काठमाडौं- थोरै त्रास र धेरै खुसीको संम्मिश्रण उनको अनुहारमा प्रस्टै देखिन्थो। खुसी नदेखिउन् पनि कसरी? जब लिबियामै माया मारिसकेको जीवन फिर्ता पाएका थिए, सैनामैना-१० रुपन्देहीका गणेशबहादुर थापा मगरले।
‘जिन्दगीको माया मारिसकेको मान्छे, विमानस्थल टेक्नेबित्तिकै आफ्नै आमाको काखमा पुगेजस्तो लाग्यो,’ लामो श्वास लिँदै गणेशले सुनाए।
हुन त गणेशलाई आमाबुबाको वात्सल्यको अनुभव त्यति धेरै छैन। आमाको काखमा लुटपुटिएको सम्झना पनि धमिलो छ।
‘मेरो भाग्यमा आमाबुबाको माया र सुख भन्ने नै लेखेको रहेनछ। म सानै छँदा आमाबुबा बित्नुभयो, जहाँ पनि दुःखले घेरिरह्यो,’ लिबियाबाट काठमाडौं फर्किएकै दिन गणेशले सुनाए।
पसिनासँग खुसी साटेर ल्याउन सपनाको सहर हिँडेका गणेश, कल्पनासम्म नगरेको डरलाग्दो युद्धग्रस्त लिबियामा पुगेका थिए।
आफू नजिकै बम र बारुदका गोला बर्सिरहन्थे।
बम र बारुदका छर्रा लागेर छटपटाइरहेका मान्छेहरुको दृश्य देख्दा उनको होस हराउँथ्यो।
मुटु ढुकढुक गर्थ्यो। परिवारको याद बेस्सरी आउँथ्यो र उनलाई चिच्याएर रुन मन लाग्थ्यो।
‘बम र बारुदका छर्रा माथिको जिन्दगीको के भर थियो र? आज मरिने हो कि भोलि, बाँचेर नेपाल फर्किन पाइन्छ भन्ने लागेकै थिएन,’ उनी आफैंलाई पत्यार नलागिरहेको आफ्नै कथा सुनाइरहेका छन्।
आफ्नै मान्छेले राम्रो काम र मनग्गे कमाइको प्रलोभनमा पारेर गणेशलाई युद्धग्रस्त लिबिया पुर्याएका थिए। ‘आफ्नैले त त्यस्तो ठाउँमा पुर्याउँछन्, पराइलाई केको माया?’ उनले आफ्नाप्रतिको तितो पोखे, ‘आफ्नै भनेर विश्वासमा पर्दा म मृत्युको मुखसम्म पुगेँ। धन्न आफ्नै माटोमा फर्कन जुरेको रहेछ।’
गणेशले फेरि लामो श्वास लिए। र, आफ्नो कथालाई निरन्तरता दिए। उमेरले दुई दशक नाघेसँगै वैदेशिक रोजगारीको यात्रा सुरु गरेका हुने गणेशले।
रोजगारीका लागि गणेश पहिलो पटक साउदी पुगेका थिए।
साउदीमा सवारी चालकका रुपमा पुगेका गणेश दुई वर्षको करार अवधिमा गएको भए पनि उनलाई कम्पनीले दुई वर्षमै नेपाल फर्कन दिएन।
‘करारनामा पत्रमा लेखिएको जस्तो सेवा सुविधा र तलब साउदीमा थिएन। कम्पनीले फर्कन दिएको भए २ वर्षको करार अवधि अगाडि नै फर्कन्थेँ तर कम्पनीले ३ वर्ष पुगिसक्दा पनि फर्कन दिएकै थिएन,’ उनले सुरुमै पाएका दुःख सुनाए।
तीन वर्ष पुगिसकेपछि भने गणेश बिदा लिएर नेपाल फर्किए। दुई महिनाको तलब पनि लिन बाँकी नै थियो, त्यो पनि माया मारेर उनी फर्किए।
साउदीमा सोचेजस्तो काम नभएर फर्किएका उनमा श्रीमती र छोराको जिम्मेवारी थियो। आफ्नो र परिवारको खुसी खोज्न फेरि परदेश जाने सोच बनाए गणेशले तर उनलाई फेरि साउदी जानु थिएन। कुन देश जाने भनेर गणेश सोचिरहेका थिए।
‘युएईमा काम र कमाइ पनि राम्रो छ,’ उनका ठूलोबुबा अमरबहादुर बगालेले सुनाए। अमरबहादुर बगालेले भनेअनुसार नै मिठो सपना बोकेर गणेश युएई पुगे।
