काठमाडौं- मूल्य अभिवृद्धि करको नक्कली बिल बिजक बनाइ विभिन्न व्यवसायीलाई बिक्री गर्ने गिरोहमाथि राजस्व अनुसन्धान विभागले कारबाही अघि बढाएको छ। ठेकेदार कम्पनी, खुद्रा तथा थोक व्यवसायी र व्यापारिक प्रतिष्ठानहरुलाई नक्कली बिजक बनाइ कमिसनका आधारमा बिक्री गर्ने गिरोहमाथि विभागले अनुसन्धान अघि बढाएको हो।
विभागले अघिल्लो साता मात्रै आधा दर्जन यस्ता मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरेको छ। 'नक्कली भ्याट बिल छपाइ गरेर बिक्री गर्ने र त्यसबाट कमिसन खाने गिरोह नै सक्रिय रहेको भेट्टाएका छौँ, त्यसमाथि अनुसन्धान र मुद्दा दायर चलिरहेको छ,' विभागका एक अधिकारीले भने, 'विभिन्न ठाउँमा फरक-फरक व्यक्तिले यस्तो काम गरिरहेको पाइएको छ।'
विभागले गत साता मात्रै लक्की एएस इन्टरप्राइजेज, हस्पी केयर इन्टरनेसनल र श्री श्याम ट्रेडर्सविरुद्ध मुद्दा दायर गरेको थियो। यी ३ फर्मविरुद्ध मूल्य अभिवृद्धि कर चुहावटको २० करोड रुपैयाँ बिगो कायम गरिएको छ। 'ठूला ठेकेदार तथा ठूला व्यापारीलाई नक्कली बिल बेच्नेको संख्या धेरै देखिएको छ,' स्रोतले भने, 'यथार्थ कारोबार गरेका फर्मले पनि ठूला कम्पनीलाई कमिसनको लोभमा बिल बेच्ने गरेको पाइएको छ।'
विभागले अनावश्यकरुपमा कसैलाई दुख नदिने र कमजोरी भेट्टाए कारबाही गरेरै छाड्ने बताउँछन् महानिर्देशक दीर्घराज मैनाली। 'हाम्रो रहर सबैलाई कारबाही गर्ने भन्ने होइन, हामी छानबिनका नाममा अनावश्यक दुःख पनि कसैलाई दिँदैनौँ,' उनले भने, 'तर, प्रमाण भेटिएको अवस्थामा कसैलाई पनि छाड्दैनौँ।'
विभागले राजस्व चुहावटमा संलग्न व्यावसायिक कम्पनी तथा फर्मविरुद्ध ११ अर्ब रुपैयाँ राजस्व छलीको मुद्दा चलाउने तयारी गरेको छ। मूल्य अभिवृद्धि कर र आयकर छलीमा संलग्नविरुद्ध ती मुद्दा अघि बढाउन लागिएको हो।
विभाग स्रोतले दिएको जानकारीअनुसार यसपटक मुद्दा चलाउन खोजिएका अधिकांश व्यक्ति सामान्य पृष्ठभूमिका देखिन्छन्। 'पहिले ठूला कम्पनीहरु नै यसमा संलग्न भएको पाइएको थियो, अहिले अर्काको नाममा कम्पनी दर्ता गरेर गैरकानुनी काम गर्ने बढेका छन्,' स्रोतले भन्यो, 'हाम्रो अनुसन्धानको दायरामा सामान्य व्यक्तिहरु पनि परेका छन्, तर वास्तविकरुमा गल्ती गर्ने को हो पत्ता लगाउछौँ।'
राजस्व अनुसन्धान विभागले राजस्व छलीविरुद्ध एकैपटक लामो समयपछि ठूलो कारबाही अघि बढाउन लागेको हो। आन्तरिक राजस्व विभागले १० वर्षअघि एकैपटक ५ वटा फर्मविरुद्ध नक्कली भ्याट बिल बिजक बनाएर कारोबार गरेको आरोपमा छानबिन गरी मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।