काठमाडौं– मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले उरुग्वेसँग २–२ गोलको बराबरी खेलेको छ। इज्रायलमा सोमबारराति भएको खेलमा अर्जेन्टिनालाई हारबाट जोगाउन कप्तान लियोनल मेस्सीले अन्तिम समयमा गोल गरे।
त्यस्तै, अर्जेन्टिनाका लागि एक गोल भने सर्जियो अगुएरोले गरे। यता, उरुग्वेका लागि भने इडिन्सन काभनी र लुइस स्वारेजले गोल गरे। खेलको ३४औं मिनेटमा नै काभनीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए।
पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको उरुग्वेले खेलको ६३औं मिनेटमा गोल खाएको थियो। अर्जेन्टिनाका लागि सर्जियोले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए।
खेलको ६८औं मिनेटमा स्वारेजले गोल गरेपछि फेरि उरुग्वेले खेल २–१ गोलको अग्रता लिएको थियो। निर्धारित ९० मिनेटसम्म उरुग्वे २–१ गोलले अघि थियो।
तर थप गरिएको अतिरिक्त समयमा उरुग्वेका मार्टिन क्यासरेसले डिबक्स एरियामा हेन्ड गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै कप्तान मेस्सीले खेलको अन्तिम समयमा गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।