काठमाडाैं- सर्वोच्च अदालतले बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई अभियुक्तलाई जनही साढे ११ वर्ष कैद हुने फैसला सुनाएको छ। सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई दोषी ठहर गरेको थियो।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको इजलाशले आज उनीहरुलाई सजाय निर्धारण गरेको हो।
बोहोरालाई १० लाख क्षतिपूर्ति दिन पनि सर्वोच्च अदालतले आदेश दिएको छ। पीडकबाट ५ र सरकारबाट ५ लाख क्षतिपूर्ति दिन अदालतले भनेको छ।
सर्वोच्चले कार्तिक ७ गते अभियुक्तहरु सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको थियाे। साेमबार सर्वाेच्चले उनीहरुलाई सजाय निर्धारणकाे फैसला सुनाएकाे हाे।
नयाँ फौजदारी कार्यविधिअनुसार दोषी ठहर र सजाय निर्धारण एकैपटक गर्न नहुने प्रावधानअनुसार सुरुमा भट्ट र अवस्थीलाई दोषी ठहर गरेको थियाे र आज सजाय निर्धारण गरेकाे हो।
मुद्दामाथि असोज १० गते सुनुवाइ भए पनि हेर्दाहेर्दैको अवस्थामा रहेको थियो।
यस्तो थियो घटना
१४ वर्षीय किशोरी बोहोरालाई २०६८ चैत ७ गते एसएलसीको गणित विषयको गेसपेपर किन्न जाँदा भट्ट र अवस्थीले नसालु इन्जेक्सन लगाइ सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। उनलाई जबरजस्ती करणीपछि नालीमा फालिएको अवस्थामा उद्धार गरी अस्पताल पुयाइएको थियो।
मुद्दाको सुनुवाइ गर्दै २०६९ फागुन २२ गते बैतडी जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गर्दै जनही १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर, पुनरावेदन अदालत महेन्द्रनगरले २०७१ बैसाख १५ गते जिल्लाको फैसला उल्ट्याउँदै दुवै अभियुक्तलाई सफाइ दिएको थियो। न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासलाई त्रुटिपूर्ण देखाउँदै जिल्लाको फैसला बदर गरेर सफाइ दिएका थिए।
यी मध्येका शाही हालै मात्र न्यायपरिषद्बाट कारबाहीस्वरुप बर्खास्तगीमा परेका छन्। पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिलले २०७१ पुस २ गते सर्वाेच्चमा पुनरावेदन दर्ता गरेको थियो। सर्वोच्चमा मुद्दा दर्ता भएको ६ वर्षको अवधिमा २२औंपटकको पेशीमा बिहीबार फैसला भएको हो। पीडित बोहोराको प्रहरी र अदालतमा फरक-फरक बयान दिएकी थिइन्। त्यसलाई आधार बनाएर पुनरावेदनले अभियुक्तालाई सफाइ दिए पनि सर्वोच्चले जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको हो।
बोहोराका तर्फबाट २०६८ चैत १० गते प्रहरीमा परेको सुरुको जाहेरी दरखास्तमा दिउँसो १२ बजे गेसपेपर किन्ने क्रममा फोटो स्टुडियोमा विभिन्न किसिमका औषधि इन्जेक्सनको प्रयोग गरी अचेत बनाइ सामूहिक बलात्कार गरेको उल्लेख छ। त्यसैका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोजन गरेको थियो। तर, उनले जिल्ला अदालतमा फोटो स्टुडियोको खाटमा नभई आफू बस्दै आएको घरको कोठामा आएर खुट्टा र पाखुरामा सुई लगाएर जबरजस्ती गरेको बयान दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।