काठमाडौं- एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट जाँदा पूरा गरेको हो। जितसँगै बंगलादेश सेमिफाइनलमा पुगेको छ।
बंगलादेशका नइम शेखले ५६ बलमा ४५ रन, सौम्य सरकारले १७ बलमा ११ रन, नजमुल शान्टोले ५६ बलमा ५९ रन साथै यासिर अलि चौधरीले १५ बलमा १८ रन बनाए। नेपालका करण केसी र सुसन भारीले एक–एक विकेट लिए।
बंगलादेशविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालको खराब ब्याटिङको निरन्तरता देखिएको थियो। ४४.३ ओभरमा १ सय ३८ रन बनाउँदा नेपालले सबै विकेट गुमाएको थियो।
नवौँ विकेटका लागि सोमपाल कामी र करण केसीले गरेको ५० रनको सर्वाधिक साझेदारीबाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। ओपनिङमा आएका कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल चल्न नसक्दा मध्यक्रम पनि धरमरायो। ३३ रनमा बिना विकेट खेलिरहेको नेपालको ३५ रन पुग्दा ३ विकेट गइसकेको थियो।
ओपनिङमा आएका कुशल भुर्तेलले २२ बलमा १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २७ बल खेलेर २२ रन बनाए। यसअघि भारत र हङकङसँग रन बनाउनै नसकेका ज्ञानेन्द्रले बंगलादेशविरुद्ध पनि समालिन सकेनन्।
यस्तै तेस्रो क्रममा ब्याटिङमा आएका शरद भेषावकर ६ बल खेलेर १ रनमै आउट भए। दिपेन्द्र सिंह ऐरीले १२ बलमा ६ रन बनाउँदा आरिफ शेख ३९ बल खेलेर ११ रनमा आउट भए।
यसअघि लयमा देखिएका पवन सर्राफ पनि बंगलादेशविरुद्ध चल्न सकेनन्। उनले ३९ बलमा ११ रन मात्रै बनाए। दुई खेलपछि अवसर पाएका सन्दीप जोरा शून्यमै आउट भए। बिनोद भण्डारीले २३ बलमा ८ रन बनाए।
सोमपाल कामीसँग ५० रनको साझेदारी गरेका करण केसी १८ रनमा आउट भए। उनले एक चौका र एक छक्का लगाए। सोमपाल कामीले ६३ बलमा ४ चौकासहित ३८ रन बनाए। कुशल भुर्तेल एक रनमा अविजित रहे।
बलिङमा बंगलादेशका मिनाजुल एबेदिनले तीन विकेट लिए। मेहदी हसन, तानबिर इस्लाम र सुमोन खानले दुई–दुई विकेट लिए। सुमोन खानले एक विकेट लिए।
समूह ‘बी’ मा पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई हराएको थियो। बंगलादेश तीनै खेल जित्दै सेमिफाइनलमा पुगेको हो। भारत र हङकङबीच खेल चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।