त्यहाँ आर्टा कम्पनीमा उनको काम थियो। कमाइ ठिकै थियो तर भनेजस्तो सेवासुविधा केही पनि थिएन।
करार अवधिसम्म बसेर गणेश फर्किए।
साउदी र युएईको यात्राले गणेशलाई गलायो। ‘विदेशमा पैसा फल्ने रुख हुने रैनछ, विदेशमा जस्तै खटेर नेपालमा काम गरे कसो नहोला?’ गणेशलाई विदेशका दुःखले आँट दियो।
गणेशको ५ वर्ष परदेशमै बितिसकेको थियो। त्यसपछि गणेशले सैनामैनास्थित आफ्नै घर नजिकै बङ्गुरपालन गर्ने सोच बनाए।
डेढलाख खर्च गरेर बङ्गुर फार्म खोले। फार्ममा ३ वटा बङ्गुरका पाठा राखे।
‘पैसा थिएन, विदेशमा कमाएको पैसा ऋण तिर्दै ठिक्क भएको थियो, वरपर साथीहरुसँग म बङ्गुर पालन गर्छु भनेर ऋण माग्दा पनि पाइनँ,’ यस्तै कुराले गणेशलाई दुःख लाग्छ, ‘पहिले साउदी र युएई जाँदा रमाइ–रमाइ ऋण पत्याउने साथीहरुले आफ्नै देशमा बङ्गुर पालन गर्छु भन्दा पत्याएनन्।’
धेरै वटा बंगुरका पाठा पालेर ठूलै बंगुर फार्म चलाउने गणेशको सोचले पूर्णता पाउन नसकेपछि मन खिन्न भइसकेको थियो।
यसै क्रममा गणेशलाई अमरबहादुर बगालेको फोन आउँछ, ‘लिबियामा डेरिमिल्क कम्पनीमा ड्राइभिङ कामका लागि राम्रो डिमान्ड आएको छ तिमी जान्छौ?’
लिबियाको डेरिमिल्क कम्पनीमा उनलाई खान, बस्न र ओभरटाइम सुविधासमेत भएको बगालेले सुनाए। सो कामका लागि लागत थियो ५ लाख।
बंगुर फार्म विस्तारका लागि कसैले पैसा नपत्याएपछि दिक्क महसुस गरिरहेका गणेशको मन बगालेको एक कल फोनले परिवर्तन गरिदियो।
फार्ममा ३ ओटा बंगुर मात्रै राखेर के गर्नु? मासिक १ हजार डलर हुन्छ भने त म लिबिया नै जान्छु।
बंगुर फार्म सञ्चालनका लागि नपत्याउने साथीहरुले लिबिया जान लागेको भनेर ऋण माग्दा सजिलै पत्याए।
‘देशमै केही गर्छु भन्दा आँखा चिम्लिने समाजले, विदेश जान्छुभन्दा चाहिँ जति पैसा पनि ऋण दिन तयार भयो,’ दुःखी हुँदै गणेश भन्छन्।
ऋण लिएर गणेश लिबिया जान तयार भए।
काठमाडौं आएर बगालेलाई रकम बुझाए उनले। रकम लिइसकेपछि नेपालबाट लिबियाका लागि श्रम स्वीकृति नहुने भन्दै भारतको बाटो हुँदै जानुपर्ने भनेर बगालेले उनलाई सुनाए। भारतको बाटो अवैधानिक हो भन्ने थाहा पाएका गणेशले भारतको बाटो हुँदै लिबिया जान मानेनन्।
भारत हुँदै जान नमानेपछि गणेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएई हुँदै जानुपर्ने सुनाए। नेपालकै विमानस्थल प्रयोग गर्न पाउँदा ढुक्क भए गणेश।
गत २१ अगस्टमा उनी दुबई पुगे। युएई पुगेपछि उनलाई शेखरनाथ प्रसाईंले रिसिभ गरे। उनलाई युएईको एउटा होटलमा पु¥याइयो। लिबिया लगायत अन्य विभिन्न मुलुक हिँडेका २६ जनाभन्दा बढी उनीजस्तै युवाहरु त्यो होटलमा शेखरनाथले राखेका थिए।
‘एक महिना युएईको चिसो भुईंमा रात कटाइयो, बस्दा बस्दै ४५ जना जति हामीजस्तै केटाहरु जम्मा भइसकेका थिए, तिनीहरु कताकता पुर्याइए त्यो मलाई थाहा भएन,’ गणेशले भने।
युएईमा साथीहरुलाई आफू लिबिया हिँडेको सुनाउँदा पो गणेशलाई लिबिया युद्धग्रस्त मुलुक भन्ने थाहा भयो।
