काठमाडौं- नेपालले विश्वकप फुटबलको दोस्रो चरणमा कुवेतविरुद्धको दोस्रो लेगमा प्रतिस्पर्धा गर्दैछ। कुवतेसँगको खेलका लागि भुटान जानुअघि ठूलो संकट देखिएको नेपाली टिमले कस्तो नतिजा ल्याउला?
भुटानको राजधानी थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा नेपालले मंगलबार दिउँसो २ः४५ मा कुवेतसँग दोस्रो लेग खेल्न लागेको हो। कुवेतविरुद्ध नेपाल ७–० को हार बिर्साउने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ।
आज भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपालका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध आत्मविश्वासी भएर खेल्ने बताएका छन्। उनले भने, ‘यो हाम्रा लागि महत्वपूर्ण खेल हो। हामी कुवेतविद्ध खेल्न तयार छौं। जितको लागि कडा मेहेनत गर्ने छौं।’
कुवेतका मुख्य प्रशिक्षक थमर इनाडले राम्रो प्रतिस्पर्धा गर्दै तीन अंक ल्याउने लक्ष्य भएको बताएका छन्।
नेपाललाई १२ औं खेलाडीको अभाव!
खेल तालिका अनुसार नेपालले आफ्नो घरेलु मैदान दशरथ रंगशालामा मंसिर ३ गते कुवेतसँग विश्वकप छनोटको दोस्रो चरणमा आफ्नो पहिलो खेल खेल्ने तय थियो। तर, निर्माणाधिन अवस्थामा रहेको दशरथ रंगशाला पूर्णरुपले तयार नहुँदा ‘न्युट्रल भेन्यु’को रुपमा खेल भुटानमा सारियो।
एसियन फुटबल फेडेरेशनले अन्तर्राष्ट्रिय मापदन्ड नपुगेको भन्दै कुवेत र नेपालबीचको खेल दशरथ रंगशालमा नखेलाउन आदेश दिएपछि नेपालले १२औं खेलाडीको रुपमा रंगशाला र उल्लेख्य दर्शकको उपस्थिति गुमायो।
त्यसो त, अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्युट्रल भेन्युको रुपमा भुटानको चाग्लिमिथाङ रंगशालामा खेलाउने प्रस्ताव राख्दा कुवेतले सुरुमा यो मैदानमा खेल्न अस्वीकार गरे पनि एएफसीले स्वीकृति दिएपछि खेल हुन लागेको हो। भुटानको मौसम र नेपालको मौसम उस्ता उस्तै भए पनि दर्शक र घरेलु मैदान भने गुमाएको छ।
सन् २०११ मा विश्वकप छनोटमै भएको खेलमा नेपालले जोर्डनसँग उसैको भूमिमा ९–० गोलले हार ब्यहोरेको थियो। तर, जोर्डनसँग नै भएको होम खेलमा भने नेपालले १–१ गोलको बराबरी खेलेको थियो।
नेपाल कुवेतविरुद्ध पनि यस्तै नतिजा निकाल्ने लक्ष्यमा थियो। आफ्नो अवे खेलमा घरेलु टोली कुवेतलाई ७–० गोलले नतिजा सुम्पिएको नेपाल दशरथ रंगशालामा भने जित हात पार्ने लक्ष्यमा थियो।
अन्तिम समयमा आएर मैदान नै परिवर्तन भएपछि नेपालका लागि १२औं खेलाडीको रुपमा समर्थक र मैदानको अभाव खड्किने भएको हो।
आफ्नै मैदान नभए पनि कप्तान किरण चेम्जोङ भने कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अंक खोस्ने बताउँछन्, ‘कुवेतविरुद्ध कडा प्रतिस्पर्धा गर्न हामी तयार छौं’, प्रिम्याच कन्फ्रेन्समा कप्तान किरणले भने।
डिस्कोको असर कति?
कुवेतविरुद्धको खेल खेल्न नेपाली टिम शनिबार दिउँसो भुटान प्रस्थान गर्ने कार्यतालिका थियो। ठीक एक दिन अघि शुक्रबार राति नेपाली टिमका मुख्य फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी नाइट क्लबमा रक्सी खाँदै हिँडेको थाहा पाएपछि एन्फाले टिमबाट हटायो।
योसँगै टिम निकै संकटमा पर्न पुग्यो। उनीहरुको स्थानमा मिडफिल्डर सुवास गुरुङलाई मात्रै लिएर टिम भुटान उड्यो। २३ खेलाडी हुनुपर्ने टोलीमा २० खेलाडी मात्रै हुने भए।
नेपालले खेल्ने ४–५–१ को फर्मसन हो। यहि फर्मेसनमा नेपालले विश्वकपका सबै चार अवे खेल खेल्यो। जसमा विमललाई कुवेत, चाइनिज ताइपेइ र जोर्डनविरुद्धको खेलमा फरवार्डको जिम्मा दिइएको थियो। अस्ट्रेलियाविरुद्धको खेलमा भने विमल दोस्रो हाफमा खेलको ६६ औं मिनेटमा अभिषेक रिजालको स्थानमा मैदानमा छिरेका थिए।
विश्वकप छनोटको दोस्रो चरणमा चाइनिज ताइपेइलाई २–० गोलले पराजित गर्दा दुबै गोल अञ्जन विष्टले गरेका थिए। उमेर समूहदेखि नै निकै राम्रो प्रदर्शन गर्दै खेलमा राम्रो छाप छाडेका अञ्जन चाइनिज ताइपेइविरुद्ध गोल गरेपछि एकाएक छाएका थिए। तर शनिबारपछि भने उनी नेपाली फुटबलमा खलपात्रको रुपमा देखिएका छन्। सन्तोष र दिनेश पनि नेपालका भरपर्दा सदस्य हुन्।
यी चार जना खेलाडीको अभाव नेपाली फुटबलले कुवेतविरुद्ध खेल्दा पक्कै महसुस गर्नेछ। तर, अनुशासनहिन खेलाडीलाई कारबाही गरेर एन्फाले निकै राम्रो कदम चालेको प्रतिक्रियाहरु आइरहेका छन्।
अब विमलको स्थान अभिषेक रिजाल, नवयुग श्रेष्ठ र भरत खवासमध्ये एकले लिने छन्। मिडफिल्डरमा भने सुनिल बल, विक्रम लामा, रवि पासवान, मिक्चेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ र सुवास गुरुङ छन्।
डिफेन्डरमा भने अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, सरोज दाहाल, अजित भण्डारी र रञ्जित धिमाल रहँदा गोलकिपरमा कप्तान किरण चेम्जोङसँगै विकेश कुथु र विशाल श्रेष्ठ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।