काठमाडौं– अभिनेता सौगात मल्ल र सृष्टी श्रेष्ठ अहिले गहिरो प्रेममा छन्। अचेल‘रियल लाइफ’मा मात्रै होइन, ‘रिल लाइफ’मा पनि उनीहरुको प्रेम झल्किन थालेको छ।
दुवैले एकसाथ अभिनय गरेको फिल्म ‘पोइ प-यो काले’ रिलिज भएर पनि व्यापारिक रुपमा असफल भइसक्यो। दुवैले जोडी बाँधेको अर्को फिल्म ‘माछा माछा’ मंसिर २० गतेदेखि रिलिज हुने तयारीमा छ। आज (सोमबार) यही फिल्मको ‘म्याडम म्याडम’ बोलको गीत रिलिज भएको छ। जहाँ सौगात र सृष्टी देखिएका छन्। गीतमा सौगातले सृष्टीलाई ‘म्याडम’ सम्बोधन गर्दै नाचेका छन्।
गीतमा स्वर र संगीत अनुपम शर्माको रहेको छ। सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको यो फिल्ममा विजय बराल र अनोजको पाण्डे पनि मुख्य भूमिकामा छन् । तीन जना गाउँका युवाहरुले शहरिया जीवन बाँच्नलाई गर्ने संघर्ष फिल्ममा रहेका बताइएको छ।
राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा सौगात र सृष्टी दुवै उपस्थित थिए। फिल्मवृत्तमा सौगातलाई एउटा आरोप लाग्ने गरेको छ। त्यो के भने पछिल्लो समय उनलाई अफर आउने हरेक फिल्ममा उनले सृष्टीलाई पनि राख्न दबाब दिन्छन्। प्रेसमीटमा पत्रकारले यो विषयमा जिज्ञासा राख्दा उनले ठाडै अस्वीकार गरे।
तर, मुस्कुराउँदै एउटा कुरा भने स्वीकार गरे, ‘मलाई सृष्टीसँग काम गर्दा खुब रमाइलो लाग्छ।’ हुन त आफ्नो मान्छेसँग सँगै काम गर्न पाउँदा कसलाई रमाइलो नलाग्ला र? एकातिर फिल्मको काम पनि हुने, अर्कोतिर सँगै समय बिताउन पनि पाइने!
गीत हेर्नुस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।