काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको उद्घाटन हुने दशरथ रंगशाला निर्माणमा समस्या थपिएको छ। चीनबाट ५० लाख रुपैयाँमा विमान चार्टर गरेर ल्याइएको छाना ‘डिजाइन’भन्दा ठूलो परेको हो।
साग आउन १३ दिन बाँकी हुँदासम्म छाना हाल्ने काम सुरु हुन नसक्नुमा नेपाली र चाइनिज ठेकेदारबीच तालमेल नमिल्नु कारण रहेको छ।
स्रोतका अनुसार कात्तिक २९ गते राति नै छाना नेपाल आइपुगेको हो। तर पनि ‘डिजाइन’ अनुसार नमिल्ने छाना आएकाले काम हुन सकेको छैन।
‘नेपाली ठेकेदारले भिआइपी छानाको डिजाइन बनाउन नसकेपछि भारतीय इन्जिनियर ल्याएर डिजाइन गरिएको थियो। भारतीय डिजाइनरले बनाएको छानाको माप नेपाली ठेकेदारले चाइनिज कम्पनीलाई पठाएको थियो। तर तालमेल नमिल्दा यत्रो खर्च बित्थामा बढ्ने भो’ स्रोतले नेपाल लाइभसँग भन्यो।
छाना हाल्न ढिलो भएकाले चीनबाट नेपालसम्म छाना ल्याउन विमान ५० लाख रुपैयाँमा चार्टर गरिएको थियो। छानाको अरु खर्च भने खुलेको छैन।
ठूलो छानालाई काटेर मिलाउन पनि नमिल्ने भएकाले अब प्याराफिटमा राखिएका फलामको स्वरुप परिवर्तन गर्ने तयारी थालिएको छ। ‘अब छानालाई काट्ने कुरा पनि भएन। छाना अनुसारको फलामलाई काट्ने काम भइरहेको छ। अब फलामलाई नै वर्डलिंक गराएर भए पनि ठूलो बनाएर छाना हाल्नु पर्ने भयो,’ स्रोतले बतायो।
नेपाली ठेकेदार कम्पनी एचपिसी र चाइनिज कम्पनी सिएनइबीच भाषाको समस्या हुँदा यस्तो भएको बताइएको छ। ‘छाना ठूलो आएको र काम अड्किएको कुरा पनि चीनबाट इमेल आएपछि मात्रै थाहा भएको हो’ स्रोतले भन्यो।
साग सुरु हुन १३ दिन बाँकी भएको समयमा छाना हाल्न नै १० दिन लाग्ने भएको छ। रातदिन काम गर्दा पनि त्यसअघि काम भ्याउन मुस्किल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।