काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल लगायतका देशमा चीनको प्रभावलाई भारतले जवाफ दिन आवश्यक नभएको बताएका छन्। जर्मनीको ‘डेर स्पिगल’ अखबारलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।
चीनले पाकिस्तान, नेपाल र श्रीलकांमा ठूला पूर्वाधार योजनाहरु अघि बढाएर देखाएकाे बढ्दो उपस्थितिलाई लिएर भातरले के गर्छ? भन्ने प्रश्नमा उनले त्यसलाई जवाफ दिन आवश्यक नभएको बताए।
‘हामीलाई चीनको प्रभावलाई जवाफ दिनुछैन,’ उनले भनेका छन्, ‘हामी अहिलेको जस्तै नेपाल, बंगलादेश वा श्रीलंकामा लगानी गरिरहने नै छौं।’ विगतमा दक्षिण एसियामा क्षेत्रिय भावना कम हुनुमा ठूलो मुलुक भएकाले भारतको बढी कमजोरी रहेको भन्दै उनले ति गल्ती सुधार गर्न भारतले प्रयास गरिरहेको उल्लेख गरे।
‘चीनले भारतको सीमा नजिक नयाँ हिमालयपार रेलमार्ग बनाउने योजना बनाइरहेको छ, यसले तपाईंलाई चिन्तित बनाउँदैन?’ भन्ने प्रश्नमा उनले अहिले नै नेपाल र भारतबीच दुई ठाउँमा रेलसम्पर्क भएको र त्यो केही वर्षमै पाँच ठाउँमा पुग्ने बताए।
‘त्यहाँ अहिले नै नेपाल र भारतबीच दुई ठाउँमा रेलसम्पर्क छ अबको केही वर्षमै त्यो संख्या पाँच पुग्दैछ,’ अन्तर्वार्तामा उनले भनेका छन्, ‘नेपालको भारतर्फको सीमा खुला छ, चीनतर्फ त्यस्तो छैन। थुप्रै नेपाली भारतमा कामका लागि आउँछन्। यस्ता कुराको कसरी तुलना हुन्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।