त्यसपछि उनले लिबिया नजाने भन्दै युएईबाट नेपाल फर्काउन आग्रह गरे। तर त्यहीँबाट फर्किए उनको ५ लाख गुम्ने भयो।
सो ५ लाख युएई पुगेर गुमाएर फर्कन गणेशको मनले मानेन। दुःखसुख काम गर्छु भनेर गणेश लिबिया जान तयार भए।
ठ्याक्कै एक महिनापछि २१ सेप्टेम्बर २०१८ मा गणेशलाई युएईबाट द्वन्द्वग्रस्त लिबियाको राजधानी त्रिपोली पुर्याइयो।
उनलाई सुनाइएको थियो, लिबियाको डेरी मिल्क कम्पनीमा ड्राइभिङ काम, तलब मासिक एक हजार डलर।
वास्तविकता भने निकै फरक भइदियो, लिबियाको राइस मिलमा उनलाई लेबरको काम लगाइयो।
काम दैनिक १२ घन्टा, तलब मासिक २ सय ५० डलर। त्यो पनि ज्यानै धरापमा राखेर काम गर्नुपर्ने।
‘बम र बन्दुकको चपेटामा परियो, ज्यानकै माया मारिसकेको थिएँ,’ भावुक हुँदै गणेशले थपे।
२०१८ सेप्टेम्बरमा लिबियाको त्रिपोली पुगेका गणेशको जीवन बन्दी जस्तै भयो। काम गर्ने राइस मिल र कोठा त्यति मात्रै देखे उनले।
‘रातभर ड्याङ् ड्याङ् बम र बन्दुकको आवाजले निद्रा पनि लाग्दैनथ्यो, बाहिर बजार कस्तो हुन्छ ७ महिना बसेर पनि नदेखी आइयो,’ यतिभन्दै गर्दा लिबियाको युद्धले झसङ्ग झस्कायो फेरि एक पटक उनलाई।
‘खाने कुराहरु पनि निकै महँगो थियो, पैसा दिएपछि त्यहाँकै बासिन्दाले बजारबाट किनेर ल्याइदिन्थे, महँगी हुँदा चामलमा पानी, नुन सबै राख्ने, गिलो बनाएर पकाएर खाने पनि गरियो,’ मोबाइलमा कैद गरेको आफूहरुले खाएको खानेकुराको फोटो देखाउँदै गणेशले भने।
‘कति दिन भोकै पनि सुतियो। एकातिर सयकडा ३ को ऋणले पोल्यो अर्कोतिर लिबियाको गर्मीले,’ उनी भन्छन्।
गर्मीले रातहरु कटाउन मुस्किल हुँदा सिरकको खोल पानीले भिजाउँथे र ओडेर मुस्किलले निदाउँथे गणेश।
डरैडरमा ७ महिना बित्यो। बाँचेर देश फर्किन पाइएला भन्ने आश मरिसकेको थियो।
उनले मनले चाहिँ भनिरहेको थियो– एक पटक बाँचेर देश फर्किन पाएँ भने म विदेश त कहिले सोच्दा पनि सोच्दिनँ।
आफन्त र परिवारको जब माया लाग्न थाल्छ, गणेशले बाँच्न सक्ने आधारहरु खोज्न थाल्छन्।
आफन्त, साथीभाइलाई पनि फोन गरेर सुनाउँछन्, ‘म मृत्युको नजिक छु, कुन दिन ज्यान गुमाउनुपर्ने हो टुंगो छैन।’ बम र बारुदका छर्राहरु आँखै अगाडि उडिरहन्थे।
त्यही बेला नेपाल लाइभले फोनमार्फत सम्पर्क गर्दा पृष्ठभूमिमा बन्दुकका ड्याङड्याङ आवाज सुनिइरहेको थियो।
‘म्याम सुन्नुभयो ?, अहिले पनि बम र बन्दुक पड्किएको आवाज नजिकै आइरहेको छ, हामीलाई जसरी हुन्छ बचाउनुप¥यो,’ युद्धभुमि लिबियाबाट गणेशको अनुरोध थियो।
लिबियामा गणेशसहित १५ जना अन्य युवाहरु पनि थिए। इजिप्टको कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा उनीहरु आएपछि अन्तर्राष्ट्रिय आप्रवासी संगठन ( आइएमओ) को सम्पर्कमा समेत आए।
दूतावासले उनीहरुलाई त्रिपोलीबाट उद्धारका लागि पहल गर्ने भयो। केही दिनपछि उनीहरुको ट्राभल डुकमेन्ट पनि बनिसकेको थियो।
ट्राभल डकुमेन्ट बनिसकेपछि पनि गणेश लगायत साथीहरु सजिलै नेपाल आउन सक्ने वातावरण थिएन।
‘७ महिनासम्म काम गरेको पूरै पारिश्रमिक मालिकले दिएको थिएन, देश फर्किने भनेर मालिकसँग कुरा ग¥यो भने त झन् बन्धक बनाएर राख्थ्यो, हामी त्यहाँबाट कसरी उम्कने भनेर सोचिरहेका थियौँ।’
उनीहरु त्यहाँबाट भागेर आउन पनि डराइरहेका थिए। हिँड्दाहिँड्दै आतङ्ककारीहरुले समातेर मार्ने हुन् कि भन्ने ठूलो डर थियो।
‘हामी डराइरहेका थियौैँ, इजिप्टस्थित नेपाली दूतावासका कन्सुलर सुजन विडारी र लिबियास्थित नेपाली शान्ति सेनाको टोलीले हामीलाई त्यहाँबाट निस्किनका लागि हिम्मत दियो,’ उनले भने।
शान्ति सेनाको टोली र इजिप्टको कायरोस्थित नेपाली दूतावासका कन्सुलर सुजन विडारीको सल्लाहले उनीहरुको हिम्मत जुट्यो।
‘गोरखालीका छोरा भएर पनि तिमीहरु कायर बन्छौ, हिम्मत गर, त्यहाँबाट निस्क,’ शान्ति सेनाका क्याप्टेनले यसरी हिम्मत थपिदिएका थिए।
‘मरे मरिन्छ, बाँचे घर पुगौँला, यही सोचेर हामी त्यहाँबाट आइएमओको सेल्टर पुग्न भाग्यौँ,’ त्यो दिन सम्झँदा गणेश अझै झस्कन्छन्।
उनीहरु बिहानै आफू बसेको ठाउँबाट आफ्ना लुगाफाटो बोकेर निस्किन्छन्, ट्याक्सी रिर्जभ गर्छन् र त्यहाँबाट आइएमओको सेल्टरतिर लाग्छन्।
ट्याक्सी गुडिरहँदा पनि उनीहरुको मुटु धड्किरहेको थियो। बाटोमा जाँदाजाँदै विद्रोही समूहले आक्रमण नगर्ला भनेर ढुक्क रहने अवस्था समेत थिएन।
लगभग डेढ घन्टा ट्याक्सीमा यात्रा गरेपछि उनीहरु आइएमओको सेल्टर सकुशल पुुगे।
‘आइएमओको सेल्टर पुगेपछि त अब बाँचियो जस्तै लाग्यो, बल्ल ढुक्कको श्वास फेरियो,’ गणेश भन्छन्।
उनीहरु लगभग एकहप्ता जति आइएमओको सेल्टरमा बसे। त्यसपछि २०७६ जेठ ८ गते साथीहरुसँगै गणेश नेपाल फर्किए।
मृत्युको मुखबाट बाँचेर फर्किएका गणेशले अब भने देशमा नै केही गर्ने सोच बनाएका छन्।
‘अब बङ्गुर फार्मलाई नै निरन्तरता दिन्छु, म विदेश त जाँदै जान्नँ,’ उनी भन्दै थिए। अहिले गणेशले गाउँमै बंगुर फार्म सुरु गरिसकेका छन्।
लिबियाबाट फर्कने क्रमा देशमा बंगुर पालनका लागि उनलाई अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइएमओले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। त्यसपछि पनि गणेशलाई गाउँमै बंगुर पालन गर्न उत्साह थपियो।
‘बंगुरको खोर बनिसकेको छ, खोर बनाउन आइएमओले थोरै सहयोग पनि गर्यो, अब बंगुर राख्न पैसा जुटाउन बाँकी छ,’ उनले भने।
आफूले परदेशमा धेरै पटक हन्डर-ठक्कर खाएको कथा उनी साथीभाइलाई सुनाइरहन्छन्। उनलाई लाग्छ, ‘मेरो अनुभवबाट म जस्तै अरु युवासाथीहरुले दुःख भोग्नु नपरोस्।’
वैदेशिक रोजगारीमा जान खोजिरहेका युवाहरुलाई उनको अनुरोध छ, ‘सकेसम्म देशमै काम गरौं। विदेश जानैपर्ने बाध्यता हुँदा बुझेर मात्रै जाऔं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।