताए। समुदाय-प्रहरी साझेदारीले नागरिक र प्रहरीबीचको सम्बन्ध झनै नजिक हुँदै गएको उनको भनाइ थियो।
कार्यक्रममा महानगरीय प्रहरी प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरीले गरेका कामकारबाहीको बारेमा जानकारी गराएका थिए। उपत्यकाका भएका प्रहरी समुदाय साझेदारी कार्यक्रममा